डेङ्गुका कारण पर्यटकीय क्षेत्रमा पर्यो ठूलो असर

चितवन । साउन महिनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक सौराहा भित्रने गर्दथे तर यस वर्ष यो सङ्ख्या २००को हाराहारी मात्र छ । यस वर्ष बसमा आउने पर्यटक दैनिक २०/३० को हाराहारी रहेका छन् भने समूहमा आउने २०० भन्दा कम छन् । गत वर्षमा समूहमा आउने पर्यटक र बसमा आउने पर्यटक पाँच/पाँच सय हाराहारी हुने गरेको उनको भनाइ थियो । सौराहाबाट दैनिक छ वटा बस काठमाडौँ र दुई वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटक मात्र आउने गरेका छन् । अहिले जिल्लाका विभिन्न स्थानबाट सर्वसाधारण चढ्ने गरेका कारण ती बसले खर्च धानेको जनाइएको छ । सौराहा क्षेत्रमा डेङ्गु नदेखिए पनि जिल्लाको शहरी क्षेत्रमा डेङ्गु देखिएकाले त्यसैको हल्लाका कारण पर्यटक घटेको अध्यक्ष भट्टराईले बताएका छन् । रत्ननगर नगरपालिकामा हालसम्म १३५ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । ती सबै बजार क्षेत्रका हुन् । पछिल्लो समयमा सौराहा क्षेत्रमा डेङ्गुको सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिए । जिल्लामा पनि असोज लागेसँगै यस्ता रोगीको सङ्ख्या घटेर गएको र अहिले डेङ्गु नियन्त्रणको क्रममा रहेको उनको भनाइ थियो । सौराहाका १२० होटलको सात हजार हाराहारी पर्यटक अटाउने क्षमता छ तर यहाँ डेङ्गुको सङ्क्रमण छैन भन्ने सन्देश समयमा नै पुर्याउन सकेमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने व्यवसायीहरूको भनाइ छ । यति बेला यूरोपेली र चिनियाँ पर्यटक मात्र सौराहा आएका छन् । क्रमशः आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै जाने बताइएको छ । भरतपुर र आसपासका होटलमा पनि असर भरतपुर र गैँडाकोट क्षेत्रमा रहेका पर्यटकीय होटलमा पनि डेङ्गुका कारण असर परेको छ । रेष्टुराँको व्यापारमा कमी आएको छ भने ठूला कार्यक्रमसमेत स्थगित भएका छन् । गैँडाकोटसिथत द नारायणी रिसोर्टका महाप्रबन्धक वसन्त पराजुलीका अनुसार चार दिनका लागि आवासीय कार्यक्रम अग्रिम तय भएकोमा डेङ्गुकै कारण स्थगित भएको छ । भदौ २६ देखि २९ गतेसम्मका लागि कार्यक्रम तय भएकामा डेङ्गुको त्रासका कारण कार्यक्रम स्थगित भएको उनले बताए । अन्यले पनि आफ्ना कार्यक्रम पछाडि सारेका छन् । पराजुलीका अनुसार डेङ्गुको सङ्क्रमण घट्दै गएकाले पूर्ववत् अवस्थामा व्यवसाय फर्कने अनुमान गरिएको छ । होटल रोयल सेञ्चुरीका ‘अप्रेसन म्यानेजर’ राजेन्द्र थापाका अनुसार रेष्टुराँको व्यापारमा ४० प्रतिशतसम्म गिरावट आएकामा केही दिनयता क्रमशः व्यापार बढ्न थालेको छ । कोठमा बस्ने र रेष्टुराँमा खान आउनेको सङ्ख्या नै घटेको थियो तर असोज लागेसँगै डेङ्गुको सङ्क्रमणमा कमी आएको छ । दशैँको समयमा डेङ्गुको सङ्क्रमण नियन्त्रणमा आउन सकेमा पूर्ववत् अवस्थामा व्यापार फर्कने व्यवसायीको अनुमान छ । स्थानीय पर्यटन विकास समितिका जिल्ला महासचिव विश्व सुवेदीले डेङ्गुका कारण यहाँ आउने धेरै पर्यटकले भ्रमण स्थगन गरेको बताए । रासस

नेपालगञ्जमा आर्थिक विकास परियोजना शुरू हुँदै, चार क्षेत्रमा विशेष प्राथमिकता

राँझा । नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना शुरू हुने भएको छ । जर्मन विकास नियोग (जिआइजेड)ले उपमहानगरपालिकामा सो परियोजना सञ्चालन गर्न लागेको नगरप्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिएका छन् । उनका अनुसार, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरी चार क्षेत्रमा परियोजनाले विशेष प्राथमिकता दिएको छ । कार्यक्रमले गाउँ र शहरलाई जोड्ने उनको दाबी छ । उनले भने, “यसले गाउँनगरलाई जोड्दै व्यवसाय पनि प्रोत्साहन पनि गर्नेछ ।” सन् २०१९ को जुन १ देखि कार्यान्वयन प्रक्रियामा रहेको परियोजना २०२२ को मे १ सम्म सञ्चालन हुनेछ । प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका अध्यक्ष आइपी खरेलले सरकार र जनताको आवश्यकताअनुसार दातृ निकायका कार्यक्रम सञ्चालन हुनुपर्ने बताएका हुन् । जिआइजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले उक्त कार्यक्रमले उपमहानगरपालिकाले लाभ लिनसक्ने बताए । उनका अनुसार, उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआइजेडले कार्यक्रम र बजेटको निर्णय गर्नेछ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य, जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष भीमलाल कँडेलले परियोजना कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वय गर्ने जानकारी दिएका छन् । रासस

श्री एयरलाइन्सद्वारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले रु ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ । छुटको टिकट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले सो सुविधा पाउने जनाइएको छ । एउटा उडानमा अधिकतम दुई जनाले मात्रै सो सुविधा पाउने कम्पनीले स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो वर्ष दिनको कार्ययोजनामा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा गरेका थिए । त्यसको कार्यान्वयनका रुपमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले केही दिनअघि विज्ञप्ति निकालेर ५० प्रतिशत छुटको घोषणा गरेको थियो । निजी क्षेत्रकातर्फबाट श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार (दुई सिआरजे २०० र दुई सिआरजे ७००) जहाजले चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ । रासस