चन्द्रागिरि केबलकार दैनिक एक घण्टा बन्द, लन्च ब्रेकको व्यवस्था लागु गर्ने
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले चैत ६ गते(आइतबार)देखि लागु हुने गरी दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको छ । नयाँ व्यवस्था अनुसार दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्म चन्द्रागिरि केबलकार बन्द हुनेछ । कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहिसमय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो । यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुने छैैन । केबलकार वाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु जस्तैः–रेस्टुरेन्ट, बार, वालउद्यान नियमति संचालन हुनेछन् । स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् ।
विदेशी चेनको मेरिओट फेयरफिल्ड उद्घाटन बिहीबार, पाँचतारे सरहको सुविधा भएपनि तीन तारेकाे अनुमति
फाेटाे सम्बन्धित हाेटलकाे वेवसाइटबाट । काठमाडौं । नेपालमा डेढ दशकपछि भित्रिएको पहिलो विदेशी चेनको होटल फेरियफिल्ड म्यारिओटमा पाँचतारे सरहको सेवा सुविधा रहेको भएपनि यसले स्तर वर्गीकरणमा भने तीन तारे स्तरको मात्रै प्रमाणपत्र पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल अन्र्तगतको पर्यटन विभागले यो होटललाई शुक्रबार तीन तारे स्तरमा वर्गीकरणको प्रमाणपत्र दिएको हो । यो होटलले भने पाँचतारे सरहकै सेवा सुविधा रहेको दाबी गरेको छ । होटलले शुक्रबार पर्यटन विभागबाट स्तर वर्गीकरणको प्रमाणपत्र पाएकोले यसको आगामी बिहीबार (चैत १०) गते उद्घाटन गर्ने भएको छ । होटलले औपचारिक रूपमा सेवा सुरुको उद्घाटन बिहीबार गर्न लागेको होटलकै एक कर्मचारीले जानकारी दिए । अमेरिकी होटल चेन मेरिओटसँगको साझेदारीमा मलिराम शिवकुमार (एमएस) ग्रुपले ठमेलमा चारतारे होटल बनाउने भनेर सुरु गरेको भएपनि औपचारिक रुपमा सुरुवात गर्दा भने आवश्यक सर्त पूरा हुन नसक्दा तीन तारे स्तरको भएको उल्लेख छ । होटलमा स्वीमिङ पुल, बाहिरी बगैचासहितका सुविधा नभएको कारण चारतारेको स्तर नपुगेको पनि पर्यटन विभागले जानकारी दिएको छ । एक अर्ब १५ करोड रुपैयाँ लगानी रहेको यो होटलमा ११० वटा कोठा रहेको उल्लेख छ । होटलको निर्माण सकिएकोले पहिलो चरणमा औपचारिक उद्घाटन गर्ने समय तय भएको होटलले जानकारी दिएको छ । यो होटलले ठमेल प्रवेश गर्ने पर्यटकलाई स्तरीय सेवा र सुविधा दिने भएको छ । नेपालमा विदेशी चेनको होटल हुँदा पर्यटकले पनि अन्तर्राष्ट्रिय स्तरकै सेवा र सुविधा पाउने उल्लेख छ । नेपाल हस्पिटालिटी ग्रुपको नामबाट संचालन भएको यो होटलपछि एमएस ग्रुपले एभरेष्ट हस्पिटालिटी एण्ड होटलको नामबाट नक्सालमा अर्को पाँचतारे होटलको निर्माण गर्ने भएको छ । यो होटल निर्माणको काम पनि अगाडि बढिसकेको उल्लेख छ । यो पाँचतारे होटलमा पनि मेरिओट फेयरफिल्डकै चेन हुने उल्लेख छ । हाल नेपालमा विदेशी चेनमा सञ्चालनमा भएका होटलमा सोल्टी होटल सोल्टी क्राउन प्लाजा, तारागाँउ होटल ह्यात रिजेन्सी, र्याडिसन होटल र्याडिसन ग्रुप र पोखराको फूलबारी होटल क्लार्क ग्रुपमा संचालन भएको छ । नयाँ ब्राण्डमा भने धमाधम नयाँ पाँचतारे होटल खुल्ने घोषणा भने भइरहेको छ ।
पाटा नेपालले शुरु गर्यो ‘पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७’
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धामार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमूलक अभियानको रूपमा ‘पाटा नेपाल युथ ट्यालेन्ट क्वेस्ट २०१७’ शुरु गरेको छ । सो अभियान विद्यार्थीहरूका लागि आफ्नो योग्यता, क्षमता र सीप प्रस्तुत गरी महत्वपूर्ण उपलब्धिहरू प्राप्त गर्न एक उपयुक्त माध्यमको रूपमा लिइएको छ । यस अभियानअन्तर्गत ‘पब्लिक स्पिकिङ’ शीर्षकको पहिलो प्रतियोगिता बुधबार काठमाडौंको मन्डिखाटार स्थित गेट कलेजमा सम्पन्न भएको छ, जसमा पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्था गेट, नाथम, क्याथ, एनसीटीटीएम, मिडभ्याली, पब्लिक युथ र आईएसटीबाट १५ जना विद्यार्थीले भाग लिएका थिए । सहभागीमध्ये आईएसटी कलेजकी छात्रा पेरिस्मा शर्मा विजयी भएकी छन् । विजेताले पुरस्कारस्वरूप आगामी १८ देखि २१ चैतमा श्रीलंकामा आयोजना हुने पाटा एनुअल समिटमा पाटा नेपालको सौजन्यमा सहभागी हुने अवसर प्राप्त गरेकी छन् । सो कार्यक्रमको उद्घाटनमा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले स्वागत मन्तव्य राख्दै पाटा नेपालको दक्ष जनशक्ति निर्माण तथा नेपाली पर्यटन क्षेत्रका नयाँ पुस्तामा नेतृत्व सीप अभिवृद्धि गर्ने उद्देश्यले पाटा नेपालले यो अभियान अघिसारेको बताए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव दीपेन्द्र पुरुष ढकाल, नाथम कलेजका भूपू प्राचार्य उज्ज्वल सत्याल र भोग एड एन्ड इभेन्ट म्यानेजम्यान्टका प्रमुख कार्यकारी अधिकृत प्रभात रिमालले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए । दीपेन्द्र पुरुष ढकालले पाटा नेपालले नेपाली पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण एवं आवश्यक पहल अघि सारेको बताउँदै नेपाललाई अन्य गन्तव्यहरूसँगको प्याकेजमा भन्दा एक आत्मनिर्भर गन्तव्यको रूपमा प्रवद्र्धन गर्नुपर्ने खाँचो रहेको औंल्याएका छन् । यस अभियानअन्तर्गत पब्लिक स्पिकिङ, कन्टेन्ट राइटिङ, टुरिजम प्रोजेक्ट डेभलपमेन्ट, टेक फर टुरिजम र प्रोमो भिडियो गरी विभिन्न पाँचवटा विधामा अन्तर कलेज प्रतियोगिता सञ्चालन गरिने पाटा नेपालका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले जानकारी दिएका छन् ।