दशैंमा घुम्न जाने सोचमा हुनुहुन्छ ? यी हुन सक्छन् उचित गन्तब्य

काठमाडौं। दशैंमा घुम्न जानेहरूको चहलपहल बढ्दै गएको छ । यतिखेर दशैंतिहार नमनाएर घुम्न मन पराउनेहरू विभिन्न पर्यटकीय गन्तव्यहरूको बारेमा जान्न र बुझ्न खोज्दै हुुनुहुन्छ। विदाको समय पारेर परिवार र साथीहरुसँग मुलुकका प्रचलित पर्यटकीय स्थलहरूमा घुम्न जाने गर्दछन् । विशेषतः घुम्नका लागि बसन्त र सरद ऋतु उत्तम मानिन्छ । यो मौसममा धेरैजसो मानिसहरु घुम्न निस्कने गर्छन । छुट्टीको समयमा घुम्न मन पराउनेहरूको चाहनालाई मध्येनजर गर्दै हामीले केही पर्यटकीय स्थलहरूको बारेमा चर्चा गरेका छौं । खप्तड सुदूरपश्चिम प्रदेशको प्रसिद्ध र सुन्दर पर्यटकीय स्थलका रुपमा खप्तडलाई लिइने गरिन्छ । प्रदेशका चार पहाडी जिल्ला बाजुरा, बझाङ, अछाम र डोटीकोबीचमा पर्ने खप्तडलाई स्वर्गको उपमा पनि दिइएको छ । फराकिला फाँट हेर्नैका लागि आन्तरिक र बाह्य पर्यटकहरु खप्तड राष्ट्रिय निकुञ्जमा पुग्ने गर्दछन् । समुन्द्री सतहबाट तीन हजार पाँच सय मीटरसम्म उचाइमा रहेको यस निकुञ्जमा ५ सय ६७ थरीका वनस्पति र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुंगीं मध्ये साढे दुई सय भन्दा बढी चराचुरुंगी पाइन्छन् । खप्तडमा ५२ वटा ताल रहेका छन् । पोखरा पोखरा नेपालको प्रमुख पर्यटकीय स्थल मध्येको एक हो । पोखरामा दशैंको समयमा मात्र होइन हरेक समयमा घुम्न जानेहरूको घुँइचो लाग्ने गर्दछ । पोखराको डेविड फल, गुप्तेश्वर, छाँगा छहरा हेर्न, बिन्दावासिनी, तालबराहीलगायतका प्रसिद्ध धार्मिक स्थलहरूको अवलोकन गर्न पनि पाइन्छ । फेवातालमा पर्ने माछापुच्छे्रको छाँया हेर्दै डुङ्गा चढ्न र रमणीय हिमालहरू अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पोखरा पुग्ने गर्छन् । रारा नेपालको पर्यटकीय स्थल भन्ने वित्तिकै धेरैले राराको नाम लिने गर्छन् । समुन्द्री सतहबाट २९ सय ९० मिटरको उचाईमा रहेको राराताल सुन्दर मात्र होइन उतिकै मनमोहक र प्रख्यात पनि छ । रारा ताल १० दशमलब ८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो तालमा विश्वका अन्यत्र नपाइने स्नो ट्राउट प्रजातीका माछा पाइन्छन् । घामको किरणसँगै राराले आफ्नो रंग बदल्ने गर्छ । रारा पुग्नका लागि हवाई तथा स्थलमार्ग प्रयोग गर्न सकिन्छ । मुस्ताङ हिमाल पारीको जिल्लाका रुपले परिचित मुस्ताङ आन्तरिक तथा बाह्य पर्यटकहरूको आकषर्णको थलो हो । मुस्ताङको मनोरम दृश्यको अवलोकन गर्न मात्र नभइ मानिसहरू मुक्तिनाथ मन्दिरको दर्शन गर्न मुस्ताङ पुग्ने गर्छन् । यो जिल्लामा धौलागिरी र निलगीरी दुई प्रख्यात हिमालहरू छन् । मुस्ताङको मार्फा गाउँ पनि पर्यटकका लागि आकर्षको बनेको छ । वरिपरी पहाडले घेरिएको उक्त गाउँ निकै सुन्दर र मनोरम छ । यस्तै मुस्ताङको अर्को रमणीय स्थल हो कागबेनी । यहाँ विभिन्न चलचित्रहरूका साथै म्यूजिक भिडियो समेत छायांकन हुने गर्छ । सौराहा नेपालका धेरै गन्तव्य स्थलमध्ये सौराह पनि एक उम्दा पर्यटकीय क्षेत्र हो । चितवनको सौराहा, मेघौली, सिराइचुली, लामो झरना लगायत चितवनका आकर्षक पर्यटकीय गन्तब्य हुन् । काठमाडौबाट मुग्लिन हुँदै १ सय ६५ किमी सडकको दुरीमा चितवन पुग्न सकिन्छ । नेपालको आकर्षक पर्यटकीय गन्तब्यका रुपमा रहेको सौराहा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ । एक सिंगे गैडा पाइने सौराह निकुञ्जमा हात्ती चढेर जंगल घुम्न, राप्ती नदिमा डुङ्गा सयर गर्न र सुर्यास्त हेर्न सौराहाको आकर्षण हो पाथिभरा पाथिभरा ताप्लेजुङमा पर्ने प्रख्यात धार्मिक स्थल हो । समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरादेवी विश्वमै प्रख्यात रहेकी छिन् । पाथिभराबाट विश्वका विभिन्न हिमश्रृंखलाहरू अवलोकन गर्न पाइन्छ । काठमाडौंबाट दुई दिनको बस यात्रामा पाथिभरा पुग्न सकिन्छ । लुम्बिनी पर्यटकहरुका लागि शान्तिका प्रतिक भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी उत्कृष्ट गन्तब्य हो । काठमाडौंबाट तीन सय किलोमिटर दुरीमा रहेको लुम्बिनी ऐतिहासिक दृष्टिकोणले अत्यन्तै प्रसिद्ध मानिन्छ ।लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । २५६२ वर्ष पहिला सुन्दर र पवित्र बगैंचामा माता मायादेवीको कोखबाट शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म भएको थियो । त्यसैले संसारभरका बौद्ध धर्मालम्बीहरूको लागि लुम्बिनी आकर्षक गन्तब्यका रुपमा लिने गरिन्छ । संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ। हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरू तथा अध्ययनकर्ताहरूले लुम्बिनीको भ्रमण गर्छन् । इलाम इलाम घुम्न जाने सबैको चाहना हुन्छ । पर्यटकहरूले सबैभन्दा रुचाउने पर्यटकीय स्थलमध्ये इलाम पनि एक हो । इलामको कन्याम चियाबारी घुम्न जानेको जहिले पनि भिड लाग्छ । इलाममा घुम्न लायक कन्याम, अन्तुडाँडा, छिन्टापु, पाथिभरा, इलाम बजारलगायतका थुप्रै स्थानहरू रहेका छन् ।इलाममा पिकनिक स्पोर्टस्, होमस्टे तथा अवलोकन स्थानहरू प्रशस्त छन् । इलामको चिया बगानमा घोडा चढेर चियाका बोटले भरिएका डाँडाहरु अवलोकन गर्न सकिन्छ । इलामको अग्लो डाँडो सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइमा छ । त्यस डाँडाबाट कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमालहरू देख्न सकिन्छ । स्वर्गद्वारी स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो एक धार्मिक तिर्थस्थल हो । स्वर्गद्वारीबाट धौलागीरी, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायतका हिमश्रृंखलाहरू देखिन्छन् । समुन्द्री सतहबाट २ हजार ४८ मिटरको उचाइमा रहेको छ स्वर्र्गद्घारी ।पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको द्वार भएर स्वर्ग गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । त्यसैले यो ठाउँलाई स्वर्गद्वारी भनिएको हो । यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको पाइन्छ । भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ । स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । यहि विशवासका साथ पर्यटनहरू त्यहाँ पुग्ने गर्छन । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।

