सर्वोच्च शिखर आरोहणमा आधुनिक प्रविधि, हरेक आरोहीले ३० हजारपर्ने जीपीएस बोक्नैपर्ने
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा आधुनिक प्रविधिको प्रयोग सुरु भएको छ । हिमाल आरोहणमा जाने अरोहीलाई राष्ट्रिय पर्वतीय पर्यटन प्रतिष्ठानले हरेक घण्टा मौसमको जानकारी गराउने भएको छ । एप्स बनाएर मौसमको जानकारी छिछिनमै दिने प्रतिष्ठानकी अध्यक्ष लाक्पाफूटी शेर्पाले जानकारी दिइन् । उनका अनुसार हरेक घण्टाको मौसम मोवाइल एप्सबाट, इमेलबाट, एसएमएसबाट, च्याट पनि दिने भएका छौ । नेपाल सरकारकै बजेट खर्चेर हामीले मौसमविद्लाई पनि लिएका छौं । यो पटक सगरमाथा आरोहणबाट सुरु भएको यो अभियान अब देशैभरका हिमालका लागि प्रयोग हुने पनि उनको भनाइ छ । पछिल्लो समय पर्यटन विभागले पनि यही सिजनबाट सगरमाथा आरोहणमा जाने आराहीका लागि ग्लोवल पोजिसनिङ सिस्टम (जीपीएस) अनिवार्य गरेको छ । यसले पनि हिमाल आरोहणमा प्रविधिले फड्को मारेको विभागका प्रवक्ता दुर्गादत्त ढकालको भनाइ छ । उनका अनुसार सरकारले यो वर्षदेखि सगरमाथा आरोहणको आधिकारिकता पुष्टि गर्ने आधारका रूपमा जीपीएसलाई लिएको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले काठमाडौंमा बसेर जीपीएसमार्फत सगरमाथा आरोहणको आधिकारिकता जाँच गर्ने भएको छ । यसकै आधारमा हिमाल अरोहणमा कुनै पनि झुटो विवरण नआओस भनेर सचेतना अपनाएको पनि उनले जानकारी दिए । विभागले यही वर्षको सिजन अर्थात आगामी मे महिनामा हुने सगरमाथा आरोहणका लागि हरेक आरोहीका लागि एक जीपीएस अनिवार्य भैसकेको र व्रिफिङमा आउने आरोहीले लिएर आउन पनि थालेका छन् । ढकालका अनुसार अब सगरमाथा तथा अन्य कुनै पनि हिमाल आराहणका लागि कुनै पनि पर्वतारोहीले झुटो विवरण दिन सक्दैनन, हामीले हरेक गतिविधि निगरानी गर्न थालिसकेका छौ । मन्त्रालयले जीपीएस सिष्टम अनिवार्य गरेपछि आरोहणको आधिकारिकता पुष्टि गर्न पनि सजिलो हुने भएको छ । प्रति आरोही ३० हजारको जीपीएस विभागको यो निर्णपछि हरेक आरोहीले ३० हजार मूल्य पर्ने जीपीएस अनिवार्य बोक्नुपर्ने भएको छ । बजारमा किन्न पाइने यो जीपीएसको आधिकारिकता जाँचका लागि भने विभागले पनि ६० हजारको इक्वीपमेन्ट जडान गर्ने भएको छ । विभागका अनुसार आरोहीलाई जीपीएस अनिवार्य गरेपछि विभागले पनि सोही अनुसारको डाटा रिड गर्ने प्रविधिलाई राख्ने भएको छ । आरोहणको वैज्ञानिक मापन गर्न जीपीएस विभागले हिमाल आरोहणलाई वैज्ञानिक बनाउन जीपीएस प्रयोग अनिवार्य गर्ने निर्णय गरेकोले अरोहण टोलीलाई पनि सोही अनुसारको व्रिफिङ गराइरहेको ढकालले जानकारी दिए । उनका अनुसार विभागले पर्यटन ऐन २०३५ पर्वतारोहण नियमावली २०६५ अनुसार पर्वतारोहणसम्बन्धी काम अघि गर्दै आएको छ । विभागले सम्पर्क अधिकृतले पेस गरेको पर्वातारोहणसम्बन्धी प्रतिवेदन, पर्वतारोही दलका टोली नेताले पेस गरेको प्रतिवेदन, आरोहणको फोटो र सम्बन्धित एजेन्सीको सिफारिसका आधारमा प्रमाणपत्र उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान छ । यो नियम हुँदाहुँदै पनि पूर्ण पालना