विमान दुर्घटनाप्रति संघ स्तब्ध, पर्यटनलाई नकारात्मक प्रभाव पर्न नदिन माग

काठमाडाैं । सोमबार करिब सवा २ बजे बंगलादेशबाट नेपाल आएको युएस बंगला एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा हुन गएको दुर्घटनाले होटल संघ नेपाल तथा यस संघका समस्त सदस्यहरु स्तब्ध र मर्माहत भएका संघका अध्यक्ष अमरमान शाक्यले जनाएका छन् । उक्त दुर्घटनामा पर्यटन व्यवसायी, पर्यटक, विद्यार्थी तथा सर्वसाधारण नागरिकहरुको दुःखद निधन भएकोमा संघले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दुर्घटनामा परी घाइते भएका सम्पूर्णहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नियमित रुपमा हुने गरेको यस किसिमको दुर्घटनाले विभिन्न मुलुकबाट नेपाल भित्रिने पर्यटकहरुलाई नकारात्मक प्रभाव पर्न गई पर्यटक आवागमनमा कमी आउने हुनाले पर्यटकहरुमाझ विश्वशनीय वातावरण सुनिश्चितताका लागि संघले सरकारसँग माग गरेको जानकारी गराएको छ ।

गोकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द, पर्यटन र व्यापारमा घाटा

दार्चुला । गाकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन् । विसं २०४८ देखि २०७४ सालसम्म दार्चुलाबाट निर्वाचन जित्ने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्चालन हुँदैन भनेका छैनन् । उनीहरुले जसरी पनि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्र हुँदा गोकुलेश्वर विमानस्थलमा गाईवस्तु चरिरहेका छन् । विमानस्थलको सुरक्षाका लागि करिब २७ वर्षदेखि खटिँदैआएका कार्यालय सहयोगी रामदत्त विष्ट यी सबै कुरा हरेर बसिरहेका छन् । दार्चुलाबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू, प्रेमसिंह धामी, लक्ष्मीदत्त जोशी र गणेशसिंह ठगुन्नाले विमानस्थलमै आयोजना गरिएको आमसभामा विमानस्थल सञ्चालन गर्ने भाषण गरे । मतदाताले उनीहरुलाई विश्वास गरे । विमानस्थल सञ्चालन हुन्छ र जिल्लाको पर्यटन, व्यापार र भौतिक निर्माणको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने आशा थियो तर विमानस्थल सञ्चालनमा आएन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टले टुइनेटर विमान अवतरण नै गराएर विमानस्थल सञ्चालनमा ल्याउने वाचा गरे । एउटा टोली अध्ययनका लागि आयो, तर विमानस्थल सञ्चालन भएन । रातिराति टिकट काटिन्थ्यो त्यतिबेलाको शाही नेपाल वायु सेवा निगम (आरएनएसी)को टुइनेटर विमानले साप्ताहिक रुपमा यहाँबाट महेन्द्रनगर हुँदै नेपालगञ्जको उडान भर्दथ्यो । “सामान्य अवस्थामा कहिल्यै टिकट नपाइने हुँदा रातिराति लाइन बसेर टिकट लिनुपथ्र्यो,” गोकुलेश्वरका बासिन्दा मानबहादुर भण्डारीले भनेका छन् । आरएनएसीसँग थप विमान नभएकाले त्यतिबेला दार्चुलाबाट उडान भर्ने विमान थप गर्न नसकिएको स्मरण गर्दै कार्यालय सहयोगी विष्ट निरन्तर विमान सञ्चालनमा रहेको भए दार्चुलावासीलाई देशका अन्य क्षेत्रसम्म आवागमन गर्न सजिलो हुने थियो भन्छन् । विसं २०५० देखि विमान सञ्चालन बन्द भयो । विसं २०५५ मा दुईजना नायब सुब्बालाई कर्मचारीका रुपमा खटाइयो । नायब सुब्बा गणेश सिंह र भीमदत्त पन्तले २०६० सालसम्म यहाँ काम गर्नुभयो । पछि द्वन्द्वका कारण उनीहरुले अन्तै सरुवा मिलाए । पर्यटन र व्यापारमा घाटा अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको जिल्लाको पर्यटन प्रबद्र्धन नहुनुको पछाडि विमानस्थल सञ्चालन नहुनु पहिलो कारण बनेको छ । कैलालीको धनगढीबाट ३४५ किलोमिटर सडक दूरी पार गरेर दार्चुला सदरमुकाम खलंगा पुगिन्छ । यात्रा निकै कष्टप्रद हुन्छ । विमानस्थल सञ्चालनमा आउँदा पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, यहाँ आउने कर्मचारीलाई पनि सहज हुनेछ । कष्टप्रद यात्रा देखेर कर्मचारी, विकास साँझेदार र विज्ञहरु यहाँ आउन मान्दैनन् । “हवाई उडान शुरु भए यी सबै समस्या समाधान भएर जान्छन्,” सहायक वन अधिकृत अमरसिंह धामीले भने । टिकटका लागि राति लाइनमा लाग्नुपर्ने बेला सम्झिदै उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्ना अहिले त दिनमै दुई दुई विमानले उडान भर्न मिल्ने यात्रु पाउने अवस्था रहेको बताउँछन् । जडीबुटी व्यापार गर्न निकै सहज हुने उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गर्न प्राविधिक टोलीले स्थलगत अध्ययन गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् । शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा रहेको उक्त विमानस्थल सञ्चालन गर्न दक्षिणतर्फ रहेका घर तथा चमेलिया नदीमाथि बनेको पुल बाधक देखाएको बताउँदै प्रशासकीय अधिकृत विष्ट उक्त समस्यालाई समाधान गर्न सकिने बताउँछन्। रासस

भक्तपुर पर्यटन विकास समिति र अस्पतालबीच पर्यटकलाई आकस्मिक सेवा दिने सम्झौता

भक्तपुर । भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतबार सम्झौता भएको छ । उक्त सेवा आइबारदेखि नै लागू हुने भएको छ । अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, फुट पोइजन साधारणदेखि अन्य रोगको उपचार हुने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताएका छन् । उनका अनुसार भक्तपुरमा आउने पर्यटकका लागि आकस्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको हो । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक झन बढ्ने बताएका छन् । उनले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन् ।