नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीद्वारा विदेशी लगानीकर्तालाई आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानीकर्ताले ५० करोड रुपैयाँसम्म लगानी गर्न विदेशबाट आवेदन दिन सकिने बताएका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसङ्घको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा सोमबारदेखि सुरु भएको दुईदिने २९औँ साझेदारी शिखर सम्मेलनको पूर्ण सत्रमा मन्त्री भण्डारीले विदेशी लगानीकर्ताहरूले अनलाइन प्रणालीमार्फत स्वतः पूर्वस्वीकृति प्राप्त गर्ने जानकारी दिए । त्यसैगरी, एफडिआईको थ्रेसहोल्ड पाँच करोड रुपैयाँबाट घटाएर दुई करोड रुपैयाँमा पुर्याइएको र सूचना प्रविधि क्षेत्रमा लगानीको थ्रेसहोल्ड नभएको सो अवसरमा मन्त्री भण्डारीले सम्मेलनमा जानकारी दिए । उनले भने, ‘हामीले नेपालमा व्यापार गर्न नीतिगत र कानुनी पक्षमा सुधार गर्न ध्यान केन्द्रित गरेका छौँ, लगानीकर्तालाई दर्ता र सुविधा उपलब्ध गराउन १४ एजेन्सीलाई एउटै छानामुनि ल्याएर वन स्टप सर्भिस सेन्टर (ओएसएससी) स्थापना गरिएको छ ।’ मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताए । उनले भने, ‘बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय व्यापार सम्झौतामा हाम्रा प्रतिबद्धताले नेपाललाई अन्तर्राष्ट्रिय व्यापारका लागि सबैभन्दा उदार र खुला बजार बनाएको छ ।’ नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवद्र्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘नियामक ढाँचालाई थप सुधार गर्न हाम्रा साझेदारहरूबाट प्रतिक्रिया र सुझावका लागि हामी खुला छौँ ।’ मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गरे । उनले भने, ‘आर्थिक समृद्धिका हाम्रा साझा लक्ष्यलाई साकार पार्न पुँजी, नयाँ प्रविधि र विशेषज्ञता ल्याई हामीसँग साझेदार हुन सम्भावित क्षेत्रमा अन्वेषण गर्न म विश्वभरका व्यवसाय र लगानीकर्तालाई आमन्त्रित गर्दछु ।’ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरेको सो सम्मेलनमा मन्त्री भण्डारीले बताए । उनले भने, ‘अहिले हामी द्विपक्षीय र त्रिपक्षीय व्यवस्थाका साथ हाम्रा छिमेकी मुलुक भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्ने अवस्थामा छौँ ।’ साथै मन्त्री भण्डारीले नेपालले भारतसँगको आफ्नो बलियो र ऐतिहासिक सम्बन्धलाई महत्व दिएको उल्लेख गर्दै दुई देशको साझा इतिहास, सांस्कृतिक सम्बन्ध र आर्थिक अन्तर–निर्भरतामा यो सम्बन्धको जरा गहिरो रुपमा गाडिएको बताए । नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठूलो स्रोत देश रहेको उनले उल्लेख गरे । सम्बोधन गर्नु पूर्वभारतीय समकक्षी पियुष गोयलले मन्त्री भण्डारीको स्वागत गरेका थिए ।

हेटौंडा सिमेन्ट उद्योगले पुसको पहिलो सातादेखि उत्पादन गर्दै

बागमती । हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले आगामी पुसको पहिलो साताबाट पुनः सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले मङ्सिरमै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिदाँ अझै उत्पादन अझै सुरु हुन नसकेको हो । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणहरुको मर्मत कार्य अझै भईरहेकै छ,’ उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लग्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौ ।’ तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनको भनाई छ । उपकरणहरुको मर्मत कार्य सम्पन्न हुने बितिकै यही पुस महिनाको पहिलो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने गरी तयारी भईरहेको उनले बताए। उद्योग व्यवस्थापनले यही असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीब्र रुपमा भइरहेकाले छिटै सकिने र त्यस लग्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए । ‘हामीसँगै कच्चा पदार्थको कुनै अभाव छैन्’, अध्यक्ष भण्डारीले भने,‘उद्योगलाई चाहिने करिब चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’ थप कोइला खरिदको प्रक्रिया अघि बढी सकेको छ, त्यसैले कोइलाको समस्या छैन्, उनको भनाई छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेश्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यसअबधीमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।

