जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । यूएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको आह्वान गरेका हुन् । उनले जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन निम्तो दिए । उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए । शेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेकोछ । शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरिएका थिए ।

घोराही सिमेन्टको आम्दानी बढ्यो, प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ बढी

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बिक्री आम्दानी सामान्यले बढाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत साउनदेखि पुससम्ममा १.४० प्रतिशतले बिक्री आम्दानी बढाएको हो । कम्पनीले गत पुससम्ममा १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ बराबरको यस्तो आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा भने ऋणात्मक छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५४ लाख रुपैयाँ नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक भएको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २२५.१८ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १८.३२ रुपैयाँ ऋणात्मक छ । कम्पनीको चुक्ता पुँजी ४३ प्रतिशतले बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । जगेडा कोषको आकार पनि ४२.३८ प्रतिशतले बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल उद्योग परिसंघ र चिनियाँ राजदूतबीच लगानी विस्तारका लागि छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्दै उनले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानूनहरुमा सुधार गर्न लागेको बताए । परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धि अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाइसकेको छ । अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न आग्रह गरे । साथै उनले चीन र भारतको बीचमा अवस्थित नेपालको उत्पादनमुलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन आग्रह गरे । सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) बीच व्यवसायिक छलफल अगाडि बढिरहेको जानकारी गराउँदै उनले काउन्सिलमार्फत नेपालमा चिनियाँ लगानी भित्र्याउन सहयोग हुने विश्वास व्यक्त गरे । छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको संमृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताए । उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरु पहिचान गरी ती क्षेत्रको उत्पादन बृद्धिमा केन्द्रित गर्नुपर्ने बताए । त्यसका लागि चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताए । पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोही अनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नती गर्नुपर्ने भन्नुहुँदै उहाँले उर्जा, जडिबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमुलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताए । दुई देशबीच व्यवसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरुको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । छलफलमा परिसंघका पुर्व अध्यक्ष हरीभक्त शर्मा, उपाध्यक्षद्धय निर्वाण चौधरी, हेमराज ढकाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारडा, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ आइटी काउन्सिल सभापति अजित विक्रम शाह, कृषि समिति सभापति विकास दुगड, महानिर्देशक दीपक राज जोशीलगायत सहभागि थिए ।