प्रदेश नं २ पाँच लाख पर्यटक भित्र्याउने तयारीमा

लहान । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरुलाई लिपिबद्ध गर्न एकीकृत दस्ताबेज गर्न लागेको हो । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यो प्रदेशमा पर्यटकीय क्षेत्रहरु धेरै रहेपनि एकीकृत दस्तावेज नहुँदा त्यसबारे सबैलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको भ्रमण वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झाले जानकारी दिएका छन् । प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र छन्, तर वास्तविक सङ्ख्या एकिन नहुँदा पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रहरुसमेत ओझेलमा परेको छ । संयोजक झाले भने, “पर्यटकलाई आकर्षित गर्न कुन–कुन पर्यटकीय क्षेत्र तथा धार्मिकस्थलहरु उपयुक्त हुन्छ र त्यस्ता पर्यटकीय क्षेत्रहरु कतिको सङ्ख्यामा छन् भन्ने कुराहरु पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेका छौँ ।” यसरी तयार गरिने एकीकृत दस्तावेज प्रदेश नं. २ का ८ वटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने उनको भनाइ छ । यस्तै, भ्रमण वर्षलाई दृष्टिगत गरी प्रदेश नं २ का आठै जिल्लाको शहरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । महोत्तरीबाट शुरु गरिएको सरसफाइ अभियान प्रदेश नं २ को सबै जिल्लाका प्रमुख शहरमा लैजाने र त्यसका लागि सरकारकारवालाहरुसँग अन्तरक्रिया गरिरहेको संयोजक झाले बताए । सरकारले कार्यविधि र बजेट उपलब्ध नगराउँदा भ्रमण वर्षको तयारीमा केही कठिनाइ भइरहे पनि भ्रमण वर्षलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा कार्यक्रम अघि बढाएको संयोजक झाको भनाइ छ । रासस