बैंकको ब्याज तिर्न सकिएन भन्दै सिमेन्ट उद्योगीले बढाए मूल्य, निर्माण व्यवसायी चिन्तित

काठमाडौं । सिमेन्टको मूल्य २० प्रतिशतले बढेको छ । सिमेन्ट उद्योगहरूले सरदर प्रतिबोरा एक सय रुपैयाँले बढाएका हुन् । चिनियाँ लगानीका सिमेन्ट उद्योगहरूसँगको बढ्दो प्रतिस्पर्धाका कारण मूल्य घटाएका उद्योगीहरूले निर्माण कार्यको सिजन सुरु भएसँगै मूल्य बढाएको जनाइएको छ । यसअघि प्रतिबोरा करिब ५ सय रुपैयाँमा बिक्री हुँदै आएको सिमेन्ट अब प्रतिबोरा ६ सयभन्दा बढी पुगेको छ । योसँगै यसअघिसम्म प्रतिबोरा ५ सय रुपैयाँ पर्ने सिमेन्टलाई अब भने ६ सय रुपैयाँ प्रतिबोरा पर्नेछ। यता सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य बढाएकोमा निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको बेला सिमेन्टको भाउ बढ्दा आफूहरू थप समस्यामा पर्ने एक निर्माण व्यवसायीले बताए। मूल्य नबढाए सिमेन्ट उद्योगहरू धरासायी हुने निष्कर्ष निकाल्दै नेपाल सिमेन्ट उत्पादक संघले नै पहल गरेर मूल्य बढाएको हो । संघले यसअघि नै सिमेन्टको भाउ बढाउने प्रयास गरे पनि अनुकूल समयको पखाईमा बसेको थियो । चिनियाँ लगानीका उद्योगहरू होङ्सी र हुवासिन सिमेन्टले सस्तो मूल्यमा सिमेन्ट दिएपछि नेपाली लगानीका उद्योगहरुलाई पनि मूल्य घटाउनुपर्ने बाध्यता थियो । अहिले होङ्सी र हुवासिन पनि मूल्य बढाउन तयार भएपछि संघका सदस्यहरूले सहमति गरेर मूल्य बढाएका हुन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले आफूहरू घाटमा रहेको भन्दै सिमेन्टको मूल्य बढाएको बताएका छन् । उनले भने,  ‘हामीहरू घाटामा गयौं । हाल सिमेन्ट उद्योग ठूलो मारमा पर्‍यो । बैंकहरूको ब्याज थपिँदै गयो । त्यो तिर्न नसक्ने भयौं । त्यसैले केही राहत हुन्छ कि भनेर मूल्य बढाएका हौं ।’ नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले सिमेन्टको मूल्य बिना कारण बढाएको भन्दै गुनासो गरेका छन् । उनले भने, ‘जुन बेला कामको सिजन हुँदैन । त्यो बेला उद्योगीहरूले सिमेन्टको मूल्य घटाउनुको सट्टा बढाउँछन् । जुन बेला कामको सिजन हुन्छ, त्यो सिमेन्टको मूल्य बढाउँछन् । यो मार पर्ने भनेको हामी निर्माण व्यवसायीहरूलाई हो । सिमेन्टको मूल्य किन बढाएको रहेछ ? उद्योग कम्पनीलाई छिट्टै चिठ्ठी लेखेर पठाउँछौं ।’ मूल्य बढाएपछि संकटमा परेका नेपाली लगानीका सिमेन्ट उद्योगलाई राहत मिले पनि उपभोक्ता भने मर्कामा पर्ने भएका छन् ।