मधेसमा पहिलो फोहर प्रशोधन केन्द्र सञ्चालन, आम्दानीको १२% पालिकालाई दिने
काठमाडौं । मधेस प्रदेशमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । महोत्तरीको बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंको सहकार्यमा बर्दिबास-८ मा निर्मित फोहरमैला प्रशोधन केन्द्र शुक्रबार सञ्चालन भएको हो । प्रारम्भिक लागत १ करोड २० लाख रुपैयाँको खर्चमा निर्मित केन्द्र मधेसकै पहिलो भएको केन्द्रका प्रबन्ध निर्देशक सुरेन्द्र साहको भनाइ छ । बर्दिबास नगरपालिका र हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंबीच भएको सहमतिबाट यो केन्द्र सञ्चालनमा आएको हो । साझेदार कम्पनी हिट्टा हेवी मेसिनरी ऐण्ड रिसाइक्लिन सेन्टर काठमाडौंले २० वर्षको अवधि प्रशोधन केन्द्र सञ्चालनको सहमति नगरपालिकाबाट पाएको छ । यस अवधिमा फोहर सङ्कलन, व्यवस्थापन, प्रशोधनबाट हुने आम्दानीबाट १२ प्रतिशत नगरपालिकाले प्राप्त गर्ने सम्झौता रहेको दुवै पक्षले पुष्टि गरेका छन् । सञ्चालनमा आएको केन्द्रले शुक्रबारदेखि नै नगरक्षेत्रबाट सङ्कलित फोहर प्रशोधन गर्न थालेको छ । अहिले फोहर प्रशोधन गरेर खरानी बनाइने इन्सिनिटर मेसिनमात्र जडान छ । अब केही महिनाभित्रै थप मेसिन जडान गरेर मल बनाउन थालिने केन्द्रका प्रबन्ध निर्देशक साहले स्पष्ट पारे । ‘हामीले नगरक्षेत्रबाट सङ्कलित फोहर इन्सिनिटर मेसिनमा पेल्न थाल्यौँ, यसबाट जम्मा हुने खरानीबाट अब केही महिनाभित्रै उर्बर मल बनाउने कार्य सुरू हुन्छ,’ प्रबन्ध निर्देशक साहले भने, ‘यो फोहरमैला व्यवस्थापनमा मधेस प्रदेशकै पहिलो प्रयत्न हो ।’ यो केन्द्रले अब अहिलेसम्म बर्दिबास नगरक्षेत्रका घरघरबाट र चोक बजार क्षेत्रबाट सङ्कलन हुने फोहर नियमित पेलेर खरानी बनाउने छ । केन्द्रमा जडित इन्सिनेटर मेसिन दैनिक छ टन फोहर पेल्ने क्षमताको रहेको प्रबन्ध निर्देशक साहको भनाइ छ । अहिले बर्दिबास नगरक्षेत्रमा चार टन फोहर दैनिक सङ्कलन हुँदै आएको छ । प्रशोधन केन्द्र सञ्चालनले नगर क्षेत्रको फोहर व्यवस्थापन हुनसँगै यसबाट आम्दानी हुन थाल्ने बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउनुहुन्छ । केन्द्र सञ्चालनका लागि नगरपालिकाले तीन बिघा पर्ति जग्गा उपलब्ध गराएको छ । मल बेचेर प्राप्त हुने रकम र फोहर व्यवस्थापनका लागि घरघरै स्थानीय बासिन्दाबाट प्राप्त हुने शुल्क केन्द्रको आम्दानीको आधार हो । हाल नगरका तीन वटा वडा बस्तीबाट फोहर व्यवस्थापनबापत घरघरबाट गरी तीन लाख मासिक आम्दानी भइरहेको केन्द्रले जनाएको छ । अब नगरका १४ वटै वडा बस्तीमा फोहर सङ्कलन कार्य बढाइने साहले बताए । केन्द्र सञ्चालनमा आएपछि अब फोहर कहाँ लाने रु कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता नरहने नगरप्रमुख क्षत्री बताउँछन् । यता केन्द्रले मल बनाउने मेसिनहरू खरिद भइसकेको जनाएको छ । ‘मल बनाउने मेसिन खरिद भइसकेको छ, अब ती मेसिन जडान गर्न र सञ्चालन गर्न बढीमा छ महिना लाग्नसक्छ,’ प्रबन्ध निर्देशक साह भन्छन् । धेस प्रदेशमै पहिलो सञ्चालन भएको यो केन्द्रमा अहिले फोहर पेलेको हेर्न सर्वसाधारणको धुइरो लागेको छ । यो केन्द्रको सञ्चालनले मधेसमा फोहर व्यवस्थापनमा देखिँदै व्यहोरिँदै आइएको समस्या समाधानमा नयाँ उपलब्धि हासिल भएको यहाँका बुद्धिजीवी बताउँछन् । यो फोहरबाट मोहर बनाउने कार्यको मधेसका अन्य नगरले अनुसरण गर्नसके फोहर व्यवस्थापनमा व्यहोरिँदै आइएको समस्या समाधान हुने बर्दिबास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउँछन् ।
