वित्तीय हस्तान्तरण ऐन आउने

काठमाडौं ।  स्थानीय तहमा संकलन र खर्च गरिने पर्यटन शुल्क व्यवस्थापनका लागि ‘वित्तीय हस्तान्तरणसम्बन्धि ऐन’ ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले वित्तीय ऐन नबनेसम्म पर्यटन शुल्कका नाममा स्थानीय तहले जथाभावी राजश्व संकलन गर्न नमिल्ने बताए। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ३९ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमको अाइतबार राजधानीमा उद्घाटन गर्दै सचिव न्यौपानेले भने “वित्तीय हस्तान्तरणसम्बन्धी ऐन अर्थ मन्त्रालयले बनाउँदैछ, त्यसले निर्धारण गरेपछि संघीय ढाँचाअनुसार तीन तह – केन्द्र, प्रदेश र स्थानीय निकायले राजश्व संकलन र बाँडफाँड गर्न पाउने व्यवस्था हुन्छ ।” खुम्बुलगायत प्रमुख पर्यटकीय गन्तव्यका विभिन्न गाउँपालिकाले पर्यटक प्रवेश शुल्क उठाउँदै आएकोमा  मन्त्रालयले पर्यटन शुल्क नउठाउन दुई हप्ताअघि मन्त्रिस्तरको निर्णयबाट संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेको थियो । तीन निकायले प्रतिपर्यटक  २ हजार रूपैयाँसम्म शुल्क लिएका थिए । साे अवसरमा टानका अध्यक्ष चन्द्र रिजालले राजनीतिक अस्थिरताले चाँडो मन्त्री, सचिव फेरिने प्रवृत्तिका कारण पर्यटन क्षेत्रको योजनाबद्ध विकास हुन नसकेको उल्लेख गरे । रासस

हिमालय एयरलाइन्स ‘एशियाकै प्रभावशाली’ वायु सेवा कम्पनी, १५ विमान थप्ने तयारी

काठमाडौं । नेपालको निजी अन्तराष्ट्रिय वायु सेवा कम्पनी हिमालय एयरलाइन्स दक्षिण एशियाकै प्रभावशाली नयाँ अन्तराष्ट्रिय एयरलाइन्स अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) ले शनिबार मलेशियाको इक्वेटर भिलेजमा आयोजित साटा २०१७ कार्यक्रममा एयरलाइन्सलाई सम्मान गरिएको हो । उक्त समारोहमा गान अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक इब्तिशामा अह्मद साइदले स्वर्ण श्रेणी अन्तरगत ब्राण्ड एण्ड सर्भिस डिपार्टमेन्टका प्रमुख उज्ज्वल डालीलाई सम्मान गरेका थिए । यसले उडानका क्षेत्रमा हिमालयन एयरलाइन्सलाई अघि बढ्न प्रत्साहित बनाएको एयरलाइन्सले बताएको छ । साटा दक्षिण एसियाको पर्यटन क्षेत्रमा पहिलो रिजनल ट्राभल अवार्ड समारोह हो । गत अगष्ट ३१ सम्म अनलाइनमार्फत मतदानको व्यवस्था गरिएको थियो । अवार्ड प्राप्त गर्दै डालीले भनिन्, ‘यो अवार्ड प्राप्त गर्न पाउँदा हामी एकदमै गर्वान्वित भएका छौं । यसले हामीलाई सेवा र सुविधा विकासलाई बढाउन उर्जा प्रदान गरेको छ । हामी यात्रुको सेवाका लागि अहोरात तल्लिन भएर लाग्नेछौं ।’ सन् २०१३ मा स्थापना भएको यो एयरलाइन्समा नेपाल र चीनको संयुक्त लगानी रहेको छ । दोहा, कोलालम्पुर, दुबई र दम्माममा सेवा दिइरहेको यो एयरलाइन्सले ढाका, हङकङ र ब्यांकक् मा पनि सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी केही महिनामा यो एयरलाइनले चीनको बेइजीङ र छेङडुलाई पनि अन्य शहरहरुसँग जोड्ने योजना बनाएको छ । हाल तीवटा एयरबस रहेको यो एयरलाइन्सले आगामी दिनमा १५ विमान थप्ने योजना तयारी गरेको छ ।

अछामको साफेबगरमा एयरपोर्ट चलाउन काम सुरु, १८ महिनामै सञ्चालनमा आउँदैछ

अछाम । साफेबगरमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनका लागि काम सुरु भएको छ । २०५८ देखि अवरुद्ध साफेबगर विमानस्थल सुचारुका लागि कालोपत्र गर्ने काम भइरहेको छ । गत वर्ष सरकारले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गरेको थियो । १२ करोड रुपैयाँ लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने अमर कन्ट्रक्सन प्रालिका भद्रबहादुर शाहीले जानकारी दिए । वर्षाका कारण र दशैँ तिहारको बीचमा विमानस्थलको निर्माण केही दिन रोकिएको भए पनि अहिले तीव्रगतिमा काम भइरहेको छ । अछामको मुख्य व्यापारिक केन्द्र मानिने साफेबगर विमानस्थल सञ्चालनका लागि काम शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । स्थानिय व्यापारी पुरन कुँवर लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने भएपछि व्यापारलगायत गतिविधि बढ्ने बताए । “यहाँको पर्यटन प्रवद्र्धनका लागि विमानस्थल सञ्चालनमा आउनुपर्छ,” उनले भने । स्थानीयवासी पशुपति कुँवरले विमानस्थल सुचारु भएपछि उपचार नपाएर अकालमै ज्यान गुमाउनु नपर्ने र छिटो छरितो रुपमा बिरामीले उपचार पाउने बताए । साफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँरले पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विमानस्थललाई लिइएकाले पनि छिटो सञ्चालनका लागि काम भइरहेको बताए । विमानस्थल सञ्चालनमा आएपछि यहाँ बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने छ । अछामको रामारोशन, वैद्यनाथधाम, खप्तडजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्ने छ । विमानस्थल दुई दशकदेखि गौचरन र घाँसेमैदान बनेको थियो । रासस