सिक्लेस-कोरी केबुलकार निर्माण प्रक्रिया शुरु, स्थानीय वासिन्दालाई १५ प्रतिशत सेयर

पोखरा । कास्कीको मादी गाउँपालिकामा सिक्लेस-कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) जानकारी दिए । उनका अनुसार सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार सञ्चालन हुनेछ । चन्द्रागिरि केबुलकार टिमको सक्रियतामा निर्माण गरिने सिक्लेस–कोरी केबुलकारअन्तर्गत समुद्री सतहबाट लगभग दुई हजार ५०० मिटरको उचाइमा चताखर्कामा १२० बेड क्षमताको रिसोर्ट निर्माण गरिने बताइएको छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) एवम् वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य भइरहेको जानकारी दिँदै उनले यसको कूल लागत रु छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ । केबुलकारको १५ प्रतिशत शेयर स्थानीय बासिन्दालाई वितरण गरिने व्यवस्था मिलाइएको छ । अन्नपूर्ण हिमालको उच्च बुकेनीफाँटमा नेपालको मध्यविन्दु स्तम्भ उद्यानसमेत निर्माण गरिने लक्ष्य राखिएको उक्त केबुलकार चन्द्रागिरि समूहले निर्माण गर्ने भएको हो । नीति तथा कार्यक्रममा केबुलकारसँगै पर्यटनलाई गाउँपालिकाको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको उल्लेख गर्दै उनले पर्यटकीय गन्तव्य विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिइएको बताए । गाउँपालिकाअन्तर्गतका प्राकृतिक महत्वका स्थानहरुमध्ये होचो स्थानमा रहेको कपुचे हिमाल, कोरी, ठूलोलेक, क्होलासोँधर, दूधपोखरी, सवुपोखरी, कपुडाँडा, लम्तरीडाँडा, ताराहिलटप, नेपालको मध्यविन्दुलगायतका स्थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । अध्यक्ष गुरुङका अनुसार पालिकाको वडा नं ६ मा तप्राङ्ग वन्यजन्तु उद्यान निर्माण गर्नका लागि गुरुयोजना तयार गरी सङ्घ र प्रदेश सरकारको समन्वयमा जङ्गल सफारीका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ । अन्नपूर्ण राउण्ड सर्किटलाई पदयात्राको रूपमा विकास गर्नका लागि सिक्लेसदेखि मनाङको तिमाङसम्मको रुटमा आवश्यक पर्यटन पूर्वाधार निर्माण गरी यस क्षेत्रको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धन गरिने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख छ । मठमन्दिर तथा गुम्बा, कोइवुजस्ता धार्मिक पर्यटकीय क्षेत्रहरुको संरक्षण संवद्र्धनमा विशेष जोड दिइने उल्लेख गर्दै उहाँले स्थानीय मौलिक संस्कृति, भाषा एवं वेषभूषालाई यहाँको पर्यटन र उत्पादनसँग जोडेर विकास गरिने जानकारी दिनुभयो । स्थानीय, भाषा, वेषभूषा, कला संस्कृतिको संरक्षण गर्न गुरुङ जातिको तमु भाषाको पाठ्यक्रम तयार गर्ने नीति सम्भाव्यता अध्ययन सम्पन्न भई आगामी आर्थिक वर्षदेखि निर्माण प्रक्रिया शुरु गरिने भएको छ । पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्न गाउँपालिकास्तरीय पर्यटन गुरुयोजना निर्माण गर्नुका साथै पर्यटकीय पूर्वाधार निर्माणका लागि डिपिआर तयारी गर्ने एवं यस क्षेत्रको प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरुलाई समेटी डकुमेन्ट्री फिल्म निर्माण गरी पर्यटकीय सम्भावनाको प्रचारप्रसार, संरक्षण र प्रवद्र्धन गरिनेछ । गाउँपालिकालाई पर्यटनहवको रूपमा स्थापित गर्न सामुदायिक घरबासहरुको प्रवद्र्धन र संवद्र्धनका साथै यस क्षेत्रको सांस्कृतिक मौलिकताको पहिचानका र अतिथि देवो भवः मूलमन्त्रलाई अङ्गिकार गर्दै स्थानीय अग्र्यानिक परिकारका साथ आवश्यक नियमन गर्दै पर्यटन प्रवद्र्धन गर्न जोड दिइने बताइएको छ । उच्च हिमाली क्षेत्रमा निर्माण गरिएको केबुलकारसहित थप पर्यटकीय गन्तव्यले पर्यटन प्रवद्र्धनका साथै स्थानीयस्तरमा उल्लेख्यरूपमा जोरगार सिर्जना गर्ने नीति तथा कार्यक्रमको लक्ष्य रहेको छ । रासस

अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै निगम

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको छ । ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको छ । निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा समान सात उडान गर्नेछ । यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा हाल १४ पुर्याएको छ । यो गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकामा एक उडान थप गरी चार उडान पुर्याइएको छ । निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जनाएको छ । वाइ–१२ जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमार्फत जनाएको छ । निगमको ट्विनअटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजनाअनुरुप हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको, साथै दुई वर्षदेखि रोकिएको को–पाइलटको तालिम सञ्चालन गराई एक जनाको तालिम सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ । आगामी साउन मसान्तभित्र सम्पन्न गर्ने गरी बाँकी तीन जनाको पनि तालिम सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय कम्पनी विसिटीले गरिरहेको विमान मर्मतसम्भार कार्य जुलाई महिनादेखि निगमका इञ्जिनीयरबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यसबाट निगमको मासिक रु ६० लाख बचत हुने निगमले जनाएको छ । निगमले गत जेठ महिनामा कन्टिन्युइङ एयरवर्डिनेश म्यानेजमेन्ट विभागले (आइएसओ ९००१ः२०१५०) को सफल अडिट गराई प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । भूमिस्त व्यवस्थापन (ग्राउण्ड ह्याण्डलिङ) तर्फ आयटाले गरेको परीक्षण (आइसागो) नवीकरण गरी प्रमाणपत्र प्राप्त गरेकाले यसबाट अन्तर्राष्ट्रियस्तरको उडान सुरक्षाको सुनिश्चितता हुने निगमले दाबी गरेको छ । निगमले दुई वाइडबडी, दुई न्यारो बडी र एक बोइङमार्फत विभिन्न मुलुकका आठ गन्तव्यमा उडान भर्दै आएको छ । रासस

लोप हुन थालेका कला र संस्कृतिको संरक्षण गर्दै घरवास पर्यटन (होमस्टे)

