पर्यटन विकासका लागि २० वर्षे गुरुयोजना तयार, वार्षिक तीन करोड आम्दानी हुने

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकाले २० वर्षे गुरुयोजना तयार गरेको छ । विभिन्न चरणको छलफलपछि गाउँपालिकाले २० वर्षे गुरुयोजना तयार गरेको हो । विश्वभर प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । “बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीयस्थल हो”, थापाले भने, “यसको थप विकासका लागि आजैदेखि काम थाल्न आवश्यक छ ।” गाउँपालिकाका प्रमुख थापाका अनुसार गुरुयोजनाअनुरुपका नीति तयार गरी विकासका कार्यक्रमलाई कार्यान्वयन गर्दै लगिनेछ । उनका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको भरपुर प्रयोग गरिनेछ । बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरुको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई बन्दीपुरको विकासमा प्रयोग गरिने लक्ष्य बनाइएको छ । काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने थापाले जानकारी दिए । गाउँपालिकाले बन्दीपुरको पर्यटन विकासका लागि माघ महीनाभित्रमा शिशाको दृश्यावलोकन स्तम्भ निर्माणको काम शुरु गर्ने भएको छ । बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब तीन करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ । एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ को डिपिआर तयार भइसकेको छ । थापाका अनुसार दृश्यावलोकन स्तम्भ निर्माणपछि गाउँपालिकालाई वार्षिक तीन करोड रुपैयाँ आम्दानी हुनेछ । त्यस्तै पर्यटकलाई आकर्षित गर्नका लागि जिप फ्ल्यार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने कामलाई अगाडि बढाइएको छ । दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफामा उद्यान निर्माणलाई अगाडि बढाइएको छ भने जनप्रतिनिधि उद्यान निर्माण सम्पन्न भइसकेको छ । २० वर्षभित्र पर्यटकलाई कम्तीमा दुई रात बन्दीपुरमा बास बस्न सक्ने गरी पूर्वाधार निर्माणलाई जोड दिइएको थापाले जानकारी दिए । बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जोकसैको मन लोभिने गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा ग्रिनपार्क, फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ५७ होटल तथा २२ घरवास सञ्चालनमा छ । ती सबै होटलमा एकैपटक एक हजार ३०० देखि एक हजार ४०० पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुरमा होटलमा करीब १५० भन्दा बढीले रोजगारी पाएका छन् । रासस

५७ हजार विदेशी पर्यटक मुस्ताङमा, भ्रमण शुल्क महँगो भएका कारण अघिल्लो वर्षभन्दा कम

मुस्ताङ । सन् २०१९ मा ५७ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख तुलसी दाहालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म ५७ हजार ५६५ विदेशी पर्यटक मुस्ताङ भ्रमणमा आएका जानकारी दिएका छन् । सन् २०१८ मा ५९ हजार ८३८, २०१७ मा ५२ हजार ४७५ र २०१६ मा ३९ हजार १७ ले मुस्ताङ भ्रमण गरेका थिए । पुरानो पदमार्ग सडकमा परिणत भएको र उपल्लो मुस्ताङ भ्रमणको शुल्क महँगो भएका कारण पर्यटक आगमनमा असर परेको लोमान्थाङका होटल व्यवसायी रामबहादुर गुरुङले बताए । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेको मुस्ताङ भ्रमणमा आउनेमा सबैभन्दा बढी भारतीय पर्यटक छन् । एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । मे महिनामा १२ हजार १४० र अप्रिलमा १० हजार २६६ भित्रिएको तथ्याङ्क छ । जनवरीमा ५०५, फेब्रुअरीमा ४४५, मार्चमा पाँच हजार ३७८, जुनमा तीन हजार ६१०, जुलाईमा दुई हजार १४०, अगस्टमा दुई हजार २७८ आएका छन् । यसैगरी, सेप्टेम्बरमा पाँच हजार ११८, नोभेम्बरमा पाँच हजार ८६२ र डिसेम्बरमा एक हजार ८९ ले मुस्ताङ घुमेका छन् । मुस्ताङ भ्रमण गर्ने पर्यटकमा सार्क मुलुकका पर्यटक बढेका छन भने पश्चिमी देशका पर्यटक आगमन घटेको देखिएको छ । करिब चार हजार पर्यटक अर्धनिषेधित क्षेत्र मानिएको उपल्लो मुस्ताङ घुम्न गएका छन् । माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृति, मुक्तिनाथ, ठिनी, धुम्बा ताल, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटलगायत मुस्ताङमा थुप्रै पर्यटकीय आकर्षण छन् । मुस्ताङ अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो । मुस्ताङमा प्राकृतिक सुन्दरता र पदयात्रामा रमाउने, लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, तिब्बती कला संस्कृतिको अध्ययन र मुक्तिनाथ दर्शनका लागि विभिन्न मुलुकबाट पर्यटक आउने गरेका छन् । पर्यटकको सुविधाका लागि मुस्ताङको लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ, छुसाङ, चराङ, लोमान्थाङमा करिब ३०० होटल तथा लज सञ्चालनमा छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो । पोखरा–जोमसोम हवाई र म्याग्दीदेखि बेनी–जोमसोम सडक भएर मुस्ताङ पुग्न सकिन्छ । पर्यटकको बसाई अवधि र आकर्षण बढाउन सडकमा परिणत भएका पदमार्गको विकल्पमा नयाँ पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिइएको एक्याप जोमसोमका प्रमुख दाहालले बताए । रासस

वर्षासँगै भारी हिमपातले जनजीवन कष्टकर, हवाइ उडान बन्द

सुर्खेत । कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । त्यहाँ अहिले सबै विद्यालयमा जाडो बिदा छ । हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको जुम्ला बस्दै आएका मुगुका निवासी नोर्बु लामाले जानकारी दिए । “बाहिर हिउँसँगै पानी परिरहेको छ । बाहिर आउने अवस्था छैन”, लामाले भने, “वर्षेनी यो समयमा जाडो र हिमपात भइरहँदा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गर्दछ ।” हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित पार्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अर्जुनप्रसाद तिवारीले जानकारी दिए । यो समयमा भाइरल रुघाखोकी, निमोनिया, दमको रोगको समस्या हुने भन्दै डा तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि लिनेले नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान सबैलाई आग्रह गरेका छन् । कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको पाइएको छ । जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । मूलतः हिमपात र वर्षाले कृषक लाभान्वित हुने कृषि विकास कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताएका छन् । । चिसोमै भए पनि बिहीबार जुम्लामा छाउगोठ भत्काउने महाअभियानको कार्यक्रम सम्पन्न गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले राससलाई जानकारी दिए । उनले सरकारी कार्यालयमा बिहीबारदेखि चिसो बढेकोले काम गर्न गाह्रो भएको बताए । “जुम्लाको तापक्रम करिब माइनस १० डिग्री पुगेको छ, यद्यपि आगो बालेर भए पनि नियमित सेवा प्रवाह हुन्छ न”,, उनले भने । कतिपय आकस्मिक काम यही समय हुने भएकाले सेवाग्राहीलाई समस्या नहोस् भनेर कार्यालय खुला नै रहने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताएका छन् । रासस