होमस्टेमा पर्यटकको आकर्षण, सामुदायिक होमस्टेमा थपिंदैछ ७ नयाँ घर

भीमदत्तनगर । रानाथारु समुदायद्वारा सञ्चालित ‘रानाथारु सामुदायिक होमस्टे’ आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका रानाथारु समुदायले चलाएको उक्त होमस्टे (घरबास) २०७२ सालमा स्थापना गरिएको हो । तीन वर्षमा छ हजार ६०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले उक्त होमस्टेको भ्रमण गरिसकेका छन् । सुदूरपश्चिम प्रदेशकै प्रख्यात पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र महाकाली नदीमा बनेको एशियाकै लामो झोलुङ्गे पुलको बीच भागमा रानाथारु होमस्टे सञ्चालनमा छ । गत आर्थिक वर्षमा मात्रै दुई हजारभन्दा बढी पर्यटकले होमस्टेको अवलोकन गरेको सो होमस्टेका सचिव चेतराम रानाले जानकारी दिए । “पर्यटकहरु यहाँ बास बसेर यस वरपरको पर्यटकीय क्षेत्र अवलोकन गरी भारतीय शहर घुम्न जाने गरेका छन्”, उनले भने । बाह्यभन्दा आन्तरिक पर्यटक समूहमा धेरै आउने गरेको उनी बताउँछन् । तीन वर्षको अवधिमा होमस्टेमा रु २९ लाख ५१ हजारको कारोवार भएको छ । यहाँ आउने पर्यटक भारतको नैनीताल, अल्मोडा, देहरादुन, मन्सुरी, चण्डीगढ, सिमलालगायत पर्यटकीय शहर घुम्न जाने गरेका छन् । “यहाँ बास बसेर भारततर्फ घुम्न जाने गरेका छन्”, सचिव रानाले भने । कैलालीको भादा, बर्दियाको डल्ला, चितवनलगायत देशका अन्य क्षेत्रमा थारुचौधरीलगायत जातिले आफ्नो समुदायमा होमस्टे सञ्चालनमा ल्याएका छन् । कैलाली र कञ्चनपुरमा रानाथारु समुदायले होमस्टे सञ्चालन गरेको यहीँ मात्र हो । “कला संस्कृतिको संरक्षण एवं पर्यटन प्रवद्र्धनका लागि होमस्टे शुरु गरेका हौँ ”, रानाले भने । विभिन्न दातृ निकायको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुरमा चौधरी समुदायले होमस्टे सञ्चालन गरे पनि फष्टाउन सकेको छैन । शुक्लाफाँटा निकुञ्जसित जोडिएको राना होमस्टेमा गत वैशाख यता पर्यटकलाई राख्न नसकिएको सचिव रानाको भनाइ छ । “सात घर नयाँ बनाउँदैछौँ”, उनले भने, “असोजदेखि सञ्चालनमा ल्याउँछौँ ।” होमस्टेमा आउने जोकोही पाहुनाले थारु समुदायको पहिरनसहितको परम्परागत नाच अवलोकन गर्न पाउनुका साथै विभिन्न थारु परिकार खान पाउने छन् । तराई भू–परिधी कार्यक्रम(ताल) को प्राविधिक तथा अन्य सहयोगमा शुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिले आवश्यक सहयोग गर्दै आएको छ । होमस्टेमा आउने जोकोही पाहुनाले थारु समुदायको पहिरनसहितको परम्परागत नाच अवलोकन गर्न पाउनुका साथै विभिन्न थारु परिकार खान पाउने छन् । “पाहुनाको स्वागत गर्न होली नाँच, राजनी नाँचलगायत परम्परागत नाँच प्रस्तुत गछौँ”, उनले भने, “तितौला, सिमही, मिसौला, पपरा, कत्तरालगायत परिकार खुवाउँछौँ ।” पर्यटक सूचना केन्द्र कार्यालय सहायकका भरमा सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गड्डाचौकी भारतसित जोडिएको छ । नेपाल भित्रिने बाह्य पर्यटकलाई यहाँको बारेमा जानकारी दिने उद्देश्यले २०६१ सालमा गड्डाचौकीमा नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो । पाँच वर्षदेखि उक्त कार्यालय सहायकका भरमा सञ्चालनमा छ । यहाँ थानेश्वर लेखक कार्यालयक सहायकका रुपमा काम गर्दै आएका छन् । “पर्यटन भ्रमण वर्षको चर्चा चुलिँदा पर्यटकलाई विभिन्न गन्तव्यका बारेमा सूचना दिने कार्यालय रित्तो छ, आवश्यक कर्मचारी नहुँदा अनेकन समस्या आउने गरेका छन्”, कार्यालय सहायक लेखकले पीडा सुनाए, “केन्द्रलाई कार्यालयमा हाकिम चाहियो, कर्मचारी अभाव छ भनेर पटक–पटक ताकेता गर्दै आए पनि सुनुवाइ भएको छैन ।” यहाँ पाँच वर्षदेखि कार्यालय प्रमुखविहीन छ । प्रमुख नहुँदा कार्यालयको नियमित कामकारवाही प्रभावित बनेको उनले बताए । “मैलै सक्दो प्रचारप्रसार गरकै छु, एक्लैले पर्यटकलाई सूचना दिन निकै गाह्रो छ”, लेखकले भने । यहाँ बास बसेर यस वरपरको पर्यटकीय क्षेत्र अवलोकन गरी भारतीय शहर घुम्न जाने गरेका छन् । गड्डाचौकीस्थित अध्यागमन कार्यालयले दिएको जानकारी अनुसार सन् २०१८ मा यहाँबाट दुई हजार ९३० बाह्य पर्यटक नेपाल भित्रिएका थिए । दुई हजार २२२ बाह्य पर्यटक बाहिरिएको तथ्याङ्क छ । यहाँ भ्रमणमा आउनेमा अमेरिका, फ्रान्स, जर्मन, बेलायतलगायत देशका नागरिक रहेका छन् । अध्यागमन कार्यालयका निमित्त प्रमुख पदमराज भट्टले सन् २०१९ को जुलाइसम्ममा एक हजार पाँच सय ९८ बाह्य पर्यटक गड्डाचौकी भएर भित्रिएका छन् भने एक हजार दुई सय ८५ पर्यटक बाहिरिएका छन् । “यहाँ आउने बाह्य पर्यटक काठमाडौंँ, पोखरा र बर्दिया बढी घुम्न जाने गरेका छन्”, उनले भने । रासस

