ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा राणा निर्वाचित, महासचिव बने अधिकारी
काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित भएका छन् । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दै राणा निर्वाचित भएका हुन् । अध्यक्ष राणाले ३३३ मत प्राप्त गरेका थिए भने भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर शर्मा र गीता गुरुङ निर्वाचित भएका छन् । महासचिव पनि राणा समूहकै धुव्र अधिकारी निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्षमा प्रधान समूहका बद्रीप्रसाद तिमल्सेना र पुण्यराम लगेजु निर्वाचित भए । यस्तै सदस्यमा राणा समूहका दिनेश श्रेष्ठ, राजेन्द्रबहादुर दुलाल, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्म घले, केशवकुमार बस्नेत, सुरेन्द्र श्रेष्ठ र प्रधान समूहका नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएको परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष राणाले ठमेललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफू लागिपर्ने बताए । “ठमेलका स्थानीय बासिन्दा र व्यवसायीको सम्बन्धलाई थप प्रगाढ बनाउन मेरो कार्यसमिति लाग्नेछ”, उनले भने । उनले स्थानीय सरकारको समन्वयमा नमूना ठमेल निर्माणका लागि आफू लाग्ने उल्लेख गरे ।
जोमसोम विमानस्थल १५ दिन बन्द, धावनमार्गको तह मिलाउने
बाग्लुङ । मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । “असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ”, कार्यालयप्रमुख भानु कोइरालाले भने, “त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।” जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ । विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो । विमानस्थल स्तरोन्नतिका लागि नागरिक उड्डयन प्राधिकरणले एपेक्स निर्माण कम्पनीलाई जिम्मा दिएको छ । गत असोजमा रु नौ करोडमा सम्झौता भई माघदेखि निर्माण कम्पनीले काम शुरु भएको थियो । हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो । असारभित्र सबै काम सकिने कम्पनीका इञ्जिनीयर लालध्वज लामाले बताए । धावनमार्ग सुधारसँगै विमानस्थलमा कालीगण्डकी नदीको कटान नियन्त्रण र घेराबारको काम पनि भइरहेको छ । पोखरा–जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् । मुस्ताङ घुम्ने पर्यटकको चापले वैशाख–जेठमा विमानस्थल बढी व्यस्त हुन्छ । पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ । रासस
ठमेल पर्यटन विकास परिषदको महासचिवमा अधिकारीको उम्मेदवारी
काठमाडौं । ठमेल पर्यटन विकास परिषदको महासचिव पदमा ध्रुव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी २ वर्षे कार्यकालका हुने शनिबार हुने निर्वाचनमा अधिकारीले महासचिव पदमा उम्मेदारी घोषणा गरेका हुन् । विगत २ दशक भन्दा बढी समयदेखि ठमेलको पर्यटन विकासमा सक्रिय अधिकारीले सुन्दर र व्यवस्थित ठमेल निर्माणका लागि आफु उम्मेदवार बनेका बताए । ‘ठमेललाई स्वदेशी तथा विदेशी पर्यटकहरुको निर्विकल्प गन्तव्यका रुपमा स्थापित गराउन मैले परिषदको चुनावमा महासचिवमा उम्मेदवारी दिएको हुँ’, अधिकारीले भने । उनले ठमेलसँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि बताए । ठमेलमा भिआईप पब सहित अधिकारीले स्पा,लगायतका आधा दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरेका छन् । उनले ठमेलको गरिमा बढाउन आफुलाई मतादन गर्न आग्रह पनि गरे । शनिबार हुने निर्वाचनमा ठमेल क्षेत्रका करिब ८ सय व्यवसायीले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि ३ वटा प्यानल चुनावी मैदानमा खडा भएको छ ।