एक वर्षभित्र गौतमबुद्ध विमानस्थल सञ्चालनमा- पर्यटनमन्त्री

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै पर्यटनमन्त्री अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने तयारी भइरहेको बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने– ‘खुशीको कुरा छ । नयाँ सरकारले विमानस्थलको निर्माणसम्बन्धी कार्य अगाडि बढाउनमा देखिएका समस्या समाधान गरिसकेको छ ।’ त्यस्तै, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधि जोडेर २४सै घण्टा सञ्चालन गर्ने गरी काम अघि बढिसकेको समेत उनले जानकारी दिए । मन्त्रालयले आगामी पाँच दिनभित्र दीर्घकालीन र अल्पकालीन दृष्टिकोण तयार गरी १०० दिने कार्ययोजना ल्याउने तयारी गरिरहेको तथा आगामी पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको मन्त्री अधिकारीले बताए । त्यस्तै, पाँच वर्षभित्र ८० प्रतिशत भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण सम्पन्न गर्ने, १०/१० वर्षमा मन्त्रालयगत नीतिगत निर्णय पुनरवलोकन गर्ने उनको तर्क थियो । मन्त्री अधिकारीले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न पूरै देश अभियानका साथ लाग्ने जानकारी दिँदै भैरहवा विमानस्थल र पोखरा विमानस्थललाई अघि बढाउने स्पष्ट पारे ।

कतार एयरलाइन्सले काठमाडौंदेखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने

काठमाडौं । कतार एयरलाइन्सले नेपाल देखि ग्रीसको थेसालोनिकीसम्म उडान भर्ने भएको छ । प्रत्येक महिना विभिन्न देशको नयाँ शहरहरुमा उडान भर्दै आएको एयरलाइन्सले यो महिना ग्रीसको थेसालोनिकीमा उडान भर्न लागेको हो । अब नेपालीहरुले ग्रीसको पर्यटकिय स्थल थेसालोनिकी जान कतारको दोहा ट्रान्जिट भएर सजिलै जान सक्नेछन् । नेपालीहरुको घुम्ने आनी बानीमा वृद्धि भएसँगै अन्य पर्यटकिय मुलुक जस्तै ग्रीस नेपालीका लागि रोजाइको गन्तव्य बन्ने एयरलाइन्सले विस्वास लिएको छ । एयरलाइन्सकाे अनुसार नेपालदेखि थेसालोनिकीसम्म १ जनाको ७ सय अमेरिकी डलर करिब ७२१०० नेपाली रुपैंया पर्नेछ । एयरलाइन्सले यसै साताबाट काठमाडौंदेखि थेसालोनिकीसम्मको उडान सुरु गर्ने तयारी गरेको छ ।  

चार कलाकारले गोर्खाको पहरा फोरेर यसरी बनाए बुद्ध (फोटोफिचर सहित)

काठमाडौं । चार उत्साहित युवा कलाकारले गोर्खाको धार्चे गाउँपालिकाको खोर्लावेसी वडा ३ स्थित पहरामा बुद्धको मूर्ति निर्माण गरेका छन् । उक्त गाउँ पालिकामा पर्यटकलाई भित्र्उने उद्देश्यले गाउँपालिकाका प्रमुख सन्तोश गुरुङको सक्रियतामा ४ कलाकारले मूर्ति निर्माण गरेका हुन् । युवा मूर्तिकार बिशाल सारु मगरको संयोजकत्वमा कलाकार चन्द्रमणि मगर, मानबहादुर बल र प्रकाश पुनले पहरामा रहेको चट्टाने खोपेर बुद्धको मूर्ति बनाएका थिए । लगातार १० दिनसम्म सो समूह खटिएर उक्त मूर्ति निर्माण कार्य सम्पन्न गरेको कलाकारमध्येको एक चन्द्रमणि मगरले बताए । उनका अनुसार मूर्ति बनाउन चार जनाले दैनिक करिब १६ घण्टा खटेका थिए । गोर्खाको दुर्गम स्थानमा रहेको पहरामा बुद्धको मूर्ति बनाउन पाउदा आफुहरु खुसी भएको मगरको भनाइ छ । ‘चट्टानलाई बुद्धको स्वरुपमा ढाल्न निकै चुनौतिपूर्ण थियो,’ उनले भने ‘त्यसलाई अविस्मरणीय ढंगले निर्जिव चट्टानी पहाडलाई जीवन दिएका छौं ।’ उक्त मूर्ति बनाएको स्थान पर्यटकीय रुड भएको कलाकारहरुको भनाइ छ । उनीहरुका अनुसार सो रुड हुदै पर्यटकीय स्थान मानास्लु, घोडेपानी, लम्जुङ बेसी पुगिन्छ । मूर्ति बनाएसँगै स्थानिय बासिन्दा तथा पर्यटकहरु झुम्न थालेको उनीहरुको भनाइ छ । मूर्ति जमिनको सतहभन्दा १० फिट उचाई र १५ फिट चौडाईमा निर्माण गरिएको छ । मूर्तिमा बुद्धसँगै स्थानीय धर्म र संस्कारको विषयलाई कलाकारले ‘रिलिफ फम’मा उतारेको जानकारी दिएका छन् ।