पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ-अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केबलकार कोसेढुंगो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केबलकारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे । उनले पाथीभरा केबलकारमा स्थानीयहरूलाई सतप्रतिशत रोजगारी दिन आफूहरू सकारात्मक रहेको बताए । संघर्ष समितिले ८० प्रतिशत स्थानीयलाई रोजगारीको ग्यारेन्टी माग गरे पनि केबलकारले रोजगारीमा स्थानीयलाई शत प्रतिशत प्राथमिकता दिने उनले बताए । सरकार र निजी क्षेत्रले अर्बौं रुपैयाँ खर्च गरेर वैदेशिक लगानी भित्र्याउनका लागि काम गरी रहेको अवस्थामा मुलुकभित्रकै निजी क्षेत्रले लगानी गर्ने नसक्ने वातावरण बनाउने काम गलत हुने जनाए । उनले स्वदेशी लगानी पहिलो प्राथमिकतामा राख्नसके मात्रै पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास हुने धारणा राखे । उनले पाथीभरामा केबलकार निर्माण आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि समग्र ताप्लेजुङ र मुलुकको पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनाको लागि काम गरिरहेको बताए । उनले स्थानीयहरूलाई केबलकारले दिने सेवा सुविधा सबै दिन तयार रहेको बताए । एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केवलकार निर्माण गरी मुलुकको पर्यटनको विकास रोजगारी सिर्जना गर्ने अभियानमा रहेको जनाए । उनले पाथीभरा केबलकार निर्माणको लागि सबै प्रक्रिया पूरा भएको बताएका छन् । केबकार निर्माण गर्ने काम शुरु भएको १५ महिना भित्र सम्पन्न गर्ने तयारी रहेको बताए । उनले पाथीभरा केबकार आयोजना आइएमई ग्रुप र चन्द्र ढकालको मात्रै नभएर पाथीभरा, ताप्लेजुङ ,कोशी प्रदेश र देशको पनि आयोजना भएकाले सबैको साथ सहयोगको अपेक्षा गरेको जानकारी दिए । उनले पर्यटन पूर्वाधार निर्माण भयो भने मात्रै रोजगारी सिर्जना, व्यवसायीक गतिविधि र राजस्व वृद्धि हुने भन्दै पाथीभरा केबलकार बनाउन शुरुवात गरेको जनाए । उनले भने, ‘पाथीभरा केबलकार बनाउँदा स्थानीयहरुलाई के गर्नुपर्छ । त्यो गर्न तयार छौं । स्थानीय मानिसहरुलाई के सुविधा दिनुपर्छ त्यो भन्नुपर्यो । केबलकारले स्थानीय, बालबालिका तथा वृद्धवृद्धाहरुलाई दिने सुविधाको बारेमा उल्लेख गर्दै थप सेवा सुविधा आवश्यक परे छलफल गर्न तयार छौं ।’ ‘हामी एक ठाउँमा मात्रै नभएर सातै प्रदेशमा केबलर निर्माण गरी मुलुकमा पर्यटन विकास गर्ने र रोजगारी सिर्जना गर्ने अभियानमा छौं । समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा केवकारले ठूलो भुमिका निर्वाह गर्छ । अहिले नेपालमा वैदेशिक लगानी भित्र्याउनको लागि ठूलो खर्च गरिरहेका छौँ’, उनले भने, ‘तर हामी स्वदेशी लगानी विकास गर्छौं भनेर निजी क्षेत्र ताप्लेजुङ जाँदा चन्द्र ढकालको व्यक्तिगत फाइदाको लागि भनियो । मैले मेरो फाइदालाई मात्रै हेर्ने भए अन्य ठाउँमा पाँच तारे होटल खोल्ने थिए ।’

आइतबारदेखि घरेलु उद्यमी मेला तथा दशैं महोत्सव आयोजना हुँदै

