निगमको आन्तरिक टिकेटलाई क्यास डिपोजिटले समस्या, ५ लाखसम्मको बैंक ग्यारेन्टीको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक टिकेटमा क्सासै डिपोजिट गर्नुपर्ने अन्यथा ट्राभल एजेन्सीले टिकटै बेच्न नपाउँने समस्या रहेको छ । निगमको आन्तरिक उडानका टिकेट बेच्न टिकेटिङ व्यवसायीले अनिवार्य रूपमा कम्तिमा १ लाख रुपैयाँ नगद वायुसेवा निगममा डिपोजिट गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाले व्यवसायीलाई टिकेटिङमा सहजता नभएर समस्या थपेको एरोलिना ट्राभलका अध्यक्ष यमबहादुर खड्काले बताए । उनका अनुसार यो समस्याका कारण कतिपय व्यवसायीले निमगको टिकेट विक्री नै गर्दैनन् । आन्तर्राष्ट्रिय उडानको टिकेट भने अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयटा)को सिस्टममा रहेको छ । आन्तरिक उडानको टिकेटमा एक साता वा १५ दिनमा पेमेन्ट गर्ने गरी बैंक ग्यारेन्टीमा टिकेट दिन निगमसँमक्ष पटकपटक माग गर्दा पनि नपाएको उनको भनाइ छ । व्यवसायीले कराउँदा कराउँदा थाकिसेका छन् तर निगमले सहजताको बाटो नै खोजेन र निगमको आन्तरिक उडानको टिकेट धेरै व्यवासायीले बेच्दैनन्, उनले भने । धेरै जसो व्यवसायीले निगमको आन्तरिक उडानको टिकेट नबेच्नुको कारण पनि निगमले बैंक ग्यारेन्टीमा विश्वास नगरेर हो । हामीले आयटामार्फत १ करोडको टिकेट बैंक ग्यारेन्टीबाट बेचिरहेका छौ । निगमले भने एक लाखलाई पनि विश्वास नगर्ने गुनासो व्यवसायीको छ । आन्तरिक उडानको यति, बुद्ध, सिम्रिक, तारासहितका अन्य वायुसेवाले भने बैंक ग्यारेन्टीमा टिकेट दिएका छन् । सोही कारणले निगम बाहेकको अन्य वायुसेवाको टिकेट जुनसुकै एजेन्सीबाट पनि पाइन्छ । ५ लाखको बैंक ग्यारेन्टीको व्यवस्था गर्दै छौ — निगम वायुसेवा निगमले भने आन्तरिक उडानका टिकेटलाई पनि सहजीकरण गर्ने र व्यवसायीको अपेच्छा अनुसार नै गर्ने गरी बैंक ग्यारेन्टीमा दिने व्यवस्था गर्न लागेको जानकारी दिएको छ । निगमका कमर्सियल डाइरेक्टर जनक कालाखेतीका अनुसार निगमले ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी लिएर टिकेट दिने भएको छ । उनका अनुसार निगमले यसका लागि आवश्यक तयारी गरिरहेको र निगम संचालन समितिसमक्ष पेश गर्ने भएको छ । बोर्डले स्वीकृति दिएपछि कार्यान्वयनमा जाने पनि उनको भनाइ छ । कालाखेतीका अनुसार पहिले बैंक ग्यारन्टीबाट नै टिकेट दिने गरिएको थियो । यो व्यवस्थामा समस्या भएपनि निगमले क्यास नै राख्नु पर्ने व्यवस्था गरेको हो । अब फेरि सिस्टम बनाएर दिने विषयमा छलफल सुरु भैसकेको पनि उनले जानकारी दिए । विदेशी हवाई यात्रुबाट मनोमानी भाडा आन्तरिक वायुसेवा कम्पनीले विदेशी यात्रुलाई कति भाडा लिने र नेपालीको भन्दा कति प्रतिशत बढी लिने भन्ने विषयमा कुनै आधार तथा मापदण्ड बनाएका छैनन् । नाफाको प्रतिशत कायम नगरी मनोमानी भाडा लिने गरेको पाइएको जानकारी खड्काले दिए । उनका अनुसार आफ्नो लगानी कति हो र कति प्रतिशत नाफा राखेर व्यबसाय चलाउने भन्ने आधार नबन्दा समस्या भएको बताए । यो समस्याले व्यवसायिक वातावरण दिगो नहुने तर्क उनको छ । उनका अनुसार काठमाडौंबाट भैरहवा जाँदा नेपालीले यात्रुले रू ३९०० सय रुपैयाँमा पाउने टिकेटमा विदेशी यात्रुबाट भने १५,३०० रुपैयाँसम्म लिने गरेका छन् । यस्तै समस्या काठमाडौं लुक्लामा पनि हुने गरेको छ । यो सेक्टरमा पनि वायुसेवा कम्पनीले यात्रु अनुसार र हवाई चाप अनुसार व्यक्तिअनुसार भाडा बढी लिने गरेको एक व्यवसायीले बताए ।

