नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका गाउँपालिका–३ पात्लेको बराहताल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर रोकाले गाउँबाटै प्रतिकिलो रु एक सय सातका दरले लोक्ता बिक्री हुने बताए । ‘दरवाङ थापाचौर र तमानखोलाको नेपाली कागज उद्योगका लागि आवश्यक कच्चा पदार्थ लोक्ता सङ्कलन गर्न वन समूहको कार्ययोजनाअनुसार १५ वर्षपछि खुला गरिएको छ’, उनले भने, ‘फुर्सदको समयमा जङ्गलको लोक्ता सङ्कलन गरेर उपभोक्ताले आम्दानी गरेका छन् ।’ यसअघि मालिका–३ अदिभारामा रहेको मालिका हातेकागज उद्योग गत भदौमा थापाचौरमा स्थानान्तरण गरी पुनः सञ्चालन भएपछि लोक्ता बिक्री हुन थालेको हो । उद्योग बन्द हुँदा जङ्गलमा लोक्ता खेर गइरहेको थियो । म्याग्दीमा हाल उक्त हातेकागज उद्योग मात्र सञ्चालनमा छ । पाखापानी र लमसुङमा रहेको हाते कागज उद्योग बन्द छन् । नागीको उद्योग आंशिक रूपमा सञ्चालनमा छ । माघदेखि वैशाखसम्म लोक्ता निकाल्ने गरिएको बासराते सामुदायिक उपभोक्ता समूह जेमका अध्यक्ष सतप्रसाद पुनले बताए । कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग भएको उनले बताए । जङ्गलमा गाईबस्तु चराउने क्रममा गोठालाहरूले लोक्ता सङ्कलन गर्छन् । बराहताल, बासरातेलगायत मालिका गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाका सामुदायिक वन समूहका ८५ जनाबाट मालिका कागज उद्योगले यस वर्ष चार हजार किलोग्राम लोक्ता खरिद गरेको सञ्चालक मोतिराज गौतमले बताए । “एकजनाबाट अधिकतम रु ३० हजारसम्मको लोक्ता खरिद भएको छ”, उनले भने, “एक जनाले सरदर रु १० देखि १५ हजारका दरले आम्दानी गरेका छन् ।” समुद्री सतहबाट तीन हजारदेखि तीन हजार पाँच सय मिटर उचाइको जङ्गलमा पाइने अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज तयार पारिन्छ । सुकेको लोक्तालाई एक हप्तासम्म पानीमा भिजाउने, पकाएर बनेको लेदोलाई आवश्यकताअनुसार विभिन्न आकारको जाली भएको फ्रेममा राखेर घाममा सुकाएपछि नेपाली कागज तयार हुन्छ । नेपाली कागजमा लेखेको अक्षर नउड्ने भएकाले लामो अवधिसम्म रहने अभिलेख प्रिन्ट गर्न प्रयोग हुन्छ । अदालत, प्रहरी, प्रशासन, स्थानीय तह, सहकारी, बैंक, वित्तीय संस्थाहरूले महत्त्वपूर्ण प्रतिवेदन, अभिलेख र निर्णय तथा पत्रका लागि नेपाली हातेकागज प्रयोग गर्छन् । समुदायस्तरमा चिना, तमसुक लेख्न पनि नेपाली कागज प्रयोग गर्ने चलन छ । म्याग्दीमा उत्पादन हुने नेपाली कागज जिल्लाभित्रका साथै, बागलुङ, कास्की र काठमाडौँमा खपत हुने गरेको छ । आकार र तौलअनुसार फरक–फरक मूल्यमा कागज बिक्री हुन्छ । सबैभन्दा कम चार दशमलव पाँच ग्रामको एउटा कागजको साढे चार रुपैयाँ पर्छ । रासस
रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा १०८ उद्योग बन्द
फाइल फोटो रुपन्देही । रुपन्देहीमा उद्योग बन्द गराउनेको संख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा १०८ उद्योग बन्द भएका छन् । यहाँ आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । सोही आवमा कृषि तथा वनजन्य ४१९, उत्पादनमूलक २८१, सेवामूलक २४४ र पर्यटन उद्योग १८६ वटा गरी एक हजार १३० वटा उद्योग दर्ता भएको थिए । कार्यालय प्रमुख लोककुमार कार्कीका अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा उद्योग दर्ताको सङ्ख्या घटेको र उद्योग बन्द गर्नेको संख्या बढेको छ । आव २०७९/८० मा १ हजार १३० वटा उद्योग दर्ता भएकामा गत आवमा ८३७ वटा उद्योग मात्रै दर्ता भए । जबकि आव २०७९/८० मा २ १७ उद्योग बन्द भएकामा आव २०८०÷८१ मा ३५४ वटा उद्योग बन्द भएका छन् । उद्योग बन्द हुने क्रम भने अहिले