चार दिनदेखि लुक्लामा २०० यात्रु अलपत्र, कहिले हट्ला बाक्लो हुस्सु ?

फाइल तश्वीर सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनैपनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिए । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए पनि एउटा पनि उडान भएन । उडान प्रभावित हुँदा करीब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै बस्न बाध्य भएका छन् । खुम्बू क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गएका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् । सल्लेरीदेखि खुम्बूपासाङल्हामु गाउँपालिका–१ खारिखोलासम्म यसै वर्ष सडक सञ्जाल पुगेको छ । तर खरिखोलासम्म पुग्नका लागि माप्यदूधकोशीको वडा नं २ र माप्यदूधकोशीकै वडा नं १ जोड्ने दूधकोशी नदीमा पुल नहुँदा सिधा सवारी सम्पर्क टुटेको हो । हिउँदमा ह्युमपाइप राखेर सिधा यातायात सञ्चालन भए पनि करीब एक महिनायता पानीको बहाव बढेपछि सवारी आवागमनमा समस्या भएको हो । आगामी वर्ष खुम्बू पासाङल्हामु गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले जोड्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । शेर्पाका अनुसार प्रदेश र सङ्घीय सरकारबाट समेत यस क्षेत्रको सडक विस्तारलाई ध्यान दिने प्रतिबद्धता प्राप्त भएको छ । गाउँपालिका केन्द्र चौरीखर्कसम्म व्यवस्थित सडक पु¥याउन सकेको खण्डमा खुम्बू क्षेत्र आउने पर्यटकले अहिले भोग्दै आएको समस्याको अन्त्य हुने अध्यक्ष शेर्पाको भनाइ छ । सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाईयात्राबाहेकको विकल्प नभएकै कारण वर्षौँदेखिको समस्या उस्तै छ । लुक्लामै यात्रु रोकिएपछि त्यहाँको होटलमा केही चहलपहल बढेको छ । पर्यटकीय ‘सिजन’ सकिएसँगै यस क्षेत्रका होटल व्यवसायीसमेत बाहिर जाने गर्छन् । यस क्षेत्रको लागि आम्दानीको मुख्य स्रोत नै पर्यटन भएकाले होटल व्यवसायी सिजन सकिएपछि घुम्नका लागि काठमाडौँलगायतका क्षेत्रमा निस्कने गरेका छन् । रासस

६५९ जनाले गरे सगरमाथा आरोहण, भारतीय धेरै

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस याममा सगरमाथा आरोहणका लागि सात नेपालीसहित ४४ वटा आरोहण दलका एक हजार २४ जनाले विभागबाट आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सगरमाथा आरोहण गर्न सफल भएको विभागले जनाएको छ । भारत र चीनपछि अमेरिकन आरोहीको सङ्ख्या बढी छ । अमेरिकाका ४२ जनाले सगरमाथा आरोहण गरेका छन् । संयुक्त अधिराज्य बेलायतका २९ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । सगरमाथा आरोहण गर्नेमध्ये ६७ जना महिला आरोही छन् । जसमा सबैभन्दा बढी १८ जना चिनियाँ महिला आरोही छन् । नेपाली महिला आरोही ६ जनाले सगरमाथा चढेको विभागको तथ्याङ्क छ । नेपालसहित ४९ देशका आरोहीले सगरमाथा आरोहणमा गएका थिए । जसमध्ये छ मुलुक संयुक्त अरब इमिरेट, कोरिया, स्पेन, डोमिनिकन रिपब्लिक, इरान, पेरु र रिपब्लिक अफ बोत्स्वानाका आरोही सगरमाथा चढ्न असफल भएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस यामको सगरमाथा आरोहणका क्रममा आठ जनाको मुत्यु भएको र एक जना हराइरहेको पनि विभागले उल्लेख गरेको छ । रासस

पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटककाे सङ्ख्या बढ्याे

काठमाडौं । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् । नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल बाटिका रिसोर्ट, पोखराका सञ्चालक सन्तोष पोखरेलका अनुसार पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश नेपालको भैरहवा सुनौली नाका हुँदै आउने गरेका छन् । तालैतालको शहर पोखरा र यहाँ नजिकै रहेको हिमाल आदिको दृश्यावलोकन गर्दै पर्यटक रमाउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न जाने गरेको पोखरेलले जानकारी दिएका छन् । पोखरामा भारतीय पर्यटकको आगमन बढाउन नेपाल पर्यटन बोर्डसहित यहाँका पर्यटन सम्बद्ध सङ्घसंस्थाले गरेको प्रर्वद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताएका हुन् । “यस समयमा विशेषतः दक्षिण भारत, पश्चिम बङ्गाल, महाराष्ट्र, उत्तरप्रदेश, विहार लगायतका स्थानबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उनले भने, “भौगोलिक निकटता, धार्मिक एवं सांस्कृतिक स्थलको बाहुल्यता आदिका कारण पनि भारतीय पर्यटकका लागि नेपाल घुम्ने उपयुक्त स्थल हो ।” भारतीय पर्यटक पोखरामा रहेका धार्मिकस्थलको दर्शनका साथै यहाँबाट बाग्लुङ कालिका, गलेश्वर धाम हुँदै मुक्तिनाथसमेतको दर्शनका लागि पुग्ने गरेका छन् । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले पनि भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेको छ । पछिल्ला दिन भारतीय पर्यटकको आगमनले पोखराको होटेल व्यवसायमा पनि उत्साह थपेको होटेल एशोसिएन अफ नेपाल(हान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष विकल तुलाचनले बताए । यतिखेर पोखरा आएका पर्यटकमध्ये अधिकांशले दुई रात पोखरामा बिताउने गरेको उनको भनाइ छ । अध्यक्ष तुलाचनका अनुसार पोखरामा मात्रै पर्यटक लक्षित होटेलमा रु दुई खर्बभन्दा बढी लगानी पुगिसकेको छ । पोखरामा भण्डै ७०० भन्दाबढी पर्यटक लक्षित होटेल रहेको उनले जानकारी दिएका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये कोही अत्यन्त सुविधा सम्पन्न त कोही मध्यमस्तरका होटेलमा बस्ने गरेको यहाँका व्यवसायीको अनुभव छ । केही दिनयता बढेको भारतीय पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको होटल रानीवन अर्किट, लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए । यस याममा खासै उल्लेख्य सङ्ख्यामा पर्यटक नआउने गरेको भए पनि केही दिनयता भारतीय पर्यटकको आगमनले व्यवसायमा उत्साह थपेको भुजेलले बताएका छन् । नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो । भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा भने अझै वृद्धि हुन नसकेको व्यवसायी बताउँछन् । नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकामा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेका छन् । रासस