हेटौँडा सिमेन्ट उद्योगले आगामी सातादेखि उत्पादन थाल्ने
बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ, ‘ अध्यक्ष भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौं तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।’ उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए । ‘हामीसँग कच्चापदार्थको कुनै अभाव छैन,’ अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ ।’ थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
महासंघ र कोरिया इम्पोर्ट्स एसोसिएसनबीच समझदारी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोर्ट्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवर्द्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरी त्यहाँ उत्पादन नहुने सामान आयात गरी औद्योगिक वातावरण प्रवर्द्धन र सर्वसाधारणलाई सुलभ रूपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो । आयातलाई नै केन्द्रित गरी स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास छ । यसबाट नेपाल र दक्षिण कोरियाबीचको व्यापार घाटा कम हुने विश्वास छ । हाल दुइ देश बीचको व्यापार घाटा करिब ७ अर्ब रुपैयाँ छ । नेपालबाट हाल फेल्ट, गलैँचा, धागोलगायतका परम्परागत सामान बढी गैरहेको सन्दर्भमा कोइमासँगको सहकार्यबाट औद्योगिक कच्चा पदार्थ एवं अन्य सामानका लागि पनि बजार खोज्न सकिने महासंघको विश्वास छ । नेपाल कोरिया दैत्य सम्बन्ध स्थापनाको ५० वर्ष र समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा महासंघ अध्यक्ष ढकालले नेपाल र कोरियाबीच आर्थिक सम्बन्ध सुदृढ गर्न सकिने अपार सम्भावना रहेको बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सोलस्थित नेपाली दूतावासद्वारा आयोजित ‘नेपालमा व्यापार र लगानीका अवसरहरू’ शीर्षकको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालको ऊर्जाशील एवं युवा जनशक्ति, प्राकृतिक स्रोत, ठुला बजारसँगको सामीप्यता कोरियाली लगानीकर्ताका लागि महत्त्वपूर्ण रहने बताए । उनले नेपालको लगानी वातावरणमा भएका प्रगतिको जानकारी गराउँदै महासंघको सक्रिय संलग्नतामा हालै गरिएका सुधारहरूको चर्चा गरे । उनले सरकारको लगानीसम्बन्धी आठ कानुन संशोधन गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न चालिएका कदमहरूको जानकारी गराए । साथै, दुईपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन गर्नु विदेशी लगानीलाई सहज बनाउने महत्त्वपूर्ण कदम भएको बताए । अध्यक्ष ढकालले नेपालको अनुकूल आर्थिक सूचकाङ्कहरू पनि प्रकाश पारे । विदेशी मुद्रा सञ्चिति करिब १७ अर्ब अमेरिकी डलर पुगेको र नेपालको पहिलोपटक क्रेडिट रेटिङ भएको जानकारी पनि लगानीकर्तालाई दिए । नेपालको रेटिङ दक्षिण एसियामा सन्तोषजनक रहेको पनि उनको धारणा थियो । ढकालले पूर्वाधार विकासको महत्त्व पनि औंल्याउँदै सडक, रेलमार्ग, विमानस्थल, शहरी योजना, होटल रिसोर्ट, केबलकार र स्मार्ट सिटीहरूमा कोरियाली विशेषज्ञता र लगानीका लागि आग्रह गरे । ढकालले कोरियाली व्यावसायिक समुदायलाई नेपालमा व्यापार र लगानीका अवसरहरूको खोजी गर्न निमन्त्रणा दिँदै महासंघको विदेशी लगानी सहायता डेस्कमार्फत पूर्ण सहयोगको आश्वासनसमेत दिए ।