डेढ दशकपछि काठमाडौंमा विदेशी चेनको नयाँ होटल

काठमाडौं । अमेरिकी होटल चेन मेरिओटसँगको साझेदारीमा मलिराम शिवकुमार (एमएस)ग्रूपले ठमेलमा चारतारे होटल संचालनमा ल्याएको छ । एक अर्ब १५ करोड रुपैयाँ लगानी रहेको यो होटलमा ११० वटा कोठा रहेको छ । होटलको निर्माण सकिएकोले आंशिक सञ्चालनमा आइसकेको छ भने औपचारिक उद्घाटन भने एक महिनाभित्रै हुने एमएस ग्रुपका प्रवन्ध निर्देशक शशिकान्त अग्रवालको भनाइ छ । सेवा उद्योगमा यही होटलबाट एमएस ग्रुप प्रवेश गरेको हो । नेपालको होटल क्षेत्रमा १० वर्षे सशस्त्र द्वन्द्वपछि कुनै पनि ठूलो लगानी भित्रिएको छैन । पर्यटन विभागका अनुसार पनि यो लगानी डेढ दशकपछिकै पर्यटन पूर्वाधारमा ठूलो लगानी थपिएको हो । पर्यटन क्षेत्रमा देखिएको आशा र अब पर्यटक आगमनसँग हुने यस क्षेत्रप्रतिको सकारात्मक बुझाईले होटल क्षेत्रमा लगानी विस्तार भएको पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालको भनाइ छ । उनका अनुसार दर्जन भन्दा बढी पाँचतारे होटल आउने तयारीमा रहेको, निर्माणको क्रममा रहेका र धेरेले विभिन्न माध्यमबाट घोषणा गरेको भएपनि विभागमा भने आइसकेका छैनन । अधिकांश होटल स्तर वर्गीकरणको समयमा मात्रै विभागमा पुग्ने गरेका छन् । धेरैले होटल निर्माणको हल्ला गरेपछि छिटो संचालनमा आउने होटल भने मेरिओट नै भएको छ । होटल क्षेत्रमा करीव छ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको यो एमएस ग्रुपले उपत्यकामा दुईवटा पाँचतारे होटल बनाउने भएको छ । यो एक चार तारेमा भएको लगानीले यसको संचालनसँगै थप होटल बनाउँदै जाने पनि अग्रवालको भनाइ छ । उनका अनुसार नेपाल हस्पिटालिटी ग्रुपको नामबाट भएको यो होटलपछि एभरेष्ट होटल ग्रूपको नाममा नक्सालमा अर्को पाँचतारे होटलको निर्माण शुरु हुने भएको छ । एमएसले बनाउँने तेस्रो होटल तथा दोस्रो ५ तारे होटल भने भक्तपुरमा हुने उल्लेख छ । ग्रुपले एउटा चारतारे होटल निर्माण सम्पन्न गरेको छ । अब भव्य उद्घाटन मात्रै बाँकी छ भने दुई वटा पाँचतारे पनि निर्माण अगाडि बढाउने भएको छ । नक्सालमा निर्माण हुने दुई सय ३५ कोठाको पाँचतारे स्तरको होटलमा साढे दुई अर्ब र भक्तपुरमा हुने सोही क्षमताको होलटमा पनि सो अुनपातमा लगानी हुने उल्लेख छ । ठमेलमा निर्माण भएको चारतारे स्तरको एक सय १० कोठाको होटल संचालन सुरु सँगै ठमेलको पर्यटनको छविमा पनि सुधार आउने अनुमान गरिएको छ । यो एमएस ग्रुपले ठमेल र नक्सालका होटल सञ्चालनमा मेरिओटसँग सहकार्य गरिएको छ । सन् १९७० देखि टेक्सटाइल, स्पिनिङ मिल हाउजिङ, साबुनलगायतका उद्योगमा सक्रिय एमएस ग्रुपले पहिलो पटक नेपाल हस्पिटालिटि ग्रुपमार्फत पर्यटन क्षेत्रमा प्रवेश गरेको हो । हस्पिटालिटी ग्रुपले दुईवटा होटलमा अन्तर्राष्ट्रिय चेन भित्र्याइसकेको छ । ग्रुपको तेस्रो होटलमा पनि