काठमाडौँ । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए । काठमाडौं जिल्लाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहने उनले बताए । लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उनले जानकारी दिए । घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताए । काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंसँगको सहकार्य र सहआयोजनामा गरिन लागेको यो दोस्रो जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी घरेलु उद्यमी मेला तथा दशैं महोत्सवमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरुलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरुको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताए । रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई प्रदर्शनीमार्फत स्वदेशमै केही अवसरहरु छन्, हामीले चाहेको अवस्थामा केही गरौं आफ्नै देशमा, रोजगार सिर्जना गरौं आफ्नै देशमा भन्ने मनोभावनाका साथ काम गरौं भन्ने मेलाको मुख्य ध्येय रहेको छ । नेपाल सरकारमार्फत पनि स्वदेशी उद्योग तथा उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि प्रतिष्पर्धी बजारमा स्वदेशी उत्पादनहरुलाई लागत घटाउनको लागि आवश्यक करका दरहरु देखि दर्ता, नविकरणका कार्यहरु समेत सहज गनुपर्ने अवस्था देखिएको मेला संयोजक श्रेष्ठले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरुङले देशको व्यापारघाटा न्यूनीकरण गर्नुका साथै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणमा व्यापार मेलाको उल्लेख्य भूमिका रहेको बताए । पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष तथा संघका सल्लाहकार आङदेण्डी शेर्पा, घरेलु तथा साना उद्योग संघ काठमाडौंका उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, संघ अन्तरगत महिला उद्यमी समितिकी अध्यक्ष उषा दाहाल, उपाध्यक्ष लक्ष्मी नेपाल, संघ महिला उद्यमी समितिकी सदस्य अञ्जु बस्नेत, महासंघ केन्द्रिय सदस्य सुशील तामाङ र इन्द्र बहादुर महर्जनलगायतको सहभागिता रहेको थियो ।

पूर्वअर्थमन्त्री महतको नीतिले ५० अर्बको गलैंचा उद्योग धराशायी

  काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत अर्थशास्त्री पनि हुन् । उनले अमेरिकाको इलिनोइसको कर्बोन्डेलस्थित दक्षिणी इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी आर्थिक क्षेत्रको विज्ञ हुन् । तर, उनै विज्ञ अर्थशास्त्रीले गर्दा गलैंचा व्यवसायी धराशायी हुने अवस्थामा मात्र पुगेका छैनन्, यस क्षेत्र नै ध्वस्त हुने चिन्ता बढेको छ । तत्कालीन अर्थमन्त्री डा. महतले आफ्नाे कार्यकालमा गरेकाे गलत नीतिले निर्यात व्यवसायी धराशायी हुने अवस्थामा पुगेका हुन् ।आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत उनले निर्यात व्यवसायी र गलैंचा व्यवसायीको डाढ सेक्ने काम गरे । नेपालको चुलिँदो व्यापार घाटालाई मलहम लगाउने प्रयास गरिरहेको गलैंचा व्यवसायीलाई मूल्य अभिवृद्धि कर, भन्सार कर र निर्यात वस्तुमा पाइने अनुदान कटौती गरेर त्यस क्षेत्रलाई धराशायी बनाउन अर्थमन्त्री डा. महत उद्दत भए । गलैंचा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ‘उल’ नेपालमा उत्पादन हुँदैन । यो तिब्बत र न्यूजिल्याण्डबाट आयात गरिँदै आइएकाे छ । नेपालमा उल भित्र्याइ गलैंचा बनाएपश्चात विदेशमा निर्यात हुन्छ । ९९ प्रतिशत गलैंचा विदेशमा नै बिक्री गरिन्छ । यसरी विदेशमा निर्यात हुने वस्तु निर्माणका लागि आयात गरिने कच्चा पदार्थ उल, सिलिकन आदिमा विगतका वर्षमा भन्सार कर लाग्ने थिएन । २०७९ चैत १७ गते अर्थमन्त्री बनेका डा. महतले ती कच्चा वस्तुको आयातमा कर लगाए । यसैगरी, सरकारले गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिँदै आएको थियो । जसले गलैंचा उद्योग निर्यातको एक खम्बाको रूपमा स्थापित भएको थियो । तर, अर्थका विज्ञ डा. महतले सो खम्बा ढाल्ने काम गरे । उनले आव २०८०/८१ को बजेटमार्फत गलैंचाको ऊनी धागो कटाइ, रंगाइ, धुलाइ र बुनाइमा मूल्य अभिवृद्धि लागू गरे । यसका साथै नेपालमा उत्पादन हुने वस्तु निर्यातबाट हुने आम्दानीमा लाग्ने कर ५० प्रतिशत छुट सरकारले दिँदै आएको थियो । तर, अर्थमन्त्रीले यस्तो छुट पनि नदिने नीति ल्याए । अर्थात गलैंचा व्यवसायीले निर्यातबाट हुने आम्दानीको कर शत प्रतिशत नै तिर्नुपर्ने व्यवस्था लादे । तत्कालीन अर्थमन्त्री डा. महतको  नीतिको असर: डा. महतअघिका अर्थमन्त्रीहरूले गलैंचाकाे विषयमा केही हेरफेर गरेका थिएनन् । अझ उनीहरूले त निर्यात व्यवसायीलाई प्रोत्साहन हुने, अनुदान दिनेजस्ता उदाहरणीय काम गरेका थिए । डा. महतको उक्त नीतिले गलैंचा व्यवसाय पूर्णरूपमा ध्वस्त हुने व्यवसायीहरू बताउँछन् । निर्यात व्यवसायी महासंघ र नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता संघका संस्थापक अध्यक्ष रामबहादुर गुरुङले डा. महतको उक्त नीतिले गलैंचा व्यवसायी पलायन हुने, लाखौंको रोजगारी गुम्ने र निर्यात घट्नुका साथै व्यापार घाटा बढ्ने बताए । यसका साथै उनले हाल नेपाली गलैंचा उद्योगमा ५० अर्ब बढी लगानी रहेको बताउँदै उक्त ५० अर्बको उद्योग धराशायी हुने चिन्ता व्यक्त गरे । सरकारको उक्त नीतिले विदेशी गलैंचा उत्पादकसँग नेपाली उत्पादकले प्रतिस्पर्धा गर्न कठिन भएको अध्यक्ष गुरुङकाे भनाइ छ । भन्सार कर, मूल्य अभिवृद्धि र अनुदान कटौति गर्दा उत्पादन महँगो पर्न गएको उनले बताए । उत्पादन महँगो पर्दा त्यसको मूल्य पनि बढ्ने हुनाले अन्य देशका उत्पादकसँग प्रतिस्पर्धा गर्न कठिन रहेको उनले सुनाए । यस कारणले निर्यात पनि घटिरहेको, विदेशमा माग पनि घटेको उनकाे भनाइ छ । भन्सार विभागको तथ्यांकले पनि गलैंचा निर्यात परिमाण र निर्यात रकम दुवैमा घटेको देखाएको छ । विभागका अनुसार गलैंचा निर्यात परिमाण १५.८५ प्रतिशतले घटेको छ । आव २०७९/०८० मा ४ लाख ९२ हजार ३३५ स्क्वायर मिटर गलैंचा निर्यात भएको थियो । आव ०८०/८१ मा ४ लाख १४ हजार २९२ मिटर मात्रै निर्यात भयो । अर्थात, आव ०७९/०८० मा ११ अर्ब ५० करोड रुपैयाँको गलैंचा निर्यात भएकोमा आव २०८०/०८१ मा निर्यात ८.०८ प्रतिशतले घटेको विभागले जनाएको छ । विभागका अनुसार आव ०८०/०८१ मा निर्यात १० अर्ब ५७ करोडमा खुम्चिएको छ । रोजगारी घट्यो, व्यवसायी पलायन :  नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता संघका अनुसार आव २०७९/०८० मा गलैंचा उद्योग क्षेत्रमा ७ लाख बढीले रोजगारी पाएका थिए । तर, अहिले गलैंचाको माग र उत्पादन घटेसँगै रोजगारी पनि घटेको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्लो एक वर्षमा यस क्षेत्रमा २८ प्रतिशतले राेजगारी गुमेको छ । हाल गलैंचा उत्पादन उद्याेगमा ५ लाख जनाले मात्र रोजगारी पाएका छन् । रोजागारीसँगै व्यवसायी पनि पलायन हुने अवस्था आएको अध्यक्ष गुरुङले बताए ।  ‘८ सय जति व्यवसायी छन् । एक जना व्यवसायीले कम्तीमा १० करोड लगानी गरेको छ । उक्त लगानी भएका कारणले मात्र अहिलेसम्म व्यवसायी देखिने गरी पलायन भएका छैनन् । तर केही व्यवसायीले यस क्षेत्र छोडिसकेको अवस्था छ । सरकारको नीति नसच्चिए व्यवसायी पलायन तीव्र रूपमा हुन्छ, ’ उनले भने ।