मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

काठमाडौं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ । पर्यटक आगमनका दृष्टिले यो मुख्य याम पनि हो । पर्यटनको ‘सिजन’ सुरु हुने समयमा भएको जेनजी आन्दोलनले यस क्षेत्रले अपूरणीय क्षति बेहोर्नु परेको छ । कैयौँ पर्यटकीय संरचनामा अकल्पनीय हानिनोक्सानी भएको छ । परिणामतः पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन निराशाजनक छ । विगतका दसैँमा भरिभराउ हुने बन्दीपुरका होटल तथा ‘होमस्टे’ले पर्यटक पर्खिरहेका छन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार विगतका दसैँ तथा तिहारजस्ता पर्वमा शतप्रतिशत ‘अकुपेन्सी’ हुने बन्दीपुरका होटल तथा होमस्टेमा अहिले मुस्किलले एक सय पर्यटक छन् । 'गत भदौमा आन्दोलन दैनिक एक हजारभन्दा बढी पर्यटक बन्दीपुर आइरहेका थिए, तर आन्दोलनपछि पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा घटेको छ, यसले बन्दीपुर भ्रमण वर्ष २०२५ प्रभावित हुन्छ कि भन्ने संशय पैदा भएको छ ।' आन्दोलनको असर बागलुङ कालिका मन्दिरमा पनि परेको छ । विशेष गरी बडादसैँ र चैते दसैँमा मन्दिरमा ठूलो मेला लाग्छ । तर यसपटक भने मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या करिब ५० प्रतिशतले घटेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । पर्यटकीय गन्तव्य चितवनको सौराहमा पनि यसपटक उल्लासमय वातावरण नभएको क्षेत्रीय होटल सङ्घ सौराहका पूर्वअध्यक्ष दीपक भट्टराईले बताए। उनका अनुसार जेनजीको आन्दोलनपश्चात् सौराह आउने पर्यटक उल्लेख्य रुपमा घटेका छन् । 'विगतका वर्षमा दसैँ अगाडि होटलमा ८० देखि ९० प्रतिशत बुकिङ हुन्थ्यो, आन्तरिक र विदेशी पर्यटकको ठूलो उपस्थिति हुन्थ्यो, तर अहिले सबै बुकिङ रद्द भएर पाँच प्रतिशतको हाराहारीमा सीमित भएको छ', उनले भने । उनका अनुसार सौराहमा पर्यटकस्तरीय २०० होटलमा छ हजार कोठा छन् । पूर्वअध्यक्ष भट्टराई जेनजी आन्दोलन र बाटो बिग्रिएकाले पनि होटल बुकिङ रद्द हुनेक्रम बढेको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै विदेशी पर्यटकले बुकिङ रद्द गरेका छन् । 'दसैँदेखि तिहारसम्मको समयमा विदेशी पर्यटकको बुकिङ थियो, उनीहरुले तिहारपछि सम्मको बुकिङ रद्द गरिसकेको अवस्था छ', उनले भने । क्षेत्रीय सिद्धार्थ होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठले पनि जेनजी आन्दोलनपछि लुम्बिनी आउने पर्यटक उल्लेख्य घटेको बताए । 'अक्टोबरदेखि पर्यटन सिजन हुन्छ, त्यसभन्दा अगाडि बुकिङ निकै राम्रो थियो, आन्दोलनपछि ९० प्रतिशत बुकिङ रद्द भएको छ, यो अवस्था केही समय लम्बिने देखिन्छ', उनले भने । उनका अनुसार भैरहवा, लुम्बिनी र भारतीय सीमा क्षेत्रमा गरी पर्यटक स्तरीय १४६ होटल छन् । जसमा पाँच हजार बेड सङ्ख्या छन् । उनका अनुसार आन्दोलनपछि भारतमा पनि राम्रो सन्देश नगएकाले उनीहरु पनि आउन सकेका छैनन् । जेनजी आन्दोलनको असर बर्दियामा पनि परेको छ । क्षेत्रीय होटल सङ्घ बर्दियाका अध्यक्ष मोहन चौधरीले भने,  'आन्दोलनपछि होटलको बुकिङ रद्द भएको छ, यहाँ आउने भारतीय पर्यटक पनि नआएको अवस्था छ, अहिले होटलमा पाँच प्रतिशत पनि अकुपेन्सी छैन ।' विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको सङ्ख्या घटेसँगै होटल बुकिङ पनि रद्द भएको उनको भनाइ छ । बर्दियामा ४० वटा साना र ठूला होटल तथा होमस्टेमा एक हजारको हाराहारीमा बेड सङ्ख्या छ । जेनजी आन्दोलनको प्रभाव पर्यटन राजधानी पोखरामा पनि परेको छ । दसैँको समयमा गुल्जार हुने पोखरा बजार यतिबेला सुनसान जस्तै भएको होटल सङ्घ नेपाल (हान) गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैरेको भनाइ छ । 