अन्तरर्राष्ट्रिय ब्राण्डलाई नै ल्याइने भएको छ । होटलको प्रवद्र्धन गर्न र पर्यटक भित्र्याउन तथा गुणस्तर कायम गर्नको लागि अन्तर्राष्ट्रिय ब्राण्डलाई भित्र्याएको एमएस ग्रूपको भनाइ छ। शुमितकुमार अग्रवाल अध्यक्ष रहेको एमएस ग्रूपले पर्यटन क्षेत्रमा देखिएको सम्भावनासँगै होटल निर्माणलाई तीब्रता दिएको उल्लेख छ । ग्रुपको सनराइज होम, रिलाइन्स स्पिनिङ मिल्स, धनलक्ष्मी सेन्थेटिक्स, एभरेष्ट सुगर, भगवती नामका स्टिल उद्योग, रोलिङ मिल्स, साबुन उद्योग, कार्विङगायतका करीव एक दर्जन व्यवसायीक क्षेत्रमा लगानी गरेको छ ।

वायसुेवा निगमको टिकेटमा अझै सिन्डिकेट, ग्रुप होल्डिङले टिकेट पाइदैन, उड्ने बेलामा रित्तै

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल वायुसेवा निगमले आफ्नो छवि सुधार गर्न जहाज थप्नमा मात्रै ध्यान केन्द्रित गरिरहको छ । तर, निगमले जहाज उडान व्यवस्थित गर्न नसक्दा, आन्तरिक व्यवस्थापन कमजोर हुँदा र टिकेटिङका कमी कमजोरी सुधार गर्न नसक्दा टिकट नपाइने तर जहाज भने खाली उड्ने गरेको तथ्य फेला परेको छ । निगमकाे जहाजकाे फाइल तस्बिर   निगमको जहाजको टिकेटमा अझै सिन्डिकेट कायमै रहेको पाइएको छ । निगमको जहाजको टिकेट ठूला र धेरै विक्री गर्ने तथा निगमका नजिकका एजेन्सी तथा कर्मचारीको मिलेमतोमा ग्रुप होल्डिङ हुने गरेको छ । जसका कारण त्यो ग्रुपका यात्रु नआउँदा अरुले टिकेट नपाउने र जहाज खाली उड्नुपर्ने वाध्यता रहेको छ । नेपालमा उडान गरिरहेका विभिन्न २९ वटा अन्तराष्ट्रिय वायुसेवा मध्येकै एक्लो प्रतिस्पर्धी कम्पनी निगमको ग्रुप होल्डिङ र अनलाइन टिकेट नहुनाकै कारण अहिलेसम्म बचेको शाखा पनि गुम्न सक्ने देखिएको छ । निगमले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्ने, विदेशी वायुसेवोको तुलनामा स्तरीय सेवा दिनुपर्ने र सहज तथा सरल सेवा सुविधा हुनुपर्नेमा उल्टै निगमको छवि कमजोर पार्ने सेवामा नै अल्झिरहेको छ । निगमको जहाजको टिकट पहिले नै ठूला कम्पनी तथा ग्रुपले होल्ड गर्ने र अन्तिम समयमा मात्रै रद्द गर्ने गरेका कारण यस्तो समस्या आउने गरेको हो । यात्रुले खोजेको बेलामा टिकेट नपाउने तर जहाज भने खाली हुनुको मुख्य कारण नै टिकेल ब्लकमा (एजेन्सीलाई संख्या तोकेर टिकेट दिन) वा होल्डिङ नै भएको पर्यटन व्यवसायीको बुझाई छ । निगमको जहाजले अझै ग्रुप होल्डिङ हुने गरेको र टिकट नपाउने समस्या रहेको गुनासो गर्दै सुधारको अपिल गर्दै पर्यटन व्यवसायी यमबहादुर खड्काले आफ्नो फेसबुक स्टाटस नै राखेका छन् । उनका अनुसार निगमको टिकट जो पहिले आउँछ उसैले पाउने हुनुपर्छ । अहिले होल्डिङ हुने गरेकै कारण पैसा लिएर टिकेट चाहियो भन्दै आउनेले पाउँदैन, होल्डमा रहेको टिकेट रद्द हुन पुग्ने र अन्तमा जहाज खाली हुने गरेको बुझाई पनि उनको छ । निगमको जहाज उडानका आ–आफ्ना सेक्टर हेर्ने एजेन्सीले गर्ने ठूलो ग्रुप होल्डिङ नै अहिलेको मुख्य समस्या हो । जसको कारण त्यो ग्रुपले क्यान्सिल गर्नासाथ जहाज खाली हुन्छ । एउटाको नाममा टिकट होल्ड गर्ने र पछि आफ्ना मान्छे राख्ने गरेकोले यो समस्या भएको हो । सिस्टममा हेर्दा जहाजको सिट प्याक छ, तर