क्राउन हिमालयजको नयाँ वर्ष योजना, ३५०० सय मै डिलक्स रुम र ब्रेकफास्ट

काठमाडौं । होटल क्राउन हिमालयज पोखराले नयाँ वर्ष र क्रिसमसलाई केन्द्रीत गर्दै विभिन्न पाहुनालाई विभिन्न आकर्षक योजना ल्याएको छ । होटलले ४ हजार ५ सय रुपैयाँको डिलक्स रुम्लाई ३ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र विहानीको ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो । होटलमा जाने पर्यटकलाई पोखराका पर्यटकीय स्थलको अवलोकन पनि गराउने योजना ल्याएको हो । होटलका कार्यकारी निर्देशक आग्रह अर्यालका अनुसार पोखराको फेवाताल, सारङ्कोट, बेगनासताललगायत विभिन्न ठाउँको अवलोकन समेत गराउने बताए । तर, पर्यटकले त्यसका लागि थप पैसा तिर्नुपर्ने छ । धेरैजसो विदेशी तथा स्वदेशी पर्यटक नयाँ वर्ष तथा क्रिसमस नयाँ नयाँ ठाउँ घुम्न आउने भएकाले होटलले यस्तो प्याकेज ल्याएको हो । पोखरा आउने पर्यटकलाई दुइ देखि तीन दिनसम्म राख्नका लागि नयाँ नयाँ गन्तव्यमा घुमाउन लैजाने योजना बनाएको छ । ‘पोखरा आउने पर्यटक कम्तिमा पनि दुईदेखि तीनदिनसम्म बस्न सकुन भन्ने हो,’ उनले भने, । होटलले विदेशी भन्दा पनि स्वदेशी पर्यटकलाई केन्द्रमा राखेर यस्तो योजना ल्याएको हो । ‘अहिले पोखरामा विदेशीको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या बढ्को छ,’ उनले भने, ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न हामीले यस्तो योजना ल्याएको हो ।’

पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन

बैतडी । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका-२ मा रहेको नेपालकैै गहिरो पत्तालभुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् । उक्त अभियानका सह-कोषाध्यक्ष वीरबहादुर विष्टका अनुसार हालसम्म एक लाख एक हजार ६१७ रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मूलगेट र अन्य भौतिक विकासका लागि खर्च गरिने बताइएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले खासै पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् । बैतडीको सुर्नया गाउँपालिका घर भई हाल मलेसियामा कार्यरत तीलक पाण्डेले रु १० हजार, भारतमा रहेका निशान्त विष्ट र विनोद विष्टले जनही रु आठ/आठ हजार रुपैयाँ , मलेसियमा रहेका पूर्णबहादुर विष्टले छ हजार २८० रुपैयाँ सहयोग गरेका छन् । यस्तै, सुर्नया घर भई हाल मलेसिया रहेका महेश पाण्डेले छ हजार २५० रुपैयाँ, तिलक चन्दले छ हजार १५१ रुपैयाँ, मानबहादुर विष्ट पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । रासस

काठमाडौं-कुवेतको सिधा फ्लाइट आजदेखि शुरु, दैनिक उडान मूल्य २३ हजार रुपैयाँ

काठमाडौं । कुवेतको निजी स्वामित्वमा रहेको वटानिया एयरवेजले बुधबारदेखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालन संगै वटानिया कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ । यो सेवाको उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्या रहित सुलभ सेवा सुलभ मुल्यमा उपलब्ध गराउने रहेको छ । एयरलाइनले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य २३ हजार रुपैयाँ निर्धारण गरेको छ । तीन ए–३२० विमान सहितको वटानिया एयरवेजले विश्वभरका ११ गणतब्य सम्मकालागि उडान सेवा उपलब्ध गरिरहेको छ । साथै, कम्पनीको काठमाडौंबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानकालागि सहज सञ्जाल विस्तार गरिएको छ । ‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, वटानिया एयरवेज, काठमाडौंका लागि स्टेशनम्यानेजर रुपेश झाले भने,‘यसले नेपालीलाई कुवेटमा कामको थपअवसर समेत प्राप्तहुने हामीलाई विश्वास छ ।’