पनि रोकिएको छैन । चालु आवको दुई महिनामै १०८ वटा उद्योग बन्द भएका छन् । साउनमा ९१ उद्योग दर्ता हुँदा ४१ बन्द भएका र भदौमा १७३ उद्योग दर्ता हुँदा ६७ वटा बन्द भएका घरेलु तथा साना उद्योग कार्यालय प्रमुख कार्कीले बताए । ‘रुपन्देहीमा उद्योग बन्द गराउने मात्र हैन नयाँ दर्ता पनि घट्दै जानुले पनि आर्थिक मन्दीको प्रभाव मान्न सकिन्छ,’ उनले भने, ‘अर्को कारण अहिले सरकारले ५ लाखभन्दा मुनिका उद्योगलाई गाउँपालिकामै दर्ताको व्यवस्था गरेकाले पनि दर्ता संख्या घटेको हुन सक्छ,’ उनले भने । आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् । ‘रुपन्देही औद्योगिक केन्द्रका रूपमा रहेको छ तर पछिल्लो समय ठूला–ठूला उद्योगमध्ये कतिपय बन्द भइसके, सञ्चालनमा रहेकामध्ये ३० देखि ४० प्रतिशत मात्र उत्पादन गर्ने अवस्थामा रहेका छन् । यहाँ उत्पादित वस्तुहरूका उपभोक्ताको संख्यामै कमी आएको छ । अधिकांश उपभोक्ता विदेसिएका कारण पनि उद्योगहरू मारमा परेका छन् ।’ यहाँ करिब १० वटा सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन्भने व्यवसाय र अन्य निर्माणजन्य उद्योगहरूको अवस्था पनि उस्तै छ । उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सरकारले प्रवर्द्धनात्मक तथा सहुलियतका कार्यक्रम अगाडि बढाउनुपर्ने धेरैको माग छ ।
ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा सम्पन्न
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष विश्व राज बज्राचार्यले रेमिटेन्समा निर्भर देखिएको देशलाई उद्यमशीलता र उत्पादनमुखी बनाउन स्टार्टअप जस्ता नीतिसँगे राज्यका सबै तहबाट नीजि क्षेत्रमैत्री नीतिगत व्यवस्था निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनले विदेशी व्यवसायसँग प्रस्तिपर्धा गर्नसक्ने अवस्थातर्फ डोहाेर्याउन संघले तय गरेको इमान्दारी, संस्थागत नेतृत्व, सान्दर्भिकता र निरन्तरताका ४ खम्बे रणनीतिलाई कार्यान्वयन गर्नुपर्ने उनकाे भनाइ छ । संघका अध्यक्ष बज्रचार्यले उद्योग व्यवसायमा विकास, समृद्ध ललितपुर नारासहित हस्तकला नगरीको पहिचान वृद्धि गर्न जिल्लाका उद्योग तथा उत्पादन क्षेत्रको पहिचान गर्नुपर्नेमा जाेड दिए । संघको वार्षिक अर्थ स्मारिका २०८१ विमोचनपश्चात सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक मन्दीबाट सम्बृद्धिको यात्रामा लाग्न नेपालीहरूमा छाएको निराशावादी भाष्यलाई चिर्न आवश्यक भएको बताए । उनले प्रादेशिक तथा स्थानीय सरकारको सहभागिता भएको साधारणसभाले राज्यका सबै निकायसँग नीतिगत वा अन्य आवश्यक सहकार्यको स्पष्ट आधार तय गरी अगाडि बढ्न सकोस् भनी शुभकामना व्यक्त गरे । प्रतिनिधिसभा सदस्य प्रेम महर्जनले नीतिगत विकाससँगै युवाहरुको नवप्रवर्तन सोच तथा उद्यमशीलतालाई लक्ष्योन्मुख कार्यान्वयनतर्फ सहकार्यमा निजी क्षेत्रको सक्रिय भूमिका रहनेमा जोड दिए । विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडपछि युक्रेन-रसियाको युद्ध र राज्यको नीतिगत व्यवस्थाको ग्यापले छाएको निराशालाई चिर्न महासंघले विगत डेढ वर्षमा धेरै सकारात्मक कार्य गरेको बताए । विगतमा सम्पन्न लगानी सम्मेलनले ल्याएका करीब ८ वटा नीतिगत परिवर्तनलाई निजी क्षेत्रकै पहलमा नेपालका सबै राजनैतिक दलको समर्थन जुटाउन सफल भएका कारण नेपालमा निजीक्षेत्रमैत्री वैदेशिक लगानीको सम्भावना बढेको उनले बताए । २०२३ चैत्र ४ गते स्थापित ललितपुर उद्योग वाणिज्य संघले ५७ औं वर्षमा प्रवेशको गर्विलो इतिहाससहित निजी क्षेत्रको छाता संगठनको रूपमा ललितपुर जिल्लाको आर्थिक क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।