भ्रमणको फाइदा उठाउँदै महासंघ, मंसिर १४ गते नेपाल–दुवई व्यवसायिक सम्मेलन

काठमाडौं । नेपाल–दुबई व्यवसायिक सम्मेलन मंसिर १४ गते हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको संयुक्त आयोजनामा अरव इमिरेट्स(यूएई)को दुवईमा व्यवसायिक सम्मेलन हुने भएको हो । व्यवसायिक सम्मेलनमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने छन् । व्यवसायिक सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो । सम्मेलनमा दुवै देशका करिव १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ । सोसम्मेलनमा दुवै देशबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ । व्यवसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरुमा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यक्त गरे । सम्मेलनबाट उर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ । महासंघले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यवसायिक सम्मेलनको आयोजना गरिसकेको छ । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधाविमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम समेत रहेको छ ।

साना उद्योगलाई प्राथमिकता प्राप्त क्षेत्रको रुपमा घोषणा गर्न माग

काठमाडौं । लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बागमती प्रदेश सरकारको औद्योगिक व्यवसाय ऐनलाई समयसापेक्ष परिमार्जनका लागि सुझाव दिन मंगलबार आयोजना गरेको नीतिगत संवादका वक्ताले आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु घरेलु तथा साना उद्योगलाई पनि कृषि क्षेत्रजस्तै प्राथमिकता प्राप्त क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने बताएका हुन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले लघु घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन र विकास गरेर ठूला उद्योगमा रुपान्तरण गर्नुपर्ने बताए । उद्योगधन्दा नभई रोजगारी विस्तार नहुने भन्दै उनले उद्योग सम्बन्धी ऐन बनाउँदा सरलीकरण गर्नुपर्ने बताए । पछिल्लो समय उत्पादनमा भन्दा आयातमा केन्द्रित हुँदा साना उद्योग फष्टाउन नसकेको मन्त्री लामाले बताए । साना उद्योगलाई सरकारले सुरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउन मन्त्रालय सकारात्मक रहेको उनको भनाइ छ । बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले सङ्घीयता लागू भएपछि सङ्घीयता कार्यान्वयन गर्न बनाइएका ऐन पुराना ऐनभन्दा माथि हुनुपर्ने बताए । प्रादेशिक औद्योगिक नीति हालसम्म बन्न नसके पनि अब बन्ने प्रक्रिया प्रारम्भ भएको उनको भनाइ छ । महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले औद्योगिक व्यवसाय ऐनमार्फत लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न सकेमात्र समृद्ध अर्थतन्त्रको निर्माणमा सहयोग पुग्ने बताए । आर्थिक समृद्धि र विकासका लागि आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धिका लागि ठोस कार्ययोजना बनाई कार्यान्वयन गरिनुपर्ने मन्त्री चित्रकारले बताए । सार्वजनिक निकायमा सम्भव भएसम्म स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न नसकिएको भन्दै उहाँले व्यावसायिक रुपमा निजी क्षेत्रबाट सञ्चालन हुने भर्चुअल मार्केट प्लेसको विकासले साना उद्योग प्रवद्र्धमा सघाउने उनको भनाइ थियो । महासङ्घका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले उद्योग नवीकरण फेल हुँदा ३ सय प्रतिशत जरिवाना लिने परिपाटी अन्त्य हुनुपर्ने भन्दै सङ्घ, प्रदेश र पालिकाको ऐन नियम र कार्यविधि एक अर्काको पूरक बन्नुपर्ने बताए । देशमा विभिन्न खाले सङ्कट पैदा भएको र निजी क्षेत्र पनि यो सङ्कटबाट प्रभावित भएको भन्दै वर्तमानमा देखिएको कर्जा सङ्कट, सहज निकासको सङ्कट, प्रदेशको औचित्यमाथि प्रश्न उठिरहेकाले औचित्य सावित गर्न चुनौती बढेको उनले बताए ।

नेपाल-दुबई व्यावसायिक सम्मेलन मंसिर १४ गते हुने, सय बढी उद्यमी उपस्थित हुने

काठमाडौं । नेपाल-दुबई व्यावसायिक सम्मेलन यही मंसिर १४ गते अर्थात बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने भएको छ । उक्त व्यावसायिक सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोग एवं सहकार्यमा हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्वर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहने छन् । सम्मेलनमा दुबै देशका करिब १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ । उक्त सम्मेलनमा दुबै देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ । व्यावसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरूमा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे । सम्मेलनबाट उर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको छ । महासंघले प्रधानमन्त्रीको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरिसकेको छ । त्यस्तै, महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले मंसिर १५ र १६ गते अवुधाविमा आयोजना हुने जलवायुसम्बन्धी विश्व सम्मेलन कोप-२८ मा भाग लिने कार्यक्रमसमेत रहेको छ ।