हुन नसक्दा र सरकारी वेवास्थाले झुटो विवरणबाट पनि आरोहण प्रमाणपत्र जारी हुने गरेको थियो । विभागले आरोहण व्यवस्थित गर्न हिमालको चुचुरोमा पुगेको हो वा होइन भन्ने आधार वैज्ञानिक बनाउन पनि जीपीएस प्रविधि अपनाएको उनको भनाइ छ । पछिल्लो समय हिमाल आरोहण गरी कीर्तिमान बटुल्ने र बिदेसिनेको संख्या बढ्दै गएको छ । हिमालबाटै नाम कमाएका कीर्तिमानीहरू अहिले पाँच प्रतिशत मात्र नेपालमा रहेको दाबी पर्यटन व्यवसायीको छ । बाँकी ९५ प्रतिशत विदेशी नागरिक छन् । २०३५ सालमा ऐन निर्माण भए पनि आरोहणलाई थप व्यवस्थित बनाउन नसक्दा आरोहणको छवि राम्रो हुन नसकेको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाको भनाइ छ । उनका अनुसार हिमालमा धेरै ठग बढ्न थालेकाले सरकारले यसमा चासो दिनुपर्ने र व्यवस्थित गर्नुपर्ने अवस्था आएको हो । सरकारले ल्याएको यो कामले पर्वतारोहीलाई नै लाभ हुने पनि उनको बुझाई छ । के काम गर्न जीपीएसले सामान्यया उचाई र दिशा मापन गर्न प्रयोग हुने जीपीएस पर्यटन विभागले पनि आधुनिक प्रविधिका रुपमा आरोहणमा प्रयोग गर्ने भएको छ । जीपीएसले आरोहीको लोकेशन, रुट, उचाइ, समय र भिडियोसमेत हेर्न सकिन्छ । जीपीएसमै क्यामेरा पनि जडान हुने भएकोले फोटो र भिडियो हेर्न मिल्ने विभागले जानकारी दिएको छ । यो प्रविधि नेपालको आरोहण इतिहासमै पहिलोपटक प्रयोग हुुन लागेको हो । विभागले मौलिक तरङ् प्रालिसँगको सहकार्यमा जीपीएस जडान र यसको जाँच गर्ने उल्लेख छ । झुटा विवरण बनाउने एजेन्सीलाई कारवाही पर्यटन विभागले झुटो विवरण पेश गरेर आरोहण अनुमति लिने भारतीय दम्पती पठाउने एजेन्सी मकालु एड्भेञ्चरलाई कारवाही गरेको छ । विभागका प्रवक्ता ढकाल अनुुसुार एजेन्सी आफैले गरेका गल्तिका कारण उनको आरोहणमा पठाउँदाको ४ हजार डलर गार्वेज डिपोजिट जफत भएको छ । यसको छविमा दाग लागेको छ भने विभाको निगरानीमा एजेन्सीलाई राखिएको पनि ढकालको भनाइ छ । उनका अनुसार एजेन्सीको विरुद्ध उजुरी परेमा थप कारवाही गर्न सकिने पनि उल्लेख छ । भारतीय दम्पनीको भने विभागले आरोहण प्रमाणपत्र खारेज गरेको छ ।
मनकामना यात्रा अब टुर प्याकेजमार्फत, धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै
काठमाडौं । मनकामना केवलकारको यात्रा अब टुर प्याकेजमार्फत हुने भएको छ । धार्मिक पर्यटकको लागि आकर्षक गन्तव्य बन्न थालेकोले मनाकामन दर्शनले नै ट्राभल तथा टुर कम्पनीको लागि प्रस्ताव मागेको छ । मनकामनाले इच्छुक कम्पनीलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ । नेपालको पहिलो केवलकार मनकामनामा केबलकारमा धार्मिक पर्यटक तथा विदेशी पर्यटक बढ्दै जान थालेलको टुर एजेन्सीमार्फत प्याकेज लिएर जाने व्यवस्था गर्न लागिएको मनकामना केवलकारको भनाइ छ । मनाकामने काकडभित्ता, जनकपुर, बीरगन्ज, हेटौडा, बुटवल, धनगढी र नेपालगन्जका लागि यस्तो टुर कम्पनी आवश्यक परेको उल्लेख छ । इच्छुक कम्पनीले आवश्यक कागजात पेश गरेर सेवा दिन सक्ने पनि मनकामनाको भनाइ छ ।
