हिमालय एयरलाइन्सकाे काठमाडौँ–ढाका उडान सोमबारबाट शुरू

काठमाडाैं । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्षित गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले राससलाई जानकारी दिएका छन् । उनले पर्यटकीय सम्भावना बोकेको गन्तव्य बङ्गलादेशमा आफ्नो सञ्जाल विस्तार गर्न पाएकामा निकै उत्साहित भएको उल्लेख गरेका छन् । हिमालयको तालिकाअनुसार एचनाइन ६७८ काठमाडौँबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । सोही दिनको ढाकाबाट एचनाइन ६७९ जहाजले स्थानीय समय २ः१० मा उडान गरी काठमाडौँमा दिउँसो ३ः२० मा अवतरण हुनेछ । उक्त एयरलाइन्सले १५० इकोनोमी क्लास र आठ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानबाट ढाका उडान गर्नेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीन वटा जहाज छन् । व्यावसायिक, अध्ययन तथा घुमघाम प्रयोजनका लागि बङ्गालादेश जाने दुवै प्रकृतिका यात्रुलाई लक्षित गरेर उडान तालिका सार्वजनिक गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने विज्ञप्तिमा भनिएको छ । हिमालयले हाल कतारको दोहा, दुबई/आबुधावी र दमामको नियमित उडान गर्दै आएको छ । सन् २०१९ भित्रै चीनका विभिन्न गन्तव्यमा समेत उडान गर्ने कम्पनीको योजना रहेकाे छ । नेपाली पर्यटनका लागि बङ्गलादेश ठूलो स्रोत बजार हो । नेपाल पर्यटन बोर्डको विवरणअनुसार बङ्गलादेशबाट सन् २०१८ मा २६ हजार २५५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष २९ हजार ६० पर्यटक नेपाल आएका थिए । रासस

डाेल्पामा बढ्याे हवाई यात्रुको चाप, कारण के हाे ?