'यसपटक हामी पर्यटकीय सिजनको उत्साहका साथ पर्खाइ र तयारीमा थियौँ, अक्टोबरदेखि डिसेम्बरसम्मको बुकिङ निकै राम्रो थियो, तर आन्दोलनपछि डिसेम्बरसम्मको होटल बुकिङ रद्द भएको अवस्था छ', उनले भने, 'यसबाट हामीलाई ठूलो क्षति पुगेको छ ।' विशेष गरी कोरोना महामारीपछि यस वर्ष नेपालको पर्यटन क्षेत्रले पुनरुत्थानको चरण पार गर्छ भन्ने अवस्थाबाट फेरि शून्य अवस्थामा आइपुगेको उनको बुझाइ छ । 'जसरी आन्दोलनका क्रममा पाँचतारे होटलबाट स्वीमिङ गर्दै गरेका पर्यटकलाई उद्धार गर्ने काम भयो र ती भिडियो भाइरल बनाइयो, यसले निकै गलत सन्देश प्रवाह भयो', उनले भने, 'त्यसबाहेक आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दीको डर र सडक अवरुद्ध भएका कारणले पनि आन्तरिक पर्यटन चलायमान हुने अवस्था भएन ।' उनले आन्दोलनका क्रममा गण्डकी प्रदेशमध्ये कास्की सबैभन्दा बढी प्रभावित भए पनि समग्र प्रदेशकै अवस्था राम्रो नभएको बताए। उनका अनुसार प्रदेशमा १६ हजार होटल र रेष्टुरेन्ट छन् । जसमा यतिबेला बुकिङ पाँच प्रतिशत पनि छैन । विगतका विभिन्न कालखण्डमा पटकपटक भइरहेका आन्दोलन र महामारीलगायतका घटनाक्रमले दक्ष जनशक्ति पलायन भइरहेको उल्लेख गर्दै उनले व्यवसायीको पनि मनोबल घटेको बताए । ‘रिकभर’को चरणमा छ पर्यटन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जेनजीको आन्दोलनपछि पर्यटक क्षेत्र ‘रिकभर’को चरणमै रहेको बताउँछन् । 'गत भदौ २३ र २४ गतेको आन्दोलनअघिसम्म विदेशबाट औसतमा दैनिक तीन हजार ३०० पर्यटक आइरहेकामा आन्दोलनको साता यो सङ्ख्या एक हजार ६०० मा झरेको थियो, यस साता भने दुई हजार ९०० पर्यटक नेपाल आएका छन्', जोशीले भने, 'त्यसैले यो पर्यटन क्षेत्रका लागि रिकभरकै समय हो ।' सिइओ जोशीले हरेक सङ्कटमा सरकार र निजीक्षेत्र एक भएर पर्यटन पुनरुत्थानमा लागेको, नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तरराष्ट्रिय समुदायमा पुगेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्यबिना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैँ खुला रहेको बताए । उनले भने, 'गत भदौमा भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्याहरु समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैँ तयार छ ।' त्यसैगरी मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमै पनि पर्यटनले रिकभरी गर्दै गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताए । उनले भने, 'पर्यटनको रिकभरी सँगसँगै दिगो रुपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ, पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकाले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ ।' कहाँकहाँ भयो क्षति ? त भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा पर्यटकीय पूर्वाधारमाथि आक्रमण भयो । प्रदर्शनकारीले होटलहरुमा तोडफोड, लुटपाट र आगजनी गरे । होटल सङ्घ नेपाल (हान)का अनुसार आन्दोलनका क्रममा होटलमाथि भएको तोडफोड, लुटपाट र आगजनीका कारण रु २५ अर्ब बराबरको क्षति भएको छ । आन्दोलनका क्रममा बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा भएको आक्रमणपछि बन्द भएको छ । होटलका अनुसार होटल पुनःनिर्माण भई सञ्चालनमा आउनका लागि करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । होटलको क्यासिनो, रेष्टुरेन्ट तथा प्रवेशद्वारमा तोडफोड र आगजनी गरिएको छ । साथै केही सवारीसाधनमा आगजनी तथा तोडफोड गरिएको छ । काठमाडौंमा रहेको अन्तरराष्ट्रिय चेन होटल हिल्टनको मात्रै रु आठ अर्ब बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्बद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमा आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ । त्यसैगरी काठमाडौंको वर्णबास होटल पनि आक्रमणको सिकार भएको छ । आइएमई समूहले निर्माण गरेको चन्द्रागिरि केबलकारको बेसस्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केबलकार बन्द छ । सोही समूहले सञ्चालन गरेको मौलाकालिका केबलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केबलकार मर्मतपछि तत्कालै सञ्चालनमा आउने सम्भावना भए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको आइएमई समूहले सातै प्रदेशमा केबलकार निर्माण गर्ने योजना अगाडि सारेको थियो । सोही क्रममा पूर्वको पाथीभरामा केबलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । रासस

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धन र संवद्र्धन अपरिहार्य भएको बताएकी छन् ।   ४६ औँ विश्व पर्यटन दिवसका अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण हाम्रो देश पर्यटकहरूको लागि आकर्षक गन्तव्य बनेको बताएकी छन् ।  प्रधानमन्त्रीले सन्देशमा भनेकी छन्, 'पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ,  सुशासनको आकांक्षासहित भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल ‘रिकभरी’ सुरु भइसकेको छ ।'  

जेनजी प्रदर्शनपछि पर्यटन विकासमा नयाँ आशाको सञ्चार

पर्यटन हाम्रो देशको अर्थतन्त्र, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । नेपाल पर्यटकीय सम्भावनाको हिसाबले प्रशस्त अवसरहरू रहेका छन् । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरूको बीचमा रहेको नेपालले ती मुलुकहरूसँगको व्यापारमा कुनै प्रतिस्पर्धा गर्न सक्दैन तर पर्यटकीय सम्भावनाका दृष्टिले भने ती मुलुकहरुबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आकर्षित गराउन सक्ने क्षमता रहेको छ । यहाँको भौगोलिक विविधता, सांस्कृतिक विशिष्टता र ऐतिहासिक धरोहरहरुले पर्यटकहरूलाई भरपूर आनन्द दिन सक्छन् । ‘नेचर, कल्चर र एडभञ्चर’मा नेपाल विश्वमै समृद्ध रहेको छ । तथापि, सम्भावनाको २० प्रतिशत पनि हामीले उपयोग गर्न सकेका छैनौँ ।  नेपालमा २००७ सालदेखि नै पर्यटनको विकास सुरु भए पनि ७५ वर्षको अवधिमा जति लाभ लिन सक्नुपथ्र्यो, त्यो हुन सकेको छैन । यस बीचमा केही कामहरू नभएका भने होइनन् तर ती स्वस्फुर्त रुपमा भएका कार्यले राम्रो परिणाम दिन सकेका छैनन् । हामीले अहिलेसम्म पर्यटकीय पूर्वाधारमा जोड दिन सकेका छैनौँ भने कस्ता पर्यटक भित्र्याउने र उनीहरुको बसाइलाई कसरी लम्ब्याउन सकिन्छ भन्नेतर्फ ध्यान पुग्न सकेको छैन । अहिले पनि हामी काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीकै वरपर आठ–दश दिन पर्यटकलाई सीमित गराइरहेका छौँ । यसले पर्यटनको लाभ तल्लो तहसम्म पुग्न सकेको छैन ।  