गम्भीर संकटमा भारतीय हीरा उद्योग, धमाधम मृत्यु रोज्दै व्यवसायी
काठमाडौं । भारतको हीरा क्षेत्रले गम्भीर संकट सामना गरिरहेको छ । पछिल्लो तीन वर्षमा भारतमा हीरा आयात र निर्यात दुवैमा भारी गिरावट आएको छ । यही कारण समयमा भुक्तानी हुन नसक्दा कारखाना बन्द हुन पुगेको र ठूलो संख्यामा रोजगारी गुमेको आर्थिक अनुसन्धान संस्थान जीटीआरआईले जानकारी दिएको छ । इकोनोमिक रिसर्च इन्स्टिच्युटले विज्ञप्ति जारी गर्दै निर्यात आम्दानी बढे पनि अर्डरमा गिरावट र प्रयोगशालाबाट उत्पादन हुने हीराको बढ्दो प्रतिस्पर्धाले प्रशोधन नगरिएका ‘रफ’ हिराको मौज्दात बढ्दै गएको जनाएको छ । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) का संस्थापक अजय श्रीवास्तवले भने, ‘यसले भुक्तानी नहुने, फ्याक्ट्री बन्द र ठूलो मात्रामा रोजगारी गुमाएको छ । दुःखको कुरा, गुजरातको हीरा उद्योगसँग सम्बन्धित ६० भन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन्, जसले भारतको हीरा उद्योगमा परेको गम्भीर आर्थिक र भावनात्मक तनावलाई झल्काउँछ ।’ यी समस्या समाधान गरी यस क्षेत्रको भविष्य सुरक्षित गर्न तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ । इकोनोमिक रिसर्च इन्सिच्युटको तथ्यांकअनुसार सन् २०२१/२२ मा रफ हीरा आयात १८ अर्ब ५० करोड अमेरिकी डलरबाट २०२३/२४ मा १४ अर्ब ५० करोड डलरमा झरेको छ । यो २४.५ प्रतिशत गिरावटले कमजोर विश्वव्यापी बजार र न्यून प्रशोधन आदेश (अनुबन्ध) प्रतिविम्बित गर्छ । संस्थापक श्रीवास्तकले रुस–युक्रेन द्वन्द्वले विश्वव्यापी हिरा आपूर्ति शृङ्खलालाई पनि असर गरेको बताए । प्रमुख रफ हीरा उत्पादक रुसविरुद्धको प्रतिबन्धले व्यापारलाई अझ जटिल बनाएको छ र विश्वव्यापी हीराको व्यापार सुस्त बनाएको छ । श्रीवास्तवले प्रयोगशालाबाट उत्पादन भएको हीराको बढ्दो उपभोक्ता मागले प्राकृतिक हीराको मागलाई असर गरिरहेको बताए । प्रयोगशालामा उत्पादन गरिएको हीरा अधिक किफायती र टिकाउ हुन्छन् भन्ने विश्वास गरिन्छ । जीटीआरआईले दुबईले हीरा उत्पादन गर्दैन, तर पनि भारतको रफ हीरा आयातमा यसको हिस्सा निरन्तर बढिरहेको बताएको छ । दुबईले बोत्स्वाना, अंगोला, दक्षिण अफ्रिका, रुसबाट रफ हीरा आयात गर्छ र त्यसपछि भारतमा निर्यात गर्छ । भारतीय हीरा उद्योगमा हीरा काट्ने, पालिस गर्ने र निर्यात गर्नेजस्ता विभिन्न गतिविधिमा संलग्न ७ हजारभन्दा बढी कम्पनी छन् । -एजेन्सी
समृद्धिका लागि सरकार उद्योगीसँग हातेमालो गर्न तयार छ: मन्त्री भण्डारी
काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक समृद्धि हासिल गर्न सरकार उद्योगी व्यवसायीसँग हातेमालो गर्न तयार रहेको बताएका छन् । नेपाल इँट्टा उद्योग महासंघको १६औं साधारणसभा उद्घाटन समारोहलाई सोमबार धुलिखेलमा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न इँटा उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । ‘सरकार व्यवसायीसँग हातेमालो गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुने अभियान छ । व्यवसायीले पनि सहकार्य गर्ने सोच बनाउनुस्, सरकार तयार छ,’ मन्त्री भण्डारीले भने । उनले व्यवसायीले सरकारलाई विरोधीको आँखाले नहेर्न आग्रह गरे । उनले भने, ‘राष्ट्र सफल बने मेरो पनि व्यवसाय सफल हुन्छ भन्ने व्यवसायीले सोच्नुपर्याे ।’ मन्त्री भण्डारीले व्यवसाय तथा उद्योगमा यथास्थितिकै चुनौति देखिएको उल्लेख गर्दै यसलाई सरकार र व्यवसायी दुवै पक्ष मिलेर सामना गर्नुपर्ने बताए । आफ्नो मन्त्रालयको ‘मन्दीदेखि समृद्धि’ सम्मको अभियानलाई व्यवसायीले पूर्ण साथ दिनुपर्ने उनको धारणा थियो । मन्त्री भण्डारीले देशको आयात र निर्यातको चुनौती समाना गर्न ‘मन्त्रालय–व्यवसायी’ बीच को दूरी कम गर्नुपर्ने आवश्यकता औंल्याए । उनले मन्त्रालयले उद्योग, व्यवसायसम्बन्धी अध्ययन कार्यदल बनाएकाले कार्यदलको प्रतिवेदनअनुसार व्यावसायिक सुदृढीकरणबारे छिट्टै योजना ल्याइने जानकारी दिए । इँट्टा उद्योगलाई प्रविधि एवं जलवायुमैत्री बनाइ रोजगारी प्रवर्द्धन गर्दै वातावरण संरक्षण गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे श्रेष्ठ र लक्ष्मण लम्साललगायतले मन्दीको अवस्थाबाट माथि उठ्न उद्योग व्यवसायीलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । महासंघका अध्यक्ष शंकरबहादुर चन्दले उद्योगीको बैंकको ऋणको समयावधि थप गरिदिन अनुरोध गरे । उनले आर्थिक मन्दीका कारण ३० प्रतिशत उद्योग बन्द अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार देशभर एक हजार दुई सय इँट्टा उद्योग महासंघमा आबद्ध छन् ।
जाम्बियाले नेपालमा खानी उत्खनन गर्न प्राविधिक भित्र्याउने
काठमाडौं । जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । नेपालको चारदिने भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरू र निजी क्षेत्रलाई भेटी सो कुरा बताएका हुन् । उनले उद्योगमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधि तथा आर्थिक रूपमा लगानी गर्ने प्रस्ताव राखेका थिए । यसैगरी, उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए । साथै आफूहरूको लागि नेपाल लगानीको लागि आकर्षक गन्तव्य हुने भन्दै सो विषयमा सहकार्य गर्न तयार रहेको बताएका थिए । नेपालको ४ दिन भ्रमणमा रहेका प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेका थिए । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यावसायीक समझदारीपत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्तावसमेत राखेका थिए । जाम्बियाको लगानीकर्ताहरू नेपालमा लगानी गर्न तयार रहेको भन्दै सोहीअनुरूप दुबै संस्थाबीच समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सोका लागि आफूले सहजकर्ताको रूपमा काम गरिदिन प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । जाम्बियाको नेपालको लागि गैरआवासीय राजदूत प्याट्सको ४ दिन भ्रमणले नेपालमा जाम्बियाको नेपाली भित्र्याउन मार्ग प्रशस्त गरेको नेपालको लागि जाम्बियाको वाणिज्य दूत देशबन्धु बस्नेत (अजित)ले बताए । ‘नेपालको ४ दिने भ्रमणमा आउनु भएका राजदूत प्याट्ले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र र उद्योग मन्त्रीसँग पनि लगानीको विषयमा छलफल गर्नुभयो,’ बस्नेतले भने, ‘साथै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी जाम्बिया र नेपाली उद्योगी व्यवसायीबीच सहकार्य गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नुभएको थियो ।’ साथै नेपालमा जाम्बियाको लगानी भित्र्याउने सम्बन्धमा महासंघसँग छिट्टै नै एक समझदारीपत्रमा हस्ताक्षर हुनेसमेत उनले जानकारी दिए । नेपालको ४ दिने भ्रमणमा रहेका राजदूत प्याट्ले नेपाल र जाम्बियाको भौगोलिक बनावटसमेत एउटै रहेको र नेपालमा खानी उत्खनन र पर्यटनको उच्च सम्भावना रहेको भन्दै सो विषयमा जाम्बिया सरकार तत्काल सहकार्य गर्न तयार रहेको बताएका थिए । साथै जाम्बियाको वार्षिक ६० हजार करोड बराबरको खानी उत्खनन हुने गरेको छ । उक्त प्राविधिक सहायतामा नेपालमा पनि ठूलो मात्रामा खानी उत्खनन गर्न सकिने उनले जानकारी दिएका थिए ।