४९ मध्ये ३३ विमानस्थलमात्रै सञ्चालनमा, ‘हवाई सुरक्षा र पूर्वाधार प्राधिकरणको प्राथमिकता’

काठमाडौँ । मुलुकको हवाईसेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकताकासाथ अघि बढाएको जनाएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सुरक्षा, पूर्वाधार र क्षमता अभिवृद्धिका कामलाई विशेष ध्यान दिइएको बताए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को सुरक्षा मापदण्डअनुरुप नेपालको उड्डयन क्षेत्रको सुदृढिकरणका लागि योजनाबद्ध काम अघि बढाइने उनले उल्लेख गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको कामलाई प्राथमिकताका साथ अघि बढाइको छ । अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो पटक धावनमार्गको स्तरोन्नति ‘रनवे रिह्याब’ को काम हालै सम्पन्न भएको छ । आगामी डिसेम्बर महीनासम्म विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम सकिने प्राधिकरणले जनाएको छ । यो विमानस्थलाई बुटिक विमानस्थलका रुपमा स्थापित गर्नेगरी काम भइरहेको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा कामअघि बढाइएको छ । आयोजनालाई जसरी पनि सम्पन्न गरी उडानसेवा सञ्चालन गर्ने योजनाका साथ प्राधिकरण लागि परेको महानिर्देशक पोखरेलको भनाइ छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुन अघिनै सञ्चालन गर्नेगरी काम भइरहेको छ । “हाम्रो मुख्य ध्यान बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलाई जतिसक्दो चाँडो निर्माण प्रक्रिया अघि बढाउने हो । त्यसलाई कुन मोडालिटीमा निर्माण गर्ने भन्ने नेपाल सरकारले निर्णय गरेपछि धमाधम निर्माण गरिन्छ । आयोजना चाँडो अघि बढाउन प्राधिकरण र मन्त्रालय सक्रियतापूर्वक लागि परेको छ”, महानिर्देशक पोखरेलले भने । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका रुख कटानको विषय विवादित बन्दा सो आयोजनाको प्रगति भएको छैन । अहिले विमानस्थलको चार किल्ला तोक्ने, तारबार हाल्ने र मुआब्जा वितरणको काम भइरहेको छ । नेपाली सेनासँग भएको सम्झौता अनुरुप वन मन्त्रालयको स्वीकृति पाएमा रुख कटानको काम शुरु हुने जनाइएको छ । अहिले सो प्रक्रियाका लागि प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयलाई रुख कटानको स्वीकृतिका लागि पत्राचार गरेको छ । यसबारे कुनै निर्णय भएको छैन । एक सार्वजनिक कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतले कम भन्दा कम क्षति हुनेगरी आवश्यकताका आधारमा निजगढ विमानस्थल निर्माणका लागि रुख काट्न सहमति दिन सकिने सङ्केत गरेका थिए । सो आयोजनाको वातावरणीय पक्षको चासोलाई लिएर केही वातावरणविज्ञले रुख कटानको विरोध जनाउँदै आएका छन् । अन्य आन्तरिक विमानस्थलको सेवा सुधार र गुणस्तर बढाउन प्राधिकरण लागि परेको छ । महानिर्देशक पोखरेलका अनुसार अहिले भएका ठूला आन्तरिक विमानस्थलको स्तरोन्नति गर्दै एटिआर विमानदेखि एक सय सिट क्षमताका विमान उडान अवतरण गर्नेगरी स्तररोन्नति गर्ने योजनाका साथ काम थालिएको छ । चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरोन्नतिका लागि गुरुयोजनाका साथ काम अघि बढाइनेछ । यी विमानस्थलमा अहिले रात्रिकालीन उडान भइरहेको छ । तराईका सम्भव भएका विमानस्थलमा रात्रिकालीन उडानका लागि पहल गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको सन् २०१८ को प्रतिवेदन अनुसार मुलुकभर हाल ४९ विमानस्थल छन्, तीमध्ये ३३ विमानस्थल सञ्चालनमा छन् । रासस

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न निर्देशन दिएका हुन् । जापानी विज्ञ किन्जोले सो गुरुयोजना तयार गरेका थिए । कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीका अनुसार बैठकमा रामग्राम पवित्र स्तूपाको गुरुयोजना बनाउन, कपिलवस्तु विकासको दिगो संरचना तयार गर्न, लुम्बिनी, कपिलवस्तुदेखि देवदहसम्म बौद्ध पर्यटन ल्याउने वातावरण सिर्जना गर्न र सो क्षेत्रमा विद्युतीय मेट्रोलाइन निर्माणको तयारी गर्न पनि निर्देशन दिएका हुन् । उपाध्यक्ष त्रिपाठीले लुम्बिनीलाई विशिष्ट बौद्ध अध्ययनको केन्द्रका रुपमा विकसित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिई आगामी बुद्धजयन्ती अन्तर्राष्ट्रिय सम्मेलनसहित मनाउने निर्णय भएको जानकारी दिए ।

लुम्बिनी गुरुयोजनाको काम साढे दुई वर्षभित्र पूरा गर्न ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन् । कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसहित कोषका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले लुम्बिनीलाई बुद्ध जन्मस्थल मात्र नभई बौद्ध धर्म र दर्शनको उद्गमस्थलका रुपमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न निर्देशन दिएको हो । जापानी विज्ञ किन्जोले सो गुरुयोजना तयार गरेका थिए । कोषका उपाध्यक्ष अवदेशकुमार त्रिपाठीका अनुसार बैठकमा रामग्राम पवित्र स्तूपाको गुरुयोजना बनाउन, कपिलवस्तु विकासको दिगो संरचना तयार गर्न, लुम्बिनी, कपिलवस्तुदेखि देवदहसम्म बौद्ध पर्यटन ल्याउने वातावरण सिर्जना गर्न र सो क्षेत्रमा विद्युतीय मेट्रोलाइन निर्माणको तयारी गर्न पनि निर्देशन दिएको हो । उपाध्यक्ष त्रिपाठीले लुम्बिनीलाई विशिष्ट बौद्ध अध्ययनको केन्द्रका रुपमा विकसित गर्ने र नेपाल भ्रमण वर्ष २०२० लाई ध्यान दिई आगामी बुद्धजयन्ती अन्तर्राष्ट्रिय सम्मेलनसहित मनाउने निर्णय भएको जानकारी समेत दिएका छन् । रासस