वर्षमा ३५–४० लाख पर्यटकलाई विश्वस्तरको सेवा दिनसक्ने हाम्रा होटलहरू छन् तर हामी अझै पनि सानो आकारमा आएको पर्यटकमै रमाइरहेका छौँ । हामीसँग पर्यटकलाई राख्ने, भ्रमण गराउने क्षमता नभएको पनि होइन । आवधिक १६ औँ योजनाले जम्मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । राजधानीबाहेक भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकिएको छैन । तीन तहका सरकारहरुबीच समन्वय र सहकार्य हुन सकिरहेको छैन । सङ्घीय सरकारकै कुरा गर्दा पनि एउटा सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गर्छ, त्यसलगत्तै बनेको अर्को सरकारले सन् २०२५ देखि २०३५ को दशकलाई पर्यटन दशक भन्छ । मन्त्री फेरिएपच्छिे कार्यक्रमहरु फेरिन्छन् । कुनै सरकारहरु पनि गम्भीरतापूर्वक काम गर्नेभन्दा तदर्थवादमै अल्मिलिएका छन् ।  नेपालको अर्थतन्त्रको मेरुदण्ड भनिने पर्यटन क्षेत्रबाट राज्यले लाभ लिन सकिरहेको छैन ।  वर्षमा छिमेकी मुलुक चीनका झण्डै १८–२० करोड मानिस विश्व भ्रमण गर्दछन् भने भारतका पनि आठ–दश करोड नागरिकले अन्य देशको भ्रमणमा जाने गर्दछन् । उनीहरुले चाहेको सबै कुरा हामीसँग छ । त्यसको दुई प्रतिशत मात्रै नेपालमा भित्र्याउन सक्ने हो भने पनि ५०–६० लाख पर्यटक त यी दुई मुलुकबाट मात्रै ल्याउन सकिन्छ । हवाई तथा सडक कनेक्टिभिटी राम्रो नहुँदा यो अवसरलाई उपयोग हुन सकेको छैन । यसतर्फ सरकारको ध्यान गएको छैन ।  समृद्धिको मुख्य आधार भनेकै पर्यटन क्षेत्र हो । यसले राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउँछ, रोजगारी सिर्जना गर्छ र समृद्धि ल्याउँछ । एक जना पर्यटक नेपाल भित्रिनु भनेको कम्तिमा १० जनाले प्रत्यक्ष/अप्रत्यक्ष लाभ लिन सक्छन् भन्ने अन्तरराष्ट्रिय मान्यता रहेको छ । आफ्नो संस्कृति, प्रकृति र आत्मीयता नै हाम्रो पर्यटनको मूल आधार हो भन्ने कुरालाई हामीले राम्ररी बुझ्न नसक्दा यसबाट लाभ लिन सकेका छैनौँ । देशमा व्यवस्था फेरि पनि अवस्था नफेरिनुको मुख्य कारण हामीले हाम्रै सम्पदा, क्षमता र अवसरलाई आत्मसाथ गर्न नसक्नु हो । यसले गर्दा पटकपटक राजनीतिक परिवर्तन हुँदा पनि जनताको जीवनस्तरमा तात्विक सुधार आउन सकेको छैन ।   जेनजी प्रदर्शनपछि पर्यटन विकासको सम्भावना  नेपालको इतिहासमा विभिन्न समयमा भएका प्रदर्शनहरूले शासन व्यवस्थामा मात्र होइन, सामाजिक चेतनामा पनि ठूलो प्रभाव पारेका छन् । नेपालमा लोकतन्त्र स्थापनापछि पनि भ्रष्टाचार, अनियमितता र जवाफदेहिताको अभाव गहिरो समस्या बनेको थियो । राजनीति, प्रशासन र सार्वजनिक निकायहरूमा बढ्दो भ्रष्टाचार र सत्ताको दुरुपयोगप्रति नागरिक, विशेषगरी युवा पुस्तामा असन्तोष बढेको थियो । यही पृष्ठभूमिमा गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ पार्दै भ्रष्टाचार नियन्त्रणसम्बन्धी जनचेतना र राजनीतिमा युवाको प्रभावकारी सहभागितालाई दबाब सिर्जना गरेको छ ।  लोकतन्त्रलाई बचाउन र सुदृढ बनाउन भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ भन्ने सन्देशसँगै युवापुस्ताले गरेको सक्रियता र बलिदानले पारदर्शी शासन र जवाफदेहिताको बाटो खुलाउन सक्दछ भन्ने उदाहरण विश्व समुदायलाई दिन सफल भएको छ । युवापुस्ताको नेतृत्वमा भएको यस प्रदर्शनले भ्रष्टाचारबिना लोकतन्त्र सम्भव छैन भन्ने चेतना फैलाएको छ । यद्यपि, यस प्रदर्शनका क्रममा ७४ जना युवाको अकालमै मृत्यु र अर्बौं मूल्यका सार्वजनिक र निजी सम्पत्ती ध्वस्त भएका छन् । यति ठूलो जनधनको क्षति हुँदा पनि नेपाल भ्रमणमा रहेका पर्यटकहरु कसैलाई केही भएको छैन । भदौ १६ देखि २३ गतेसम्म दैनिक तीन हजारको सङ्ख्यामा विदेशी पर्यटन नेपाल भित्रिएका थिए । एक हप्ताको बीचमा करिब २५ हजार ६०० पर्यटकलाई २३ देखि २६ गतेसम्म हिँडडुलमा केही असहज भए पनि २६ गते नयाँ सरकार गठनपछि अवस्था सामान्यीकरण भएकाले निर्धक्कसँग भ्रमण गर्न कुनै समस्या भएको थिएन ।  