टिकट भने पाइदैन । आएका यात्रुले चाहेको बेलैमा नपाएको टिकेट भोली पाउला, पर्सि पाउला, जहाज उड्ने बेलामा खाली होला, लास्ट आवरमा टिकट दिउँला भन्न मिलेन । आएका ग्राहकले मागेको टिकट नपाए जस्को खाली देखिन्छ त्यसैको टिकट दिनुपर्ने टिकेटिङ व्यवसायीको भनाइ छ । निगमको जहाजमा हुने गु्रप होल्डिङ सिस्टम हटाउनुपर्छ र अनलाइन टिकेटिङ गर्नुपर्छ भनेर ट्राभल व्यवसायीको संस्थाले पटकपटक निगमसमक्ष माग राख्ने गरेका छन् । व्यवसायीले आफ्नो हितको लागि मात्रै नभएर निगमकै फाइदाको लागि उठाएको मागप्रतिको वेवास्थाकै कारण निगमले चाहेर पनि सन्तोषजनक सेवा दिन सकेको छैन । वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले यो विषयमा आफूलाई थाहै नभएको प्रतिकृया दिए । उनका अनुसार के भएको छ भनेर मैले पनि बुझ्नुपर्छ । बुझेर मात्रै भन्न सक्छु, उनले भने । निगमका कमर्सियल डाइरेक्टर जनक कालाखेतीका अनुसार पहिले ग्रुप होल्डिङको समस्या थियो तर आजकाल त्यस्तो समस्या छैन । उनका अुनसार अहिर्ले निश्चित समयको अवधि दिइएको हुन्छ त्यो समयमा नआए उसले टिकेट नपाउने गरी दिने गरेको बताए । कालाखेतीका अनुसार ग्रुप ल्याउनेले एक साता अगाडि टिकेट बनाइसक्नुपर्ने व्यवस्था गरेर यसलाई सुधार गरिसकेको दाबी गरे । उनका उनुसार न्युनतम १० जनाको ग्रुपले मात्रै होल्डिङ गर्न पाउँछन्, त्यसमा पनि न्युनतम २० देखि २५ प्रतिशत टिकेटको पैसा अग्रिम रुपमा लिने गरिएको छ । यदि सो ग्रुपले रद्द गरेमा उसको २५ प्रतिशतसम्मको पैसा पनि जफत हुने कालाखेतीले बताए । ‘अहिले पीक आवरका लागि यस्तो व्यवस्था गरिएको छैन । हाम्रो जहाज उड्नुपर्यो र पैसा पनि कमाउनुपर्यो भन्ने नै हाम्रो मान्यता छ । कहिलेकाँही यात्रु नै नभएपछि सिट खाली त हुन्छ;- उनले भने  । होल्ड गरेर सिट छैन भन्ने काम अहिले हटिसकेको दाबी उनको छ । ग्रुप होल्डिङको विरुद्ध प्रहरीमा उजुरीसम्म निमगको टिकेट नपाएको भन्दै ग्राहकले नै प्रहरीसमक्ष उजुरी नै गर्न पुगेको भएपनि निगमले अझै ध्यान पुर्याउँन भने सकेको छैन । नेपाल एसोसिएसन अफ टुर एण्ड एजेन्ट्स (नाट्टा)को गत वार्षिक साधारण सभामा निगमको टिकेट नभएको विषयमा एक जना ट्राभल एजेन्सीले खुलेरै गुनासो गरेका थिए । रस्मिता ट्राभलबाट निगमको टिकेट माग्ने राजु नायकले टिकेट नपाएको र भोलीपल्ट अर्को व्यक्तिले पाएको विषयमा उनले प्रहरीमा उजूरी नै दिन पुगेको पनि एक पर्यटन व्यवसायीले जानकारी दिए । यसरी निगमको बारेमा गुनासो गर्दा पनि अवस्था सुध्रन भने नसकेको व्यवसायीको भनाइ छ । अनलाइन टिकेटिङ नहुँदा समस्या निगमले उडान सुरु गरेको ६ दशक पुग्न लागिसकेको भएपनि अझै अनलाइन टिकेटिङ हुन सकेको छैन । कालाखेतीका अनुसार ई टिकेटिङको व्यवस्थामा नै अहिलेको सेवा चलिरहेको छ । उनका अनुसार निगमले अनलाइनको पनि व्यवस्था गर्न लागेको छ । अहिले परीक्षणको फेजमा छ । उनका अनुसार आगमी जुनदेखि जुलाईसम्ममा अनलाइन टिकेटिङको व्यवस्था भैसक्छ । ट्राभल व्यवसायीले भने पटक पटक अनलाइन टिकेटिङको माग गर्दै निगमसमक्ष ज्ञापनपत्र नै बुझाउने गरेका छन् । तर, निगमले सधै हुन्छ र गर्छौ भनेर टार्ने गरेको उल्लेख छ ।