जाजरकोट । डोल्पालाई सडक सञ्जालले जोडे पनि हवाई जहाजमार्फत यात्रा गर्ने यात्रुको चापमा कमी आएको छैन ।जुफालस्थित विमानस्थलमा नेपाल वायुसेवा निगम, तारा एयर, समिट एयर र सीता एयरले उडान भर्ने गरेका छन् । जति जहाजले उडान भरे पनि यात्रुको चाप भने थेगी नसक्नुभएको युना ट्राभल्सका प्रतिनिधि श्रीया डाँगीले बताए । जाजरकोट–डोल्पा सडक सञ्जालभित्र अस्थायी कटान सकिए पनि सडकको स्तरोन्नति र पुल निर्माण नभएकाले हवाईमाध्यमबाट यात्रा गर्नेको सङ्ख्य दैनिक बढिरहेको छ । औषधि, अन्य सामग्रीसमेत जहाजमार्फत नै ढुवानी हुँदै आएको भिजिट कर्णाली टुर एण्ड टा«भल्सका प्रतिनिधि बालकृष्ण डाँगीले बताउँछन् । मौसम राम्रो हुनेबित्तिकै दैनिक तीन वटाभन्दा बढी उडान भर्ने गरेको नेपाल वायु सेवा निगमका जुफाल स्टेशन इञ्चार्ज सुमन विसीले बताएका छन् । उनले भने, “बिरामी, औषधि र आवश्यक काम सबै हवाईमाध्यमबाट हुने गरेको छ ।” सडक सञ्जालमा पुल निर्माण नभएका कारण सास्ती भोग्ने र दुःख पाउने भएपछि डोल्पा जाने र आउने यात्रु हवार्ईमार्गमार्फत यात्रा गर्न बाध्य छन् । वर्षायाममा खोेलामा पानीको मात्रा बढेका कारण ठाउँ, ठाउँमा यातायातका साधन फेर्नुपर्ने बाध्यताले गर्दा थप समस्या भएको डोल्पा ठूलीभेरी नगरपालिका– ६ का लक्ष्मीचन्द्र कार्कीले बताएका हुन् । जाजरकोट–डोल्पा सडकखण्डमा एक दर्जन पुल निर्माण गर्न बाँकी छ । डोल्पा आउने अधिकांश पर्यटक हवाईमार्गमार्फत नै आउने गरेका छन् । त्रिपुरासुन्दरी दर्शनदेखि उपल्लो डोल्पा, शे–फोक्सुण्डोमा जाने पर्यटक सबै हवाईमार्गमार्फत आउने गर्दछन् । जुफाल विमानस्थल स्तरोन्नतिको काम सम्पन्न भए पनि अहिले यात्रा थप सजिलो भएको छ । जुफाल विमानस्थलमा एक्स–रे मेसिन नहुँदा सुरक्षा जाँचमा समस्या भएको विमानस्थलका सुरक्षा प्रमुख कमल शाहले बताए । हातले छामेर, हेरेर दैनिक हवाईमार्गमार्फत पठाउने सामग्रीको जाँच हुँदै आएको छ । यसले सुरक्षा चुनौती भएको उनको भनाइ छ । डोल्पाबाट नेपालगञ्जका लागि रु पाँच हजार ११० हवाई भाडा लाग्ने गर्दछ । यातायातका साधनमा यात्रा गर्दा नेपालगञ्जबाट डोल्पा आउन रु पाँच हजारभन्दा बढी लाग्ने गरेको प्रचण्डविक्रम शाही बताउँछन् । दश ठाउँभन्दा बढी स्थानमा यातायातका साधन बदल्नुपर्ने बाध्यता भएको शाहीले उल्लेख गरे । जुफालबाट दुनै जानका लागि रुपगाड खोलाको पुल नहुँदा यात्रुले थप सास्ती भोग्दै आएका छन् । जहाजको टिकट पाउनका लागि पनि ठूलै युद्ध जिते झैँ हुने गरेको उनले बताए । सरकारले यो आर्थिक वर्षमा यो सडक खण्डको स्तरोन्नति र पुल निर्माणका लागि विशेष पहल गरिरहेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनाए । पहिलो चरणमा ट्र्याक खोल्ने काम पूरा भएको छ, अब स्तरोन्नति र पुल निर्माणमा ध्यान केन्द्रित हुने उनले भने । आज नै पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री सत्य पहाडीले सडक अनुगमन गरेका छन् । उता सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले सडकको काम जारी रहेको बताए । रासस

पर्यटन विभागद्वारा काठमाडौंका चार क्यासिनोको अनुगमन, बाँकीको पनि गरिने

काठमाडौं । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन् । बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिनेछ । नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा छन् । साना क्यासिनो सबै सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा छन् । प्रत्येक आर्थिक वर्षमा क्यासिनो नवीकरण गरिन्छ । ठूला क्यासिनोले रु चार करोड र साना (मिनी) क्यासिनोले रु एक करोड वार्षिक राजश्व बुझाउनुपर्छ । त्यस्तै नवीकरण दस्तुरबापत ठूला क्यासिनोले रु एक करोड र साना क्यासिनोले रु ५० लाख बुझाउनुपर्छ । ठूला क्यासिनोको निवेदन दस्तुर रु पाँच लाख र सानाको रु दुई लाख लाग्ने विभागले जनाएको छ । विभागको सगरमाथा हिमालपछि सबैभन्दा बढी राजश्व असुल हुने क्षेत्रमध्ये क्यासिनो नै प्रमुख हो । अघिल्लो आर्थिक वर्षमा विभागले रु एक अर्ब २० करोड राजश्व असुल गरेको थियो । क्यासिनोबाट मात्रै रु ४५ करोडभन्दा बढी राजश्व जम्मा हुने गरेको छ । क्यासिनो अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो । सो समितिका सदस्यमा विभागका महानिर्देशक डण्डुराज घिमिरे, विभागकै निर्देशक मीरा आचार्य, होटल तथा घरवास कार्यक्रम ‘होमस्टे’ शाखाका प्रमुख, होटल एशोसिएशन अफ नेपाल (हान) का प्रतिनिधि रहेका छन् । रासस