स्वरूप बदल्दै ठमेल, सोलार र सीसी क्यामेरामै ६५ लाख खर्चदै, बार्षिक बजेट ८५ लाख पुग्याे
काठमाडौं । पर्यटकीय क्षेत्र ठमेल सुधार गरेर यसको छवि परिवर्तन हुने भएको छ । सधै फोहोर, साँघुरो बाटो, हकरको तानातान, सुरक्षा नहुने र बेलुकाको समयमा बत्ति नहुने गुनासो बढ्ने गरेको ठमेल सुधारतर्फ उन्मुख भएको छ । ठमेल क्षेत्रको सुधारका गर्न ठमेल पर्यटन विकास परिषद्को समन्वयमा आधा दर्जन योजना अगाडि बढिरहेका छन् । परिषद्का अध्यक्ष समिर गुरुङका अनुसार तत्कालै ६५ लाख रुपैयाँ खर्च गरेर ठमेल सुधाको काम अगाडि बढाइदै छ । यो रकम सोलार बत्ति र सीसी क्यामेरामा मात्रै खर्च हुने भएको छ । उनका अनुसार अब ठमेल क्षेत्रको निगरानी ४५ वटा सीसी क्यामेराबाट हुने भएको छ । हाल १९ वटा क्यामेरा आवश्यक मर्मतसहित सञ्चालनमा रहेको र एक महिनाभित्रमै थप हुनेसहितको क्यामेरा गरी ४५ वटा पुग्ने गुरुङले जानकारी दिए । उनका अनुसार ठमेल क्षेत्रको सुरक्षा निगरानीका लागि महानगर, प्रहरी, पर्यटन विभाग सहितका विभिन्न निकायको समन्वयमा यो सुविधा दिइएको हो । ठमेलको क्षेत्रको विकास गर्न गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति आएपछि यसले पुरानै योजनालाई कार्यान्वयन गर्ने क्रममा ठमेल सुधारको काम अगाडि बढेको उनको भनाइ छ । नेपाल आएका ८० प्रतिशत पर्यटक पुग्ने ठमेलको सुधार र विकास आवश्य छ । विदेशमा हेर्ने हो भने यस्तै क्षेत्र निकै व्यवस्थित र भव्य पर्यटकीय गन्तव्य भैसकेको छ । नेपालमा भने काठमाडौंको एउटै मात्र पर्यटकीय क्षेत्र ठमेल विकास गर्न पनि दशकौ देखिके प्रयास अझै पूरा हुन सकेको छैन, गुरुङले भने । यो काम गुरुङ आएपछि मात्रै भएको भने हैन, यस अघि भएको योजना र कार्यक्रमलाई निरन्तरता दिने र अधुरा काम पूरा गर्ने नीति अनुसार काम गर्दा आफ्नो समयमा कार्यान्वयन हुन पुगेको गुरुङको भनाइ छ । गुरुङका अनुसार ठमेल क्षेत्रको सुधारका लागि सीसी क्यामेर र सोलार मात्रै नभएर बाटो, ढल, व्यवस्थित सवारी, सरसफाइका काम पनि काम अगाडि बढेको छ । अब साँझ पर्ने वित्तिकै ठमेलमा अन्धाकार हुँदैन, गुरुङले भने । बाटो मर्मतमा पनि ३५ प्रतिशत रकम स्थानियको र ६५ प्रतिशत रकम सरकारी निकायका गरेर काम सुरु भइरहेको पनि उनले जानकारी दिए । ‘ठमेलको विकासमा एउटा टोली र टिमले गरेर मात्रै हुँदैन, यसका लागि विभिन्न निकायको समन्वय आवश्यक पर्छ’, ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष रामशरण थपलियाले भने । उनका अनुसार ठमेलको विकासमा काम नहुने हैन समन्वयमा कमजोरी भएको छ । ५० हजार रुपैयाँमा हुने ठमेलको बजेट अहिले सरकारी निकायबाट विनियोजन हुने नै ८५ लाख पुगेको छ । यो रकमको उचित सदुपयोग गर्न सकिए ठमेलको स्वरूप साच्चै बदलिदैँ जाने पनि थपलियाको भनाइ छ । थपलियाका अनुसार यहाँको विकास निर्माण नुहुनुमा पनि एसीयाली विकास बैंक (एडिवी) सहयोग लाई स्वीकार गरेर कार्यान्वयन गर्न नसक्नु हो उनले भने । राजनीतिक स्वार्थ नहुने, समन्वय हुने र व्यक्तिगत स्वार्थ नहुने हो भने ठमेलको सुधार सहजै हुने पनि थपलियाको भनाइ छ ।