आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि ढकाल थिए । गण्डकीमा यही सभासँगै सातवटै प्रदेशको वार्षिक सभा सकिएको उनले बताए । महासंघको विधानमा बार्षिक सभा माघ मसान्तभित्र हुनुपर्ने उल्लेख भएकाले सो नियम पालना गर्न उनले प्रदेश सभालाई आग्रह गरे । ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारण सभा आयोजना गर्ने बताए । उनले महासंघको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए । महासंघका अध्यक्ष ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए । ढकालले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको बताए । ‘उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले बुझेका छैनन्’, उनले भने । राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थालेको अध्यक्ष ढकालले बताए । बजार अनुगमन बढेको गुनासो आइरहेको उनले बताए । उनले नियमविपरीत काम नगर्न व्यवसायीलाई आग्रह गर्दै निजी क्षेत्रलाई आतंकित नगर्न सरकारसँग आग्रह गरे । निजी क्षेत्रको आत्तिइरहने हो भने राजस्व सङ्कलन प्रभावित हुने र सरकार चलाउन गाह्रो हुने उनले बताए । ‘यस वर्षको वार्षिक साधारण सभामा हामीले सबै राजनीतिक दलका शीर्ष नेतृत्वलाई आमन्त्रण गरेका छौं र राम्रो व्यापारिक वातावरणका लागि हामी उहाँहरूको प्रतिबद्धता खोज्नेछौं’, उनले भने । अध्यक्ष ढकालले महासंघले चाँडै लगानी कम्पनी खोल्ने तर त्यो महासंघको स्वामित्वमा नहुने जानकारी दिए । हामी लगानी कम्पनी स्थापना र प्रवर्द्धन गर्न प्रारम्भिक पहल मात्र गर्नेछौं। मुलुकभरका व्यवसायीलाई एकै ठाउँमा ल्याउने पहल भएको र पछि व्यावसायिक रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । गैरआवासीय नेपाली तथा अन्य निजी क्षेत्रका संस्थाले पनि यसमा लगानी गर्न सक्ने उनले बताए ।

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

काठमाडौं । आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा कार्यशाला आयोजना गरियो । त्यस अवसरमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले जलविद्युत्, भौतिक पूर्वाधार, होटललगायत सेवा क्षेत्रका पूर्वाधार, औषधिजन्य उद्योग, सूचना तथा सञ्चार प्रविधिलगायत क्षेत्रमा बङ्गलादेशी लगानीकर्तालाई नेपालमा पुँजी परिचालन गर्न आह्वान गरेकाे ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । उनले ती क्षेत्रमा लगानी गर्दा प्रशस्त प्रतिफल प्राप्त हुने जानकारी दिँदै ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गरे। कार्यक्रमका प्रमुख अतिथि बङ्गलादेशका ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालसँग लगानीका माध्यमबाट दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बङ्गलादेश इच्छुक रहेको बताए । उनले ऊर्जा क्षेत्रमा नेपालसँग भएको सहकार्यबारे जानकारी दिँदै आफ्नो देशको बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्न आपसी साझेदारी अपरिहार्य रहेको बताए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसरबारे जानकारी दिनुभएको थियो भने बोर्डका सहसचिव बाबुराज अधिकारीले लगानी सम्मेलनका विविध पक्षलाई समेटेर तयार पारिएको सामग्री प्रस्तुत गर्दै नेपाल आकर्षक गन्तव्यका रुपमा विकसित भएको बताए । त्यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनले बङ्गलादेशी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन आह्वान गरेको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । गोष्ठीमा बङ्गलादेशका सांसद, उच्च पदस्थ सरकारी अधिकारी, विद्वत् संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका प्रभावशाली व्यक्ति तथा सञ्चारकर्मीसहित ८० जनाभन्दा बढीको उपस्थिति रहेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विवरण उपलब्ध गराउन क्रसर उद्योगको अटेरी

