चुनावी सुरक्षाका लागि अमेरिकी दूतावासले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी’, पर्यटकको सूरक्षाको जिम्मा हानले लिने

काठमाडौं । प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनको पूर्व सन्ध्यामा अमेरिकी दूतावासवाट आफ्ना नागरिकहरुको सूरक्षाको दृष्टिकोणवाट ट्राभल एडभाइजरी जारी गरेको छ । यसै सन्दर्भमा होटल संघ नेपाल (हान)ले चुनावको समयमा नेपाल आउने पर्यटकहरुको आतिथित्य र सूरक्षामा कुनै कमी हुन नदिने जनाएको छ । चुनावको समयमा नेपाल आउने पर्यटकहरुको पुर्ण सूरक्षा गर्न, गराउन सूरक्षा निकायहरु लगाएत सम्वद्द सबै क्षेत्रवाट तदारुकताका साथ जिम्मेवारी बहन गराउनको लागि नेपाल सरकारवाट समेत निर्देशन जारी गर्न हुन हानले आह्वान गरेको छ । सन् २०१७ मा हाल सम्मकै सबैभन्दा बढी १० लाख पर्यटक भित्रीने अवस्थावाट अघि बढेको पर्यटन उद्योगमा आसन्न चूनाववाट पर्यटक आगमन प्रभावित हुन नदिन होटल संघ नेपाल सम्बन्धित सबैमा सूरक्षाको अधिकतम प्रत्याभूति हुने गरी काम गर्न आह्वान गरेको छ । चूनावको समयमा नेपाल भ्रमणमा आउन लागेका पर्यटकहरुलाई पनि कुनै संशय नलिइ ढुक्क भएर भ्रमणमा आउन समेत अपिल गरेको छ ।

आइएमईका व्यवसायीक साझेदार रारा भ्रमणमा

काठमाडौं । आफ्ना दशजना उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिम स्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३/७४ मा दिइएको व्यवसायीक साझेदारमूखि व्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो । मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ आफ्नै देशभित्रको गन्तव्य निर्धारण गरि भ्रमण गराइएको हो । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृत इश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए । कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  १६० आईएमई सेन्टर सहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशबाट पठाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

पाँच दिनमा एक खर्ब १४ अर्ब डलरको जहाज खरिद अर्डर, एयरबस बोइङ भन्दा अगाडि

दुबई– युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा पाँच दिनसम्म चलेको १५औं ‘दुबई एयर सो’ मा करिब एक खर्ब १४ अर्ब अमेरिकी डलरबराबरको जहाज खरिद अर्डर भएको छ । उड्डयन क्षेत्रमा यो नयाँ कीर्तिमान भएको आयोजकले दाबी गरेका छन । प्रत्येक दुई/दुई वर्षमा आयोजना हुँदै आएको दुबई एयर सो आयोजकका अनुसार सन् २०१५ को दाँजोमा यसपालि कारोबारसँगै दर्शक पनि २० प्रतिशतले बढेर ७९ हजार तीन सय ८० जना पुगेका छन्। युरोपेली जहाज निर्माता कम्पनी एयरबसले पाँच दिनसम्ममा ६२ अर्ब ५० करोड डलरमा पाँच सय ३५ थान जहाज जहाज बेच्न विभिन्न वायुसेवासँग सम्झौता गरेको छ । यसमा एयरबसको प्रतिस्पर्धी अमेरिकी जहाज निर्माता कम्पनी बोइङ थोरै परिमाणले पछाडि परेको छ । बोइङले भने पाँच दिनभित्र विभिन्न कम्पनीलाई ५० अर्ब डलरमा दुई सय ९६ थान जहाज बेच्ने सम्झौता गरेको छ। एयरबसले भारतको सस्तोमा उडान गर्ने बजेट एयरलाइन्स इन्डिगोसँग ४९ अर्ब ५० करोड डलरबराबरको जहाज खरिद अर्डर सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार एयरबसले इन्डिगोलाई ‘ए३२० निओ’ सिरिजका चार सय ३० थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्। त्यसैगरी बोइङले पनि एयर सोको अन्तिम दिनसम्ममा दुबईको बजेट एयरलाइन्स फ्लाई दुबईसँग २७ अर्ब डलरबराबरको जहाज खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार बोइङले फ्लाई दुबईलाई ‘बि७३७ म्याक्स’ सिरिजका दुई सय २५ थान जहाज आपूर्ति गर्ने छ । यी ‘न्यारो बडी’ जहाज हुन्। ‘दुबई एयर सोको १६औं संस्करण सन् २०१९ मा हुने छ । युएईको इमिरेट्स एयरलाइनले १६ अर्ब डलरमा ‘बि७८७–१०’ सिरिजका ४० थान जहाज खरिद सम्झौता गरेको छ । यो सम्झौताअनुसार पहिलो जहाज सन् २०२२ मा आपूर्ति हुने छ । इमिरेट्स एयरबसको सबैभन्दा धेरै यात्रु बोक्ने ‘ए३८०’ र बोइङको सबैभन्दा धेरै यात्रु बोक्ने ‘बि७७७’ सिरिजका जहाज धेरै सञ्चालन गर्ने संसारकै एकमात्र वायुसेवा कम्पनी हो ।