मठ, मन्दिर र तालतलैया सफा गर्दै पर्यटन मन्त्री योगेश भट्टराई, भ्रमण वर्षको प्रवद्र्धन
जनकपुर । छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको अगुवाइमा जनकपुरका मठ, मन्दिर र तालतलैयामा सरसफाइको अभियान शुरु भएको छ । छठपर्व र नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका क्रममा आज केन्द्र र प्रदेश सरकारको आयोजनामा जनकपुरमा सर्वपक्षीय सहभागितामा चियापान कार्यक्रम राखिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिए । यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो ।
शुल्क महङ्गो भो, सङ्कटमा मुस्ताङको पर्यटन व्यवसाय
मुस्ताङ । सडक र महङ्गो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन । पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले माग गरेका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई पाँच सय डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था छ । दश दिनभन्दा बढी बस्नुपर्दा कारण खुलाएर प्र्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनुपर्छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा करोडौँ खर्चेर सुविधासम्पन्न होटल खोल्ने क्रम बढे पनि महङ्गो शुल्क र झन्झटिलो प्रक्रियाका कारण पर्यटन व्यवसाय सङ्कटमा परेको होटल व्यवसायी रामबहादुर गुरुङले गुनासो गरे । दुई गाउँपालिकामा रु ३० लाखदेखि २० करोडसम्म लगानीमा दैनिक ५०० जना बास बस्न सक्ने क्षमताका करीब ५० रिसोर्ट, होटल तथा लज सञ्चालनमा छन् । नयाँ होटल थपिने क्रम बढ्दो छ । बिदा र चाडपर्वको समयमा आन्तरिक पर्यटकको आगमन बढे पनि नियमित छैन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० लोमान्थाङका अनुसार सन् २०१६, २०१७ र २०१८ मा क्रमशः तीन हजार ९१८, चार हजार १५ र तीन हजार ९४६ विदेशीले उपल्लो मुस्ताङ घुमेका छन् । सन् २०१९ मा पनि गत वर्षकै हाराहारीमा आएका छन् । पर्यटक आगमन बढाउन नयाँ पदमार्ग र गन्तव्यको खोजीमा प्राथमिकता दिएको एक्याप लोमान्थाङका निमित्त प्रमुख श्रीकृष्ण न्यौपानेले बताए । सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुला गर्दा पहिलो वर्ष ४८३ पर्यटक आएका थिए । सन् २००७ सम्म प्रतिदिन ७० डलर प्रवेश शुल्क हुँदा वार्षिक ८०० पर्यटक आउने गरेकामा शुल्क घटाएपछि बढेका थिए । कलात्मक पहाड, उजाड मरुभूमिजस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका यस क्षेत्रको आकर्षण हुन् । उपल्लो मुस्ताङको पर्यटन विकासका लागि शुल्क समायोजन, नयाँ गन्तव्य र पदमार्गको पहिचान, अनुमति लिने प्रक्रियालाई सरलीकरण, स्वदेशीलाई आकर्षित गर्ने र प्रचारप्रसारमा जोड दिनुपर्ने देखिएको छ । रासस
एक हजारले लिए आरोहण अनुमति, छ करोड १७ लाख राजस्व सङ्कलन
काठमाडाैं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । हालसम्म १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएकाे पर्यटन विभागले जनाएको छ । विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका लागि ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्न सक्ने पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । हिमाल आरोहणका लागि हालसम्म उनीहरूबाट करिब छ करोड १७ लाख राजस्व सङ्कलन भएको विभागले जनाएको छ । सगरमाथा बाहेक अन्य १२ वटा अग्ला हिमालका लागि पनि अनुमति लिनेहरुको संख्या बढिरहेको विभागले जनाएकाे छ । हालसम्म नेपालमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार अमेरिकी डलर तिरे पुग्ने गरेको छ । नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा बढी खर्च गर्नेमा आरोहणमा आउने आरोहीहरू छन् । जसबापत प्रत्येक वर्ष नेपाल सरकारले झन्डै ४० करोड रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ । नेपालमा आरोहणका लागि आउने पर्यटकहरू कम्तीमा ४५ दिनदेखि ७५ दिनसम्म बस्छन् । आरोहणमा आउने पर्यटकले नेपाल बसाइको क्रममा ३५ हजार डलरदेखि ६० हजार डलरसम्म खर्च गर्ने गरेका छन् । जसमा आरोहण स्वीकृतिको लागि एक जनाले ११ हजार डलर सरकारलाई बुझाउने गरेका छन् । आरोहणमा एजेन्सीहरूले ३५ हजारदेखि ६० हजार डलरसम्म लिएर बुकिङ गराउने गरेका छन् । एक जना आरोहणमा जाँदा ७ जनादेखि १५ जनासम्मले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । आरोहणका लागि जाने सहयोगीले दैनिक १ हजारदेखि २५ सय रुपैयाँ पाउने गरेका छन् ।