पर्यटककाे सङ्ख्या बढेसँगै राजश्वमा वृद्धि

धम्बोझी । बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै उनीहरुबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा १३ हजार २०७, आव २०७१÷७२ मा १३ हजार ५४८, आव २०७२÷७३ मा १० हजार ६४१, आव २०७३÷७४ मा १८ हजार नौ, आव २०७४÷७५ मा २० हजार ८४, आव २०७५÷७६ मा २४ हजार ५५८, २०७६÷७७ मा छ हजार ७३५ गरी एक लाख छ हजार ७३५ विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । आव २०७५÷७६ मा रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । यस आवमा २०७६÷७७ मा रु ७६ लाख ९६ हजार ६८ राजश्व सङ्कलन भएको छ । चार वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा ४४ हजार १६६ विदेशी पर्यटक आएका छन् । निकुञ्जमा चार वर्षको अवधिमा ४४ हजार १६६ विदेशी पर्यटकले पाटेबाघ, एकसिङ्गे गैँडा एशियाका ठूलो राजागज हात्ती हेर्न पर्यटक आएको निकुञ्ज संरक्षण प्रमुख बरालले बताएका छन् । निकुञ्ज आउने आन्तरिक पर्यटकको सङ्ख्या धेरै रहेको बरालको बताए । करिब ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा छ । सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापित निकुञ्जलाई सन् १९८२ मा शाही बर्दिया वन्यजन्तु आरक्ष नामाङ्कन गरिएको थियो । सन् १९८४ मा बबई नदी आसपासको क्षेत्रलाई पनि यसमा समेटिएको थियो । सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा यो क्षेत्र घोषणा भएको हो । पाटेबाघ, गैँडा, घडियाल गोही, डल्फिन, जरायो, कृष्णसारजस्ता लोपोन्मुख वन्यजन्तु पनि यस निकुञ्जमा संरक्षित छन् । विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार हेर्न आउनेको यहाँ लर्को लाग्ने गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटल क्षेत्रमा लगानी गर्ने क्रम पनि दिनानुदिन बढिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर पुष्प श्रेष्ठले जानकारी दिए । प्रमुख पर्यटकीय गन्तव्यका रूपमा पर्यटक भित्र्याउन निकुञ्जमा अझै धेरै काम गर्न बाँकी रहेको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शङ्करप्रसाद थारू बताउँछन् । प्रदेश नं ५ लाई प्रमुख पर्यटकीय मार्ग बनाउन धेरै पर्यटक भित्र्याउन हवाईभाडा कम गर्न राज्य लाग्नुपर्ने प्रदेश नं ५ का प्रदेशसभा सदस्य तिलक शर्माको माग छ । रासस

भद्रपुर विमानस्थल आजदेखि पुनः सञ्चालन, धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि साढे १० करोड खर्च

भद्रपुर । झापाको भद्रपुर विमानस्थल १० दिनपछि पुनः आजदेखि सञ्चालनमा आएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकार्य सकिएपछि विमानस्थल आजदेखि सञ्चालनमा आएको जनाएको हो । गत कात्तिक २६ गतेदेखि मङ्सिर ५ गतेसम्म मर्मत तथा स्तरोन्नतिका लागि विमानस्थल बन्द गरिएको थियो । विमानस्थलको एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताएका छन् । उनका अनुसार सो धावनमार्गमा २० वर्षसम्म समस्या आउने छैन । उनले सो धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाख खर्च भएको बताएका छन् । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तार, भवनको स्तरोन्नतिलगायतका काम गरिएको हो । रासस

चीनमा सञ्जाल जोड्दै हिमालय एयरलाइन्सः हरेक बुधबार काठमाडौंबाट चाङ्साका लागि उडान भर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंदेखि चीनको चाङ्सालाई जोड्ने थप अर्काे सेवा उपलब्ध गराउने भएको छ । चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण वर्ष २०२० शुरु हुनु अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको छ । यो नयाँ सेवाका साथ नेपालीहरु सहज, किफायती र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् । गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान रुट प्रस्तुत गरेको छ । प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो । हिमालय एअरलाइन्सको विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ । आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ । चीनले नेपाललाई नयाँ फुर्सदको समय बिताउने गन्तव्यको रुपमा लिने गरेको छ जुन विगतका केही वर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही वर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ । । अब यात्रुहरुका लागि नेपाल चीनबीच दुईवटा थप नयाँ प्रवेशद्वार हुनेछ । हालसम्म घोषणा गरिएका रुटहरु हिमालय एयरलाइन्सको सञ्जाल विस्तार गर्ने भविष्यका धेरै सम्भावनहरु मध्येको एक हो जसले नयाँ रुट तथा स्पष्ट बार्षिक उडान तालिकाहरु उपलब्ध गराएको छ ।” काठमाडौं–चाङ्साको नयाँ थप सञ्जाल जोडिएसँगै नेपालको पर्यटकीय अर्थतन्त्रमा ठूलो तवरबाट योगदान दिने र नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई सबै सम्भावित पक्षबाट बलियो बनाउनेछ ।