राँझा । बाँकेको राप्ती सोनारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगले विवरण उपलब्ध गराउन अटेरी गरेका छन् । गाउँपालिकाअन्तर्गतको राप्ती नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्ने उद्देश्यले क्रसर उद्योगले विवरण उपलब्ध गराउन भने पनि अटेरी गरिरहेका जनाइएको छ । नदी र विभिन्न खोलाबाट हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि विवरण सङ्कलन गर्ने उद्देश्यले पटक पटक ताकेता गर्दा पनि क्रसर उद्योगले विवरण उपलब्ध नगराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । ‘क्रसर उद्योगको क्षमतासहितको विवरण र नदीजन्य पदार्थको स्टक प्रमाणित गराउन पटक पटक पत्र काटिसकेका छौँ, अहिलेसम्म एउटा उद्योगले मात्र विवरण उपलब्ध गराएको छ,’ उनले भने, ‘अब क्रसर उद्योगको अनुगमन गरेर अवैध रुपमा नदीजन्य पदार्थ स्टक गरेको पाइएमा कारबाही गर्नेछौं ।’ राप्ती सोनारी गाउँपालिकामा छवटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । तीमध्ये महालक्ष्मी क्रसर उद्योगले मात्रै क्षमतासहितको विवरण उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनका लागि अनुमति मागेका क्रसर उद्योगलाई गाउँपालिकाले निश्चित राजस्व लिएर सञ्चालन अनुमति दिने गरेको उनको भनाइ छ । अधिकांश क्रसर उद्योगले कानुनी प्रक्रिया पूरा नगरेकाले विवरण उपलब्ध गराउन अटेरी गरेको हुनसक्ने आशंका बढ्दै गएको देवकोटाले बताए । उनको अनुसार पछिल्लो पटक यही चैत ७ गते गाउँपालिकाअन्तर्गत विभिन्न स्थानमा रहेका क्रसर उद्योगलाई सात दिनभित्र आ–आफ्नो उद्योगको विवरण उपलब्ध गराउन आग्रह गरिएका थियो । गाउँपालिका अध्यक्ष तप्त पौडेलले नदीजन्य पदार्थको चोरी–निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले केही दिनअगाडि घाटगद्दीको निरीक्षण तथा अनुगमन गरेको बताए । ‘नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएको कम्पनीले गरेको उत्खनन र घाटगद्दीको अनुगमन गरिएको छ,’ उनले भने, ‘गाउँपालिका क्षेत्रभित्र रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने तयारीमा छौं । अनुगमनका क्रममा कुनै कैफियत पाइएमा कानुनबमोजिम कारबाही गरिनेछ ।’ क्रसर उद्योगले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएको जनगुनासो आएको उनको भनाइ छ । नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीलेसमेत जथाभाबी रूपमा उत्खनन र पायक पर्ने स्थानमा भण्डारण गर्ने गरेको पाइएकाले सचेत गराइएको अध्यक्ष पौडेलले बताए । विगतका वर्षमा नदीजन्य पदार्थको ठेक्का नलाग्दा अवैध उत्खनन तथा चोरी–निकासी भई राजस्व संकलनमा कमी भए पनि राप्ती सोनारी गाउँपालिकाले गत आर्थिक वर्षदेखि ठेक्का प्रक्रियाबाट राजस्व संकलन गर्दै आएको छ । चालु आवमा गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न पाँचवटा घाटमा नदीजन्य पदार्थको एकमुष्ट ठेक्का लागाइएको छ । नवलपरासीको सरवल गाउँपालिका–१ स्थित चुर कन्स्ट्रक्सन एन्ड ढकाल सप्लायर्सले पाँचवटै घाटको नदीजन्य पदार्थको एकमुष्ट ठेक्का सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए । उनका अनुसार राप्ती सोनारी–२, ४, ५, ६ र ९ मा पर्ने बग्दैलाघाट, सिधनियाघाट, आलिनगरी, खल्लाटपरी घाट र जलालाघाटको ठेक्का सम्झौता भएको हो । चालु आवमा नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी ८ करोड ६७ लाख ९६ हजार ९ सय रुपैयाँमा ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवकोटाले जानकारी दिए ।