नीतिगत समस्याका कारण औद्योगिक वातावरण बन्न नसकेको निजी क्षेत्रको दाबी
काठमाडौं । मुलुकमा औद्योगिक वातावरण बनाउनको लागि सरकारले उद्योगसँग सम्बन्धित ऐन कानुनहरूलाई तत्काल सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको १० औं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रमका बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । उनीहरूले सरकारले विगत लामो समयदेखि औद्योगिक वातावरण सिर्जना गरी लगानीमैत्री बनाएर उद्योगको विकास गर्ने कार्ययोजना बनाए पनि नीतिगत समस्याको कारण औद्योगिक क्षेत्रको वातावरण बन्न नसकेको दाबी गरेका छन् । उनीहरूले ५० वर्ष भन्दा पुरानो औद्योगिक ऐन, कानुनको आधारमा औद्योगिक क्षेत्रको विकास हुन नसक्ने भन्दै सरकारले तत्काल समय सापेक्ष औद्योगिक वातावरण बनाउने र उद्योगमैत्री कानुन परिमार्जन गर्नुपर्ने बताएका छन् । उनीहरूले विगतका १३ प्रतिशत औद्योगिक क्षेत्रको योगदान रहेकोमा पछिल्लो समय घटेर ४ प्रतिशतको आउनुको प्रमुख कारण राज्यले औद्योगिक क्षेत्रमा लिइएको नीति भएको उल्लेख गरेका छन् । उनीहरूले सरकारले औद्योगिक क्षेत्रको विकास र विस्तारको लागि लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताएका छन् । उनीहरुले उद्योग दर्ता, सञ्चालन प्रक्रियाका लागि उद्योगसँग सम्बन्धित नीतिहरू जटिल रहेको भन्दै वन, खानी लगायत उद्योगमा आवश्यक कच्चा पदार्थसँग सम्बन्धित नीतिहरू उद्योगमैत्री बनाउनु अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाले राज्यले लिएका नीतिका कारण मुलुकको जीडिपीमा १३ प्रतिशत रहेको योगदान ४ प्रतिशतमा खुम्चिएको दाबी गरे । उनले औद्योगिक क्षेत्रमा निजी क्षेत्रले ४.९३ मिलियनको रोजगारी सिर्जना गरेको बताए। उनले माइक्रो र साना मझौतामा ४.५६ मिलियन ,मझौला ३ लाख ३० हजार र ठूला उद्योगमा ४२ हजार रहेको बताए । अहिले रेमिट्यान्स र राजश्वमुखी अर्थतन्त्र रहेको भन्दै सधैं मुलुक रेमिट्यान्स र राजश्वको भरमा चल्न नसक्नेमा जोड दिए । उनले रेमिट्यान्स कम हुने बित्तिकै मुलुकको अर्थतन्त्र धरासायी हुने चेतावनी पनि दिए । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको नीतिगत व्यवस्थाका कारण उद्योगको विकास हुन नसकेको बताए । उनले उद्योगमैत्री नीति नहुँदा वैदेशिक लगानीसमेत भित्रिन नसकेको आरोप लगाए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनका लागि प्रक्रियागत सुधार गर्न आवश्यक रहेको बताए । उनले सरकारले स्टार्टप र नवप्रर्वतनकारी व्यवसाय विकासका लागि कोष बनाएर काम गरेको भन्दै यसले युवाहरुलाई स्वदेशमा राख्न मद्दत पुग्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले उद्योग मन्त्रालयमा मात्रै नभएर हेरक चेम्बरमा स्वदेशी वस्तुमा लगानी हुनुपर्ने बताए । उनले सरकारी निकायहरूमा नेपालमा उत्पादित वस्तुहरुको प्रयोग गरे निजी क्षेत्रले उत्पादन गर्नसक्ने बताए ।
म्याग्दीमा करिब तीन हजार उद्योग सञ्चालनमा, ३०० जनालाई रोजगारी
म्याग्दी । यस जिल्लामा करिब तीन हजार उद्योग सञ्चालनमा रहेका पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । दशौँ उद्योग दिवस–२०८१ का अवसरमा आज पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख पोषानाथ शर्माले तीन हजार तीन सय ८४ उद्योग दर्ता भएकामा दुई हजार नौ सय १९ वटा सञ्चालनमा रहेका जानकारी गराए । ‘पछिल्लो केही वर्षयता उद्योग ब्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ’, उनले भने, ‘वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज भएका हुन् ।’ आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ वटा खारेज भएका थिए । कार्यालयका अनुसार २०८०/८१ मा ३१ वटा उद्योग र ५३ वटा व्यावसायिक फर्म खारेज भएका हुन् । आर्थिक वर्ष २०७९/८० मा १४ वटा उद्योग र २९ वटा व्यावसायिक फर्म खारेज भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । गत वर्ष तीन सय २२ उद्योग र तीन सय ९४ व्यावसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगमा तीन सय जनालाई रोजगारी सिर्जना भएको कार्यालय प्रमुख शर्माले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवीन श्रेष्ठले कोरोना महामारी पछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायी विदेश पलायन हुने र अन्य पेसा रोज्नेक्रम बढेको बताए । उद्योग वाणिज्य सङ्घको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका हुन् । यसैगरी दशौँ उद्योग दिवस–२०८१ का अवसरमा पर्यटन तथा उद्योग कार्यालय, म्याग्दीले तीन जना उद्यमीहरुलाई सम्मान गरेको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी मेनुका सिलाइकटाइ तथा प्रशिक्षण केन्द्रका मेककुमारी पुन, बेनी नगरपालिका–८ गणेशटोलको वेदना सु–सेन्टरका सुकलाल किसान र बेनी नगरपालिका–७ कुरिलाखर्कको शर्मा कृषि तथा पशपक्षी फार्मका सञ्चालक कृष्णप्रसाद शर्मालाई सम्मान गरिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जाली (सुविन), जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले उनीहरुलाई दोसल्लो ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । प्रदेशसभा सदस्य जुग्जालीले म्याग्दीमा आवश्यकता र सम्भावनामा आधारित भएर सीपमूलक तालिम सञ्चालन गर्न आवश्यक भएको बताए । गण्डकी प्रदेशसभाबाट स्थानीय मदिरासम्बन्धी कानुन निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराउँदै म्याग्दीमा पनि यस किसिमका उद्यम स्थापना गरी मदिरा आयात घटाउन आवश्यक देखिएको विचार व्यक्त गरे । रासस
व्यवसाय दर्ता, नवीकरण र राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन् । उनले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गरेका हुन् । अध्यक्ष ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताए । सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै उनले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जाेड दिए । अध्यक्ष ढकालले व्यवसाय दर्ता, नवीकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिए । साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्यूनीकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको उनले ढकालले दिए । नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उनको टिप्पणी छ । अध्यक्ष ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराए । अध्यक्ष ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गरे । उनका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् । महासंघले दशैं-तिहारलक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशत सम्म घटेको देखाएको जानकारी पनि उनले दिए । हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झट्काले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि यो सकारात्मक सन्देश रहेको उल्लेख गर्दै ढकालले महासंघको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको र यसले निजी क्षेत्रलाई पनि समावेश गरेकाे बताए ।