काठमाडौं । बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको यहाँका विभिन्न गाउँमा सञ्चालित घरवास पर्यटन (होमस्टे)ले पछिल्लो समय लोप हुँदै जान थालेका संस्कार, कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याएका छन् । घरवास पर्यटनले गाउँमा आउने पाहुनालाई स्वागत सत्कार गर्दै नयाँ र फरक स्वादका मौलिक कला, संस्कृति पस्किन थालिए सँगै लोप हुने अवस्थामा पुगेका त्यस्ता कला र संस्कृतिको संरक्षण हुन थालेको हो । विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको पर्यटकीय जिल्ला लमजुङमा आधुनिक समयको विकास क्रमसँगै २०५७ सालबाट पर्यटकीय गाउँ घलेगाउँबाट होमस्टे पर्यटनको शुरुआत भई जिल्लाको काउलेपानी, राइनासकोट, सिउरुङ, ढगैँ, नरुवल पाखाथोक, खासुर, भुस्मे, ताघ्रिङ, तुर्लुङकोट, भुजुङलगायत एक दर्जनभन्दा बढी स्थानमा होमस्टेहरु सञ्चालन भएका छन् । विशेषगरी गुरुङ, नेवार, मगर, तामाङ, भुजेल साथै दलित समुदायले समेत होमस्टे सञ्चालन गरेका छन् । होमस्टेमा पर्यटकहरुको सङ्ख्यामा दिनहुँ वृद्वि हुँदै गर्दा उनीहरुलाई आफ्नो संस्कार, संस्कृति देखाउने गरेको र यसले संस्कार संस्कृतिलगायत गुरुङ समुदायको मौलिक परम्परागतको संरक्षण गरेको क्व्होलासोंथर गाउँपालिकाका अध्यक्ष एवं घलेगाउँ पर्यटन विकास समितिका अध्यक्षसमेत रहेका प्रेमबहादुर घलेले बताए । “होमस्टेमा आउने पर्यटक तथा पाहुनालाई गरिने स्वागतका लागि बाटोमा लाइन लागेर गुरुङ संस्कृतिअनुसार सेतो टीका, फूलगुच्छा, गिलासमा लोकल रक्सी राखी पाहुनालाई गाउँलेले नै तीन पटक खुवाइदिएर स्वागत तथा सम्मान गर्छौँ”, उनले भने । बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष एवं होमस्टे सञ्चालक देवबहादुर घले भन्छन्, “बाउबाजेको पालोपछि होमस्टे सञ्चालन हुनु अघिसम्म चासो दिन छोडिसकेको जस्तै भएको थियो । हाम्रो गुरुङ संस्कृति लोप हुँदै गएको अवस्थामा होमस्टेले संरक्षण गरेको छ ।” काउलेपानी होमस्टेमा आउने पर्यटक तथा पाहुनालाई मनोरञ्जन दिनका लागि तथा गुरुङ संस्कृति चिनाउन तथा संरक्षण गर्न लोपोन्मुख घाँटु नाच, कौरा नाच, झ्याउरे नाच देखाउने गरेको उनको भनाइ छ । यस नाच देखेर आन्तरिक तथा बाह्य पर्यटकहरु पनि रमाउँछन्, गुरुङ संस्कृतिको पनि भावी पुस्तासम्म जोगाइराख्न होमस्टेबाट मद्दत पुगेको काउलेपानीका गुरुङ होमस्टे सञ्चालकहरु बताउँछन् । काउलेपानीमा नेवार समुदायले पनि होमस्टे सञ्चालनमा ल्याएका छन् । काउलेपानी आइपुगेका पर्यटकलाई नेवारको चलनअनुसार स्वागत गर्ने गर्दछन् । काउलेपानी होमस्टे सञ्चालक लक्ष्मी श्रेष्ठ भन्छन्, “नेवार समुदायका होमस्टेमा परेका पर्यटकलाई परम्परागत नेवारी खाजाका परिकारहरु बनाएर पर्यटकहरुलाई दिने गर्छौं ।” उनका अनुसार अधिकांश पर्यटकले नेवारी परिकारहरु रुचाउँछन् । सो होमस्टेमा बिहानको खाजा सेटमा नेवारी परिकारहरु सिन्कामारी, भट्टमारी, झिलिङ्गा, सेलरोटी चिउरालगायतका परम्परागत खाजाहरु बनाएर खुवाउने गर्दछन् । यसले आम्दानीका साथै नेवारी परम्परागत परिकारहरुको संरक्षण गर्न पनि सहयोग पुगेको छ । पर्यटकलाई नेवारको परम्परागत संस्कृति लोपोन्मुख लाखे नाच, गाई जात्रा, घोडेजात्रा, बाघ जात्रा, कृष्ण जात्रालगायतका संस्कृतिका नाचहरु देखाउने गर्नाले नेवार समुदायको लोप हुँदै गएको संस्कृति नयाँ पुस्ताका लागि पनि बचाइराख्न होमस्टेले ठूलो भूमिका खेल्ने गरेको होमस्टे सञ्चालक श्रेष्ठले बताएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ सिउरुङ होमस्टेका सञ्चालक गौरी गुरुङले भने, “हाम्रो संस्कृतिबारे आन्तरिक तथा बाह्य पर्यटकले अरूलाई पनि प्रचार गर्छन् जसले गर्दा हाम्रो संस्कृति जोगाइराख्नका लागि होमस्टेले टेवा पुर्याएको महसुस गरेका छौँ ।” विस्तारै रोधी बस्ने परम्परागत संस्कृतिलाई जोगाउन धौधौ भइरहेको थियो, होमस्टे शुरु भएसँगै अधिकांश पर्यटकको पनि आगमन भइरहेकाले पर्यटकहरुसँग रोधी बस्ने गरेका छन् । गुरुङ संस्कृतिको संरक्षण गर्न होमस्टेले ठूलो भूमिका खेलेको सिउरुङ गाउँका होमस्टे सञ्चालक उमरबहादुर गुरुङले बताए । त्यस्तै, बेँसीशहर नगरपालिका–२ स्थित नरुवाल पाखाथोकमा मगरगाउँ होमस्टेले समेत मगरको कला, संस्कार संस्कृतिको संरक्षणमा टेवा पुगेको मगरगाउँ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर मगरले बताउँछन् । उनका अनुसार पर्यटकका लागि मगरहरुको कौरा नाच, चुट्का नाच, झाम्रे (झ्याउरे) नाचलगायत विभिन्न नृत्य देखाउने गरिन्छ । मर्स्याङ्दी गाउँपालिका–८ स्थित भुस्मे गाउँमा सञ्चालित तामाङ होमस्टेमा आफ्नो जातीय वंशभूषा, संस्कृति र नाच देखाउनाले तामाङ संस्कृतिको समेत संरक्षण भएको तामाङ होमस्टेका सञ्चालक होमराज तामाङले बताएका छन् । रासस