भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’, बाइकको ट्रयाकसमेत खोल्ने तयारीमा
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङको उत्तरी भेगमा रहेको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित खानीगाउँ ‘रक गोर्डेन’ ले भ्रमण वर्ष २०२० मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न थालेको छ । घेर्मुका स्थानीयवासीले नेपालमै पहिलोपटक ‘रक गार्डेन’ को अवधारणा भित्र्याएर प्राकृतिक सौन्दर्यताप्रति रुचि राख्ने र भ्रमण वर्षमा फरक खालको ठाउँमा घुम्न चाहने पर्यटकलाई उक्त गोर्डेनले आकर्षित गर्दै तान्न थालेको हो । उक्त ‘रक गार्डेनको अवधारणा लागू गरेको र यतिबेला पर्यटक आगमनको चाप बढ्न थालेको रक गार्डेन संरक्षण तथा पर्यटन व्यवस्थापन समितिका अध्यक्ष कामसार्की गुरुङले बताए । आन्तरिक पर्यटक होस् या विदेशी पर्यटक यहाँ आउने जो कोही पनि रक गार्डेनको सुन्दरता देखेर तीन छक्क पर्ने गर्छन् । सुन्दरताको खानी ‘रक गोर्डेन’ पहरै पहराले बनेको छ । कतै गुफा छन्, कतै ओढार । कतै ठूला ठूला सुरुङ भेटिन्छन् । मनै लोभ्याउने ‘रक गोर्डेन’ हेर्न तथा अवलोकन गर्नलाई आधा घण्टाभन्दा बढी समय लाग्छ । एउटा पहराबाट अर्को पहरामा जानका लागि चार वटा पुल निर्माण गरिएको छ । त्यस्तै, पहराभित्र रहेको सुरुङमा समेत विभिन्न कुराहरु हेर्न सकिन्छ । सुरुङ पुरै घुम्नलाई करिब डेढ घण्टा समय लाग्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण रक गोर्डेनमा नरमाउने त सायदै होलान् । “अहिलेसम्म यस्तो चट्टाङ देखेकी थिइन् । प्राकृतिक सुन्दरता पनि भेटे । यस्तो रकगार्डेनले स्वर्ग मै आएको अनुभूति दिलाएको महसुस भएको पर्यटक यूनिता श्रेष्ठले बताइन् ।” त्यस्तै, बेँसीशहरबाट रकगार्डेन हेर्न पुगेका सुकराम दुलालले भने, “घुम्नका लागि पुग्नैपर्ने ठाउँ रहेछ खानीगाउँ रक गार्डेन । यहाँ पहाडी तथा ग्रामीण भेगका पर्यटकभन्दा अझ बढी शहर बजार र तराईतिरको पर्यटकका लागि एकदम उत्तम हुनसक्ने उनको भनाइ छ । भित्रै खान बस्न र रमाइलो गर्नका लागिसमेत उचित रहेकाले ‘रक गार्डेन’ ले थप मन लोभ्याएको दुलाल भन्छनन् । त्यहाँ विदेशी पर्यटक आउँदा कति पर्यटक त ओड्ने ओछ्याउने कपडा ल्याएर त्यहाँस्थित गुफाभित्रै सुत्ने गरेको मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले बताए । उनले भने, “रक गार्डेन पर्यटकीय हिसाबले निकै सम्भावना भोकेको छ ।” यहाँ अहिले आन्तरिकभन्दा विदेशी पर्यटक बढी आउने गरेको समितिका सचिव सीता गुरुङले बताएकी छन् । “रक गार्डेनले भ्रमण वर्ष सफल बनाउनका लागि समेत टेवा पुगेको छ”, उनले भनिन्, “भ्रमण वर्षको शुरुआतदेखि यता विदेशी र आन्तरिक पर्यटकको आगमनमा वृद्धि भइरहेको छ ।” पर्यटकलाई आकर्षित गर्न रक गार्डेनलाई अझै थप व्यवस्थित बनाउने योजना रहेको सो समितिले जनाएको छ । समितिका अनुसार रक गार्डेनको स्तर उन्नतीका लागि जिल्ला समन्वय समिति, मर्स्याङ्दी गाउँपालिका, वडा कार्यालय लगायतको सहयोग छ । हालसम्म रु २१ लाख रकम गार्डेनमा खर्च भएको समितिका अध्यक्ष गुरुङले बताए । गार्डेनभित्रै सुत्न र बस्न व्यवस्था मिलाइएको छ भने शौचायलयको व्यवस्था समेत मिलाइएको छ । केही दिनबाट बाइकको ट्रयाकसमेत खोल्ने तयारीमा रहेको बताइएको छ । गार्डेनसँगै घरवास (होमस्टे) को अवधारणा पनि अघि बढाएका छन् । सो स्थानमा आउने पर्यटकलाई मध्यनजर गर्दै अहिले १० घरमा होमस्टे सञ्चालन गरिएको सो समितिले जनाएको छ । भगवान्ले फुर्सदमै बनाएको जस्तै एकदम कलात्मक सुन्दर तरिकाले प्रकृतिको सिर्जना गरेको देख्न पाईन्छ यहाँ । चक्रीय अन्नपूर्ण पदमार्गको नजिकै रहेको लमजुङ बेँसीशहरबाट बेँसीशहर चामे मनाङ जाने सडकखण्ड, रामबजार हुँदै उक्त स्थान पुग्न सकिन्छ । रासस
अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको आग्रह, नेपाल-अष्ट्रेलिया सिधा हवाई उडानकाे काम अघि बढ्दै
अष्ट्रेलिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे। मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुन सकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए । अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अष्ट्रेलिया आएदेखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि जानकारी दिएका छन् । गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरेका छन् । अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए । यहाँको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए । सङ्घकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो । सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अष्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । कार्यक्रममा नेपाल भ्रमण गरेका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गरेका थिए । गत वर्ष यहाँबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । रासस
वर्षमा सात लाख पर्यटक भित्र्याउँछ कनकाई, टिकट बिक्रीबाट दुई करोड राजश्व सङ्कलन
भद्रपुर । झापाको मध्य भागस्थित कनकाई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रुपमा चिनिन्छ । पर्यटकीय गन्तव्य थोरै भए पनि मुलुकमा कहलिएको जामनुखाडी सामुदायिक वन र व्यक्तिगत लगानीमा सञ्चालित ह्याप्पीलेण्ड फनपार्कले मात्र वर्षमा सात लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदै आएका छन् । स्थानीय दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १६ करोड खर्च गरेर कनकाई नगरपालिका–३ मा ह्याप्पीलेण्ड स्थापना गरेका हुन् । जहाँ वर्षमा मात्र पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकले दृश्यालोकन गरेको उनीहरुको भनाइ छ । उनीहरुले साढे पाँच बिघा जमिनमा आकर्षक पार्क, सेल्फीडाँडा, वाटरफल्स, आइफल टावर, पानीको फोहरा, बगैँचा र बाल उद्यानलगायतका कृत्रिम स्थान तयार गरी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्दै आएका छन् । दुई वर्ष अघि स्थापना गरेको पार्कमा फिल्म, टेलिसिरियल, म्युजिक भिडियो र विवाहको फोटो सेसन गर्न आउनेको दैनिक भीड लाग्ने गरेको सञ्चालक दिनेश शिवाकोटीले बताए । सुरुङ्गा बजारबाट करिब एक किलोमिटर उत्तर रहेको पार्कको प्रवेशद्वारमा रु १०० को टिकट काटेर प्रवेश गरेपछि सबैकुरा निःशुल्क हेर्न र पार्कभित्र रहेको पिङ, स्वमिङपुलमा निःशुल्क खेल्न सकिने उनको भनाइ छ । “नाफामुखी भन्दा सेवामुखी बनेका छौँ”, उनले भने, “हाम्रो उद्देश्य भनेको सस्तो मल्यमा बहुआयमिक मनोरञ्जन गराउने हो ।” पार्कमा नेपालका विरगञ्ज, हेटाैंडा, सिरहा, सप्तरीदेखि भारतको दार्जिलिङ, सिक्किम, आसम सिलुगढीदेखि विहारका विभिन्न स्थान, भूटान र बङ्लादेशका पर्यटक आउने गरेका छन् । पार्कभित्रै २५ वटा वनभोज (पिकनिक) स्थल सञ्चालन भइरहेका छन् भने थप २० वटा बनिरहेका छन् । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वन नेपालकै पहिलो पर्यापर्यटन प्रवद्र्धन गर्ने सामुदायिक वन हो । जहाँ वर्षमा दुई लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिने गरेका छन् । पूर्वपश्चिम राजमार्गको सडकखण्डबाट दुई किलोमिटर उत्तरमा रहेको सो वनलाई प्रदेश सरकारले प्रादेशिक प्राणी उद्यान केन्द्र तथा मिनी चिडियाखाना बनाउनका लागि पूर्वधार तयार गरिरहेको छ । चार सय ३४ हेक्टर क्षेत्रफलमा रहेको सामुदायिक वनभित्र, पाँचवटा ठूला पोखरी, झोलुङ्गे पुल, बाल उद्यान केन्द्र, ४० बढी वनभोजस्थल र विभिन्न जातका वन्यजन्तु रहेका छन् । जैविक विविधताले भरिपूर्ण सामुदायिक वनमा भारतको पश्चिम बङ्गाल, विहारदेखि नेपालकै विभिन्न स्थानबाट अध्ययन अनुसन्धानका लागि विद्यालयले विद्यार्थीसमेत लिएर आउने गरेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेमप्रसाद सिटौलाले बताए । वनले पर्यटकलाई असुविधा नहोस् भनेर विभिन्न स्थानमा शौचालय, बिजुली बत्ती, खानेपानी र टहरासमेतको व्यवस्था गरेको उनको भनाइ छ । सो क्षेत्रमा आउने पर्यटकलाई खाना बस्नका लागि राम्रो प्रबन्ध भएका होटलसमेत छन् । नयाँ वर्ष २०७७ देखि स्थानीय क्षेत्रमा होमस्टे सञ्चालनको तयारी, कोसेली घर निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष सिटौलाको भनाइ छ । यहाँ आउने पर्यटकले रु ५० तिरेर वन क्षेत्रको अवलोकन भ्रमण गर्ने व्यवस्था मिलाइएको छ । वन्यजन्तु हेर्ने पोखरीमा नौका विहार गर्ने पर्यटकले थप रु ५० का दरले तिर्नुपर्ने व्यवस्था गरिएको छ । वार्षिक टिकट बिक्रीबाट रु दुई करोड राजश्व सङ्कलन गर्दैै आएको वनले पाँच प्रतिशत स्थानीय सरकारलाई करबापत बुझाउने गरेको छ । वन परिसरमा ३०० व्यक्ति अटाउने क्षमताको हलसमेत बनाइएको छ । जहाँ जिल्लाबाट दैनिक जसो विभिन्न सङ्घसंस्थाका साधारणसभा, तालीम, गोष्ठी सञ्चालन भइरहने गरेको उहाँको भनाइ छ । अध्यक्ष सिटौलाले नेपाल भ्रमण वर्षलाई सफल पार्नका लागि बनमा आवश्यक पूर्वाधार थप भइरहेको बताउँदै भने, “यो वर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेका छौँ ।” उनले विद्यालयको आधिकारिक परिचयपत्र लिएर आएमा विद्यार्थीले २५ प्रतिशत छुट पाउने व्यवस्था मिलाइएको जानकारी दिए । कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरले चालू आर्थिक वर्षमा मात्र पर्यापर्यटनका लागि रु एक करोड बजेट विनियोजन गरेको बताए । उनले निजी क्षेत्रमा सञ्चालन गरिएका पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न र सामुदायिक रुपमा सञ्चालित स्थानको पर्यापर्यटनलाई थप आकर्षक बनाउनका लागि सो बजेट खर्च गरिने बताए । उनकै संयोजकत्वमा नेपाल भ्रमण वर्षलाई सफल पार्न र नगरका पर्यटकीय स्थानमा जतिसक्दो धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनका लागि २१ सदस्यीय नगर पर्यटन समितिसमेत बनेको छ । समितिले पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई पर्यटकमैत्री व्यवहार गराउने र पर्यटकीय सम्भाव्यता रहेको स्थानको अध्ययन गरेर पूर्वाधार निर्माण गरिने बताए । कनकाई नगरपालिकाभित्र कोटीहोम, धनुषकोटी धाम र निजी लगानीमै सञ्चालित कनकाई फनपार्कलगायतका पर्यटकीय स्थान रहेका छन् । रासस