यतीको पाँचौँ एटीआर विमान भित्रियो, नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने लक्ष्य

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर-७२-५००’ विमान भित्र्याएको छ । कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको राजधानी बैंककबाट उडेर शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने लक्ष्यका साथ यतीले विमान थपेको हो । उक्त लक्ष्य हासिल गर्न थपिएका विमानले सहयोग पुग्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले बताए । नयाँ एटीआर फ्रान्सेली–इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्वीन इञ्जिन टर्बोप्रोप विमान हो । सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् । कम्पनीले विभिन्न नौ गन्तव्यमा उडान भर्दै आएको छ । रासस

चीनसँग हवाई सेवा सम्झौता, १५ गन्तव्यमा उडानको अवसर

काठमाडौँ । नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ । दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा हवाई सम्पर्क विस्तारका क्षेत्रमा पारस्परिक सहयोगलाई सघन तुल्याउन सहमति जनाएका हुन् । द्विपक्षीय छलफलपछि शुक्रबार हस्ताक्षर भएको समझदारीपत्रअनुसार चीनले थप आठवटा चिनियाँ गन्तव्यमा नेपाली हवाई सेवा प्रदायक कम्पनीलाई उडानको अनुमति प्रदान गरेको छ । योसँगै नेपालका विमान कम्पनीलाई चीनका १५ गन्तव्यमा उडानको अवसर जुटेको छ । चीनका कुन–कुन गन्तव्यमा नेपालले उडान गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने तथा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले चीनमा उडानका निम्ति गरेका आवेदनको शीघ्र निर्णयमा पुग्न प्रक्रियागत विषयलाई निरुपण गर्न छलफलका क्रममा अनुरोध गरिएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।