थोमस कुकको अन्त्य र एनएसीको भविष्य

निगमकाे जहाजकाे फाइल तस्बिर १७८ वर्ष इतिहास अन्त्य गर्दै विश्वको पहिलो ट्राभल कम्पनी थोमस कुकले गत साता औपचारिक टाट उल्टिएको घोषणा गर्यो । यसले विश्वका १६ देशमा २२ हजार कर्मचारीलाई बेरोजगार बनायो । सन् १९४१ मा बेलायतमा खुलेको उक्त कम्पनीले टुर प्याकेजको योजना ल्याएसँगै सन् १९५५ मा अन्तराष्ट्रिय कम्पनीको रुपमा परिणत भएको थियो । सन् १८९२ मा कम्पनीका संस्थापक थोमस कुकको निधन भएपछि मैसन कुकले उक्त कारोबार सम्हालेका थिए । सन् १९२८ मा उक्त कम्पनी सो परिवारले अर्को मालिकलाई बेचिदिएका थिए । दोस्रो विश्वयुद्धमा सो कम्पनीले आफ्ना यात्रुहरुको राम्रो व्यवस्थापन गर्न सकेन । परिणाम १९४८ मा सो कम्पनीलाई व्रिटिस सरकारले राष्ट्रियकरण गरेको थियो । २४ वर्षपछि सन् १९७२ मा सो कम्पनीलाई फेरि निजी क्षेत्रलाई हस्तान्तरण गरियो जसको शेयर मिडल्याण्ड बैंक, होटलियर ट्रष्ट हाउस फोर्ट र अटोमोबाइल एशोसिएसनले किनेका थिए । सन् १९९२ मा सो कम्पनीलाई जर्मनीको सहवित्तीयकरण गर्ने संस्थाले लगानी गर्यो । फेरि २००१ मा सी एण्ड एन टुरिस्टिक एजी नामक कम्पनीले यसको अधिग्रहण गरेपछि त्यसको नाम थोमस कुक एजी भएको थियो । २००७ मा सो कम्पनीले ले बेलायतकै एउटा ट्राभल कम्पनी माई ट्राभल्सलाई आफूमा गाभ्यो । कम्पनी बन्द हुनुको पछाडि प्रतिस्पर्धालाई नै मुख्य कारणको रुपमा लिइएको छ । इन्टरनेटको माध्यमबाट सस्तो हवाई टिकट बुक गर्ने कम्पनीहरु सक्रिय भएपछि ‘ट्राभल प्याकेज’ गर्ने यसलाई थप अप्ठ्यारो परेको थियो । यो कम्पनी बचाउन अघिल्लो महिना मात्रै चीनको एउटा इन्भेष्टमेन्ट कम्पनीले १.१ अर्ब डलर लगानी गर्यो तर त्यसले पनि कम्पनीलाई बचाउन सकेन थोमक कुकको अन्त्यले के प्रष्ट पारेको छ भने कम्पनी पुरानो र ब्राण्ड पुरानो हुँदैमा कम्पनी बलियो हुँदैन । यो सत्यतालाई नेपाल वायुसेवा निगमले आत्मसाथ गर्नु जरुरी छ । निगमको सुधारका लागि सरकारले गठन गरेको एक कार्यदलले निगम सुधारको लागि विभिन्न सुझाव प्रस्तुत गरेको छ । निगम करिव ४० अर्ब रुपैयाँ ऋणमा डुबेको छ । असार मसान्तसम्म ५ अर्ब २१ करोड ७६ लाख सञ्चित नोक्सानीमा रहेको छ । निगमको आर्थिक व्यवस्थापनका लागि नेपाल वित्तिय प्रतिवेदन मान(एनएफआरएस) अनुसार बनेको छैन । कर्मचारीहरुलाई तलव भुक्तान गर्न पनि समस्या हुने अवस्था देखिएको छ । एकातिर निगममा दक्ष जनशक्ति छैनन् । निगमको सञ्चालन खर्च धान्न आवश्यक विमान समेत छैनन् । निगम सुधारका लागि थप २ वटा एयर बस ३२० खरिद गर्न सुझाव दिएको छ । समयानुकुल प्रतिस्पर्धामक क्षमता अभिबृद्धि गर्न जहाजको कमि, व्यवस्थापनमा राजनीतिक हस्तक्षेप, परम्परागत र अपारदर्शी निर्णय र प्रक्रिया, राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्ने दक्ष जनशक्तिको अभाव लगायतका निगमका कमजोरी रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । बहुपक्षीय लगानीकर्ता भित्र्याउँदै कम्पनी मोडलमा लैजानुपर्ने लगायत १३ सुझाब दिएको छ । उक्त सुझावलाई कार्यान्वन गर्दै निगम बचाउने दिशामा तत्काल काम थाल्नुपर्ने देखिएको छ ।