नेपालमा सामान्यतयाः सेप्टेम्बरदेखि पर्यटक आगमनको सिजन सुरु हुन्छ । जेनजी प्रदर्शनपछि भारत, अमेरिका, क्यानडालगायत केही देशहरुले ट्राभल एडभाइजरी जारी गरी आफ्ना नागरिकहरुलाई नेपाल घुम्न जाँदा अवस्था बुझेर मात्र जान भनेका कारण ती देशका पर्यटकहरु केहीले होटल बुकिङ रद्द गरेको जानकारी गराएका छन् । पक्कै पनि यसले केही असर त पुर्याउँछ तर विगतमा पनि यस्ता विकराल अवस्थामा छोटो अवधिमै हामीले पर्यटनलाई पुर्नजीवन दिन सकेका छौँ । विभिन्न राजनीतिक प्रदर्शनदेखि गोरखा भूकम्प, कोरोना महामारीपछि पनि छोटो अवधिमै नेपालले लय लिन सकेको भन्दै विश्व समुदायले प्रशंसा गरेका थिए । यस पटकको जेनजी प्रदर्शनबाट तत्काल केही प्रभाव परे पनि यसले दिएको अवसरलाई उपयोग गरी पर्यटनलाई नयाँ ढङ्गबाट अगाडि लैजाने समय आएको छ । यतिबेला देशभित्र सबै सरोकारवाला निकायहरु र आम नागरिकहरुबीच सहकार्य र सद्भावको खाँचो रहेको छ भने विदेशमा रहेका नेपाली दूतावास, नियोग, काउन्सिलर र गैरआवासीय नेपाली सङ्घमा आबद्ध सबैले नेपाल सुरक्षित छ भन्ने सन्देश र पर्यटकीय सम्पदाहरुको महत्वका बारेमा जानकारी गराउन आवश्यक छ । नेपाली जनताको आत्मीयता, प्राकृतिक सुन्दरताको महिमा र विविध संस्कृतिको धरोहरलाई पर्यटनमार्फत प्रचारप्रसार गर्न सकिन्छ । पर्यटनको प्रवद्र्धनमा निजी क्षेत्रले सुरुदेखि स्वदेश र विदेशमा प्रचारात्मक अभियानलाई अभियानकै रुपमा अगाडि बढाउँदै आएका छन् । हरेक नागरिकले आफ्नो घर, गाउँ, संस्कृति र वातावरणलाई पर्यटकमैत्री बनाउन योगदान दिनुपर्छ । हाम्रो संस्कृति, कला र परम्पराको संरक्षण गर्दै अन्तरराष्ट्रियस्तरमा प्रचार गर्नुपर्छ । दिगो पर्यटनलाई प्राथमिकता दिँदा मात्र भावी पुस्ताले पनि यस क्षेत्रको लाभ पाउन सक्छन् । जेनजी प्रदर्शनपछि पर्यटनका नयाँ सम्भावना र प्रभावहरू देखिएका छन् । अब मुलुकमा राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य र युवा पुस्ताको नेतृत्वमा शासन सञ्चालन हुन्छ भन्ने विश्वास बढेको छ । पर्यटकहरूले सुरक्षित वातावरण खोज्ने भएकाले स्थिरता पर्यटन वृद्धिको प्रमुख आधार मान्न सकिन्छ । प्रदर्शनपछि सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण भएमा नेपालको छवि अन्तरराष्ट्रिय जगत्मा उज्जवल हुन्छ । नयाँ पुस्ताले प्राविधिक र सिर्जनात्मक सोचमार्फत आधुनिक पर्यटन विकासमा योगदान पुर्याउन सक्छन् । प्राकृतिक सम्पदा, पर्व–परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्न सकिएमा सांस्कृतिक पर्यटनलाई मजबुत बनाउन सहयोग पुग्छ । यस प्रदर्शनपछि अन्तरराष्ट्रिय जगत्मा पक्कै पनि नेपालको छवि बढ्नुको साथै लगानीको सम्भावना पनि बढेर गएको छ । यसले नेपालको पहिचान स्वच्छ, पारदर्शी र नयाँ पुस्ताद्वारा नेतृत्व भएको देखिन्छ भने अन्तरराष्ट्रिय लगानी र पर्यटक आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ । पारदर्शिता, सुशासन, युवाको नवप्रवर्तन र सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेमा नेपालले दिगो र विश्वस्तरीय पर्यटन गन्तव्य बन्ने सम्भावना उच्च हुन्छ । रासस (पर्यटन व्यवसायी शाहसँग गरिएको कुराकानीमा आधारित)