रिलायन्स स्पिनिङ्गको आईपीओमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । माघ १० गतेदेखि बुक बिल्डिङ्ग विधिमार्फत बिक्री खुला गरेको कम्पनीको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले आज माघ १४ गतेसम्म बोलकबोल पेश गर्न सक्ने छन् । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात् १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर बुक बिल्डिङ्ग मार्फत बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयरको न्यूनतम मूल्य ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकिएको छ । नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरू सहभागी गराई बिक्री मूल्यको सीमा भित्र रही बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । योग्य संस्थागत लगानीकर्ताहरुले नेप्सेको कार्यालयमा गई आज माघ १४ गतेसम्म गोप्य बोलपत्र पेश गर्न सक्ने छन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ ।

नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका नेपाली आप्रवासीहरुलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । कतारको दोहामा आयोजित ‘नेपाल विजनेश एशोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् । अध्यक्ष ढकालले भने, ‘नेपालमा पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रहरुमा लगानीको प्रचुर सम्भावना रहेको छ । त्यसैगरी, नवीकरणीय ऊर्जा, पर्यटन तथा आतिथ्य, पूर्वाधारको विकास, शहरीकरण, सूचना प्रविधिको क्षेत्रमा कतारले गरेका विकासको अनुभव नेपालमा प्रयोग गर्न सकिन्छ । नेपालमा लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस् ।’ अध्यक्ष ढकालले कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकहरुको योगदान रहेको बताउँदै ती श्रमिकहरुलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना गर्न कतारस्थित आवासीय नेपालीहरूलाई आग्रह पनि गरे । गैरआवासीय नेपालीका लागि पछिल्लो पटक नेपाल सरकारले गरेको नागरिकको प्रावधानले पनि विश्वमा छरिएर रहेका नेपालीलाई अब नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उनको तर्क थियो । अध्यक्ष ढकालले भने, ‘आफ्नो लगानीको भविष्य के होला भन्ने पनि यहाँहरुको मनमा थियो होला, तर अब नागरिकताको यो नयाँ कानुनी प्रावधानले नेपालमा लगानी गरी व्यवसाय गर्न सहज र सुरक्षित बनाएको छ भन्ने मलाई लागेको छ ।’ नेपालमा वैदेशिक लगानी भित्र्यान आउँदो वैशाखमा नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा नेपाल सरकारले लगानी सम्मेलन गर्न गइरहेकाले नेपालमा लगानीको राम्रो वातावरण सिर्जना गरी आफूले पनि लगानी गर्न र कतारका लगानीकर्ताहरुलाई पनि यसका लागि प्रेरित गर्न उनको आग्रह थियो । सरकारले धेरै कानुनी अड्चनहरु सुधार गरी लगानीमैत्रि वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुरुप काम पनि भइरहेको बताए । अध्यक्ष ढकालले केही वर्षभित्र नेपाल एलडीसीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने बताउँदै यसले नेपालको अर्थतन्त्रमा धेरै सम्भावनाहरु सिर्जना हुने र अर्थतन्त्रलाई विविधीकरण गर्न कतार एक प्रमुख साझेदार बन्न सक्ने बताए । अध्यक्ष ढकालले नेपालको भूराजनीतिक परिस्थिति, विश्वका दुई उदीयमान अर्थतन्त्र भारत र चीनसँगको व्यापारिक सम्भावनाको सदुपयोग गर्न कतारमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरे । भारतसँग हालै भएको उर्जासम्बन्धी उच्तस्तरीय सम्झौता सकारात्मक रहेको र यसबाट हाम्रो देशमा हाइड्रोपावरमा हुने लगानी र उर्जा व्यापारको मार्ग प्रसस्त भएको पनि उनले बताए ।

विनोद चौधरीको पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम बन्ने, लागत १७ करोड रुपैयाँ

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमूना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट व्यवस्थापन, परियोजना निर्माण ठेक्का लगायतका गृहकार्यपछि शुक्रबार उक्त औद्योगिक ग्रामको शिलान्यास भएको छ । चालू आर्थिक बर्षमा उक्त ग्रामका लागि बजेट विनियोजनसँगै स्थानीय तहमा तयारी समेत अगाडि बढेपछि नवलपरासीका लागि यो महत्वपूर्ण परियोजनाका रुपमा अगाडि बढेको छ । सांसद चौधरीले निर्वाचनको क्रममा नवलपरासीमा औद्योगिक विकासका लागि नमूना औद्योगिक ग्राम स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए । आफु निर्वाचित भएको एक बषमै उनले उक्त प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याएका छन् । नमुना औद्योगिक ग्राम नवलपरासी जिल्लाकै एकिकृत सुविधा उपलब्ध हुने नमूना औद्योगिक ग्रामका रुपमा स्थापना गर्न लागिएको छ । यस ग्राममा स्थानीय युवाका श्रृजनशिल उद्यमशिलता र स्थानीय कच्चा पदार्थमा आधारित सिपलाई उपयोग गर्ने लक्ष्य राखिएकाले यसलाई साना तथा मझौला उद्योग (एसएमई) भिलेजका रुपमा पनि चिनिनेछ । बर्दघाट नगरपालिका वडा नं ५, खजुरा खोला क्षेत्रमा करिब १८ विगाहा क्षेत्रफलमा यो ग्रामको निर्माण हुँदैछ । यस परियोजनाका लागि १७ करोड रूपैयाँ खर्च हुने अनुमान छ । यो परियोजना बहुबर्षिय परियोजनाका रुपमा आगामी तीन बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सांसद चौधरीको विशेष पहलमा चालु आर्थिक बर्षका लागि ४ करोड रूपैयाँ यस परियोजनाका लागि निकासा भई टेण्डर भईसकेको छ । रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभिले निर्माणको जिम्मा पाएको छ । यस बर्ष पूर्वाधारका कामहरू सम्पन्न गरिनेछन् । कार्य प्रगती राम्रो रहेमा यसै आर्थिक बर्षभित्र थप बजेट निकासा भई थप काम गर्न सक्ने अवस्था छ । यस परियोजनालाई प्रभावकारी रुपमा अगाडि बढाउन परियोजनालाई कुनै आर्थिक भार नपर्ने गरि चौधरी फाउण्डेसनका इन्जिनियरहरूले प्रत्यक्ष रुपमा सहयोग गर्नेछन् । तीन बर्षभित्र नमूना औद्योगिक ग्राम तयार गरि नवलपरासीलाई औद्योगिक विकासको मूल प्रवाहमा जोड्ने सांसद चौधरीको लक्ष्यअनुसार उनको सचिवालयका अधिकारीहरूले पनि परियोजनाको निरन्तर अनुगमन गर्नेछन् । उक्त परियोजनाको एक समारोहवीच शुक्रवार शिलान्यास गरिएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाल र सांसद चौधरीले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरेका हुन् । उक्त अवसरमा बोल्दै मन्त्री रिजालले पश्चिम नवलपरासीमा निर्माण हुने नमूना औद्योगिक ग्रामले यस क्षेत्रको औद्योगिकीकरण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र औद्योगिक विकासका लागि नीतिगत रुपमा सुधार गर्न आफुले पहल गर्ने पनि मन्त्री रिजालले बताए । शिलान्यास कार्यक्रममा बोल्दै सांसद चौधरीले आफुले निर्वाचनका बेला सार्वजनिक गरेका प्रतिवद्धताहरूलाई एक एक गरि पूरा गर्ने शिलशिलामा नमूना औद्योगिक ग्राम सोही प्रतिवद्धता कार्यान्वयनको अर्को महत्वपूर्ण चरण भएको बताए । ‘म आर्थिक विकासका काममा कसैले राजनीति नगरोस् भन्ने चाहान्छु । तर, यहाँ त्यहि भईरहेको छ । म एकपछि अर्को विकासका परियोजना कार्यान्वयनमा व्यस्त छु तर हाम्रा कतिपय मित्रहरू मैले गरेका कामहरूलाई विकास हैन राजनीति हो भनिरहेका छन् । मेरो आग्रह छ, सक्नुहुन्छ भने तपाईँहरु पनि यस्तै विकासको राजनीति गर्नुस् । आर्थिक विकासको अध्यायलाई अगाडि बढाउने काममा जोडिनुस् । चौराहाका चिया पसलमा गफ गरेर राजनीति गर्ने जमाना अब सकिए । एसएमई भिलेज उद्यमशिलताको नमूना बन्ने र नवलपरासीका युवाहरूलाई उद्यमी बनाउन यस परियोजनाको ठूलो महत्व रहनेछ भन्ने मेरो विश्वास छ, सांसद चौधरीले भने । ‘अब साना तथा मझौला उद्यमी र यस्तो उद्यमको सोंच राख्ने युवाहरुका लागि एकिकृत सुविधा उपलब्ध रहने औद्योगिक ग्रामले स्वागत गर्नेछ । यसले यहाँका युवाहरूका नयाँ सोंच, नवप्रवर्तनका कार्यक्रमहरूलाई अर्को तहमा पु¥याउनेछ भन्ने मेरो विश्वास छ’, सांसद चौधरीले भने, ‘हामीले युवाहरूका लागि युवा उद्यमशिलता तालिम अगाडि बढाईरहेका छौँ । र उनीहरुका लागि विउ पँुजीको व्यवस्था गर्न पनि आवस्यक पहल लिनेछौँ ।’ यस परियोजनालाइ सम्पन्न गर्न आफु र आफ्नो टिमले निरन्तर सहयोग र अनुगमन गर्ने पनि उनले जानकारी दिए । उद्योग ग्राम खोलेर मात्रै हुदैन जीवन्त बनाउनुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । विशेष औद्योगिक क्षेत्र (सेज) र अन्य ग्रामजस्तो यस ग्रामलाई उद्योगविहिन हुने अवस्था आउन दिइनेछैन । सांसद चौधरीले जोड दिए । प्रथम चरणको कार्य आगामी ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको रिलायन्स बिल्डर्स एण्ड सप्लायर्स जेभीमा कार्यरत प्राविधक रवीन्द्र शाहले जानकारी दिए । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले उक्त नमुना औद्योगिक ग्राम निमार्णको आवश्यक सहजीकरण गर्दै आएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले नगरपालिकामा नमूना औद्योगिक ग्राम बन्नु अत्यन्तै सुखद रहेको बताए ।