बुद्धको रणनीतिक योजनाः ५ वर्षमा १० जहाजबाट दुर्गमका क्षेत्रमा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्धले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको हो । तयारी स्वरुप बुद्धले अबको ५ वर्षमा १० वटा ट्वीनअटर जहाज थप गरी दुर्गमका क्षेत्रमा उडान भर्ने जनाएको छ । बुद्धले सन् २०२३ को सुरुवातदेखि नयाँ जहाजबाट हवाईसेवा सुचारु गर्ने भएको छ । सुरुवाती चरणमा ४ वटा ट्वीनअटर विमान थपेर उडान भर्दै क्रमश सन् २०२४ देखि २०२६ सम्म प्रत्येक वर्ष २/२ वटा जहाज थप गर्ने जनाएको हो । दुर्गमका क्षेत्रमा ट्वीनअटर विमानबाट उडान गर्न बुद्धले नयाँ जहाजको खरिद तयारीका लागि जहाज निर्माता कम्पनीसँग छलफल सुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर विमान निर्माता कम्पनी भाइकिङ एयर लिमिटेडका सेल्स एन्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोव मोराचसँग दुबई एयर शोमा भेटवार्ता गरेका छन् । कम्पनीले दुर्गममा उडानका लागि पूर्वमा मन्थली, पश्चिममा पोखरा, कर्णाली र सुदूरपश्चिमका लागि नेपालगञ्ज विमानस्थललाई हव बनाउने कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार सन् २०२३ को सुरुवातबाटै ४ वटा जहाजले उडान विस्तार गरेसागै सन् २०२४ मा थप २ वटा र क्रमश २०२५ र २०२६ मा क्रमश २–२ वटा जहाज थप्ने योजना बनाएको छ । मुख्य सहरमा उडान भरिरहेको बुद्ध एयरले पछिल्लो वर्ष प्रादेशिक उडानमा बढी ध्यान दिएको छ । पोखरालाई केन्द्रबिन्दु बनाएर भरतपुर–पोखरा, भैरहवा–पोखरा, नेपालगञ्ज–पोखरा, विराटनगर–पोखरा उडान गर्ने जनाएका छन् । २२ को मार्चमा ३ थान एटिआर जहाज थप्दै कम्पनीले सन् २०२२ मा तीन थान एटिआर जहाज थप गर्ने तयारी थालेको छ । सन् २०२२ को मार्च महिनाभित्रमा कम्पनीले एटीआर–७२ ५०० मोडलका ३ थान जहाज थप गर्ने तयारी थालेको जनाएको छ । हाल बुद्ध एयरसँग १५ वटा जहाज रहेका छन् । हाल कम्पनीसँग सबैभन्दा बढी एटीआर–७२ ५०० मोडलका १० वटा, एटीआर ७२– ३०० मोडलका ३ वटा र बीचक्राफ्ट १९०० डी विमान २ वटा गरी १५ वटा विमान छन् ।

बागलुङ विमानस्थलकाे कालोपत्र अन्तिम चरणमा, छिटै उडान सुरु हुने

फाइल फाेटाे बलेवा । धावनमार्ग कालोपत्रको काम अन्तिम चरणमा पुगेपछि बलेवा विमानस्थलमा नियमित उडानका लागि पहल सुरु भएको छ । बागलुङ नगरपालिका र यहाँका विभिन्न राजनीतिक दलका नेताहरुले विमानस्थलमा नियमित उडानका लागि पहल थालेका हुन् । नेपाल एयरलायन्सले बलेवामा उडान गर्नका लागि प्रस्ताव गरेकाले काम सकिँदा बित्तिकै उडान सम्झौता गरिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । ‘नेपाल एयरलायन्स सम्झौताका लागि तयार छ, अन्य निजी कम्पनीहरुसँग पनि कुराकानी भइरहेको छ’, उनले भने, ‘हामी बनेको पूर्वाधारको यथेष्ट उपयोग गर्छौं, त्यसका लागि पहल भइरहेको छ ।’ नेकपा एमालेका नेता लीलबहादुर थापाले बलेवा विमानस्थल पुनर्निर्माणको काम तत्काल सम्पन्न गरी उडान सञ्चालनको तयारी थाल्न नियामक निकायको ध्यानाकर्षण गराएक छन् । मङ्गलबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा पुगेर बागलुङका पूर्वजिल्ला सभापतिसमेत रहेका थापाले महानिर्देशक राजकुमार क्षेत्रीलाई विमानस्थल पुनर्निर्माण काम तत्काल सम्पन्न गरी नियमित उडानको तयारी थाल्न ध्यानाकर्षण गराएक हुन् । नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको भेटमा बलेवा विमानस्थल बागलुङको भविष्यसँग जोडिएको विषय भएकाले पुनर्निमार्णपछि यसको सञ्चालन कसरी गर्न सकिन्छ भन्ने विषयमा नेता थापाले महानिर्देशकसँगै प्राधिकरणमा कार्यरत अन्य विज्ञ कर्मचारीसँग छलफल गरेक थिए । छलफलमा विज्ञहरूले बलेवा विमानस्थल निर्माणाधीन कालीगण्डकी करिडोरको केन्द्रमा पर्ने भएकाले यसलाई नियमित उडान सञ्चालनको अलावा, एभिएसन स्पोर्टसका रुपमा अघि बढाउन सके धौलागिरि क्षेत्रