खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै,१६ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था
काठमाडौ । सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्ला समयमा लगानी बढ्दै गएको छ । पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर १ हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेका छन् । हाल होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ । लगानीमा भएको बढोत्तरीले रोजगारीको अवसरमा वृद्धि भएको छ भने आर्थिक क्षेत्रको थप उन्नयनमा बल मिलेको छ । पछिल्ला दिनमा कञ्चनपुरको होटल ओपेरा, नेपालगञ्जको होटल कृष्णा र सिमराको होटल इच्छाले पर्यटन विभागबाट चारतारेको अनुमति लिएका छन् । यस्तै चारतारेको मान्यतासहित सञ्चालनमा आएका होटलमा नेपालगञ्जकै सोल्टी, नगरकोटको मिस्टिक माउण्टेन, कोहलपुरको सेन्ट्रल प्लाजासहितका होटल रहेका छन् । हालको गति र लगानी हेर्दा आगामी तीन वर्षभित्र काठमाडौँमा मात्रै चारतारे होटलमा चार हजार कोठा थप हुन लागेका छन् । राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरण नभएको भन्दै पछिल्ला वर्षमा नयाँ होटल नथपिए पनि हाल थपिएका र निर्माणका क्रममा रहेका दर्जन चारतारे होटलले नेपालको पर्यटन प्रवद्र्धनमा गुणात्मक फड्को मार्ने विश्वास लिइएको छ । विभागका अनुसार सन् २०१७ मा तीनतारे होटल तीनवटा थप भएका छन् । थपिएका तीनतारे होटलमा ठमेलको ११५ कोठे म्यारिओट, ठमेलकै ६३ कोठे मलवरी र हेटौँडाको ६० कोठे सामना होटल रहेका छन् । हाल ३४ वटा तिनतारे होटल पुगेको विभागले जानकारी दिएको छ । पर्यटकस्तरका होटल २३ वटा थप भएका छन् । दुईतारे होटल ४३ छन् । सो व्यवसायमा संलग्नहरुका अनुसार हाल देशभर तारे, गैर तारे, रिसोर्ट र रेष्टुराँमा करिब १६ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था सिर्जना भएको छ । सरकारले सञ्चालनमा रहेका होटललाई अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको मागदण्डसमेत तय गरेको छ । काठमाडौँ उपत्यकाभित्र भन्दा पनि उपत्यका बाहिर होटल व्यवसाय सञ्चालन गर्नेलाई सहज रुपमा व्यवसाय गर्ने वातावरणसमेत निर्माण गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको भन्दै होटल व्यवसायमा लगानी गर्न चाहनेहरुसमेत बढ्दै गएका छन् । विभागले काठमाडौँ उपत्यकामा रहने होटलको हकमा कम्तीमा १०० र उपत्यका बाहिर रहने होटलको हकमा कम्तीमा ८० सुत्ने कोठा हुनुपर्ने व्यवस्था गरेको छ । उपत्यका, तराई मधेशमा होटलमा पौडी पोखरी आवश्यक भए पनि हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ पौडी पोखरीलाई अनिवार्य गरिएको छैन । विद्यमान तारे होटल, पर्यटकीय होटल, रेष्टुराँ तथा रिसोर्टको अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुरुप भौतिक पूर्वाधारसहित क्षमता विस्तार गर्ने नीति अख्तियार गरिएको र राजपत्रमा सूचना प्रकाशित गरेर लागू गरेपछि होटल क्षेत्रमा लगानी गर्नेको संख्यामा समेत वृद्धि भएको विभागका महानिर्देशक दिनेश भट्टराईको भनाइ छ । भट्टराईका अनुसार काठमाडौँ उपत्यकाभित्र एक तारे होटलमा २० र काठमाडौँ बाहिर १५ कोठा हुनुपर्ने नयाँ मापदण्ड लागू गरिएको छ । यस्तै दुई तारेको हकमा काठमाडौँमा ४० र बाहिर ३०, तीन तारेका हकमा काठमाडौँमा ६० र बाहिर ४५, चार तारेका लागि काठमाडौँमा ८० र बाहिर ६०, पाँचतारेका लागि काठमाडौँमा १०० र बाहिर ८० कोठा हुनुपर्ने मापदण्ड तय गरिएको छ । होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि २०७० सालमा तय भएको मापदण्डलाई समसामयिक परिवर्तन गरी अन्तर्राष्ट्रिय होटल स्तर मापदण्डअनुसार तय गरिएको महानिर्देशक भट्टराई बताउछन् । सो मापदण्डअनुरुप होटलका कोठालाई बढी केन्द्रित गरिएको छ । आरामदायी सुविधा बढाइएको छ । होटलका कोठाको संख्यालाई संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा व्यवस्थित गर्ने प्रयास गरिएको छ । होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह होटल व्यवसायमा लगानी गर्ने वातावरण बन्दै गएकामा खुशी व्यक्त गर्नुभयो । “सरकारले पछिल्लो पटक लागू गरेको मापदण्डले व्यवसायको प्रवद्र्धनमा बल पुगेको छ । सेवा क्षेत्रमा लगानी गर्नेको मनोबलसमेत वृद्धि भएको छ”, उहाँले शाहले भने । काठमाडौँ उपत्यका बाहिर व्यवसाय शुरु गर्नेलाई विशेष प्राथमिकता दिने सरकारको नीतिले पर्यटन क्षेत्रमा नयाँ उभार आउने उनको भनाइ छ । अर्का होटल व्यवसायी राजेन्द्र बजगाईंले उपत्यका बाहिरका होटललाई पर्यटकमैत्री बनाउन खोजिएकामा खुशी व्यक्त गरे । उनले जस्तोसुकै होटललाई पनि तारे होटलको मान्यता दिँदा त्यसले पार्ने प्रभाव नकारात्मक हुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए। सञ्चालमा रहेका होटल, रेष्टुराँ र रिसोर्टलाई थप व्यवस्थित, मर्यादित बनाउनेतर्फ लाग्नुपर्ने व्यवसायी बजगार्इंको भनाइ छ । सरकारले तय गरेको मापदण्डअनुसार पर्यटकस्तरको साधारण होटलले कम्तीमा पनि सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनुपर्ने, २५ प्रतिशत कोठाको साथमा स्नानघर तथा शौचालय (बाथरुम) संलग्न हुनुपर्ने छ । यस्तै सबै कोठामा आधुनिक फर्निचर र बिजुलीको राम्रो प्रबन्ध हुनुपर्ने तथा नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको हुनुपर्ने छ । होटल व्यवसाय विश्वव्यापी उद्योग भएकाले समयानुकूल मापदण्ड बनाइएको र पर्यटकको रोजाइ तथा आवश्यकतालाई ध्यान दिइएको व्यवसायीको भनाइ छ । तारे तथा पर्यटकीय होटलले आफ्ना सेवा सुविधालाई गुणस्तरीय बनाई बढी पर्यटक आकर्षण गर्न नयाँ मापदण्ड लागू गरेर लगानीमैत्री वातावरण बनाइएको विभागका महानिर्देशक भट्टराईको भनाइ छ । सन् २०१७ मा ९लाख ६४ हजार पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा पर्यटक आवागमनको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । होटल व्यवसायी योगेन्द्र शाक्य पर्यटकको संख्यामा भएको वृद्धिसँगै पूर्वाधारको क्षेत्रमा थप लगानी हुनु सकारात्मक रहेको बताउछन् । उनले होटलमा लगानी गर्ने लहर बढेसँगै व्यवस्थापन तथा प्रचारप्रसारको कामलाई समेत जोड दिनुपर्ने र गुणस्तरीय सेवाका लागिसमेत पहल गर्नुपर्नेमा जोड दिए । “लगानी बढाएरमात्रै भएन, पर्यटकलाई सेवा सुविधा दिनेतर्फ पनि ध्यान दिइनुपर्छ । व्यवसायको दायरा बढाएर जानुपर्छ”, उनले भने । रासस
हिमालयन ब्रियू कफि सञ्चालनमा
काठमाडौं । ठमेलको लेखनाथ मार्गमा हिमालयन ब्रियू कफि सञ्चालनमा आएको छ । नयाँ व्यवस्थापनमा सञ्चालन सुरु गरेको यो कफि क्याफेले वेदेसिक रोजगारीमा जानेका लागि तालिम प्रमुख आकर्षण बनाएको छ । यस्तो तालिम १८ दिनमै कफिको सीप सिकाउने गरी दिइने दाबी यसका सञ्चालक प्रकाश बास्कोटाले गरे । उनका अनुसार चारदेखि पाँच जनाको समूहमा आउने प्रशिक्षार्थीको हकमा भने विशेष सहुलियत दिइने छ । एक पटकमा १५ जनालाई तालिम दिने क्षमता भएको यो कफिले नेपाली अर्गानिक कफिका विभिन्न स्वादलाई ग्राहकमाझ पस्कदै आएको छ । करिब २५ लाख रुपैयाँबाट कफि क्यापेमा लगानी सुरु गरेका बास्कोटाले पाँच जनालाई रोजगारी दिएका छ । डेढ वर्षसम्म कफि क्याफेकै अनुभव लिएर उनले कफिको स्वादसँगै खाजा तथा नास्ताको पनि सेवा दिन थालेका छन् । बिहीबारबाटै यो क्याफेलाई औपचारिक रुपमै सञ्चालन गरिएको छ । यो क्याफेमा सबै प्रकारका नेपाली कफि पिउँदै विभिन्न पुस्तक अध्ययन गर्नेदेखि जुनसुकै स्थानका सेवाग्राहीलाई तालिम दिन सक्षम रहेको छ । यो क्याफेले उपत्याका अन्य क्याफेसँग सहकार्य गरेर तालिम दिन थालेकोको उपत्यकाका अन्य क्याफेमा पनि यसले तालिम दिने व्यवस्था मिलाएको उल्लेख छ । ठमेलको हिमालयन ब्रियू कफिले विदेश जाने युवालाई लक्षित गरेर कफि कलाको तालिम दिन थालेको छ । प्रतिव्यक्ति १५ हजार रुपैयाँमै कफिको कला सिकेर स्वारोजगार बन्नदेखि वैदेसिक रोजगारीमा जानेसम्मको लागि उपयोगी सीप प्रदान गर्न थालेको हिमालयन ब्रियू कफिका संचालक बास्कोटाले बताए ।
१५ करोड खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यको प्रचार प्रसार
काठमाडौं । नेपाल पर्यटन बोर्डले १५ करोड रूपैयाँ खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको छ । बोर्डले गत आर्थिक बर्ष २०७३/०७४ मा १५ करोड ५८ लाख ६८ हाजार ३ सय खर्च गरी विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको हो । बोर्डले बीबीसी, सीएनएन र इनफ्लाइट म्यागेजिन लगायतका विश्व व्यापी पहुँच भएका सञ्चार माध्यम मार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरेको हो । बीबीसीमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । सि एन एनमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । इनफ्लाइट म्यागयजिनमा ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । उक्त विज्ञापनले नेपालको पर्यटकीय स्थलहरुको बारेमा विश्वासामु जानकारी पुर्याउने, विज्ञापनले नेपालको पर्याटक आगमनमा वृृद्घि गराउने भएको छ । साथै, भूकम्पबाट अस्तव्यस्त भएको नेपालको पर्यटन क्षेत्रलाई उत्थानका निम्ती सहयोग गर्ने र विश्वलाई जानकारी नभएको पर्यटकीय स्थलहरुको जानकारी समेत गराउने नेपाल टुरिजम बोर्डका अधिकृत सूदन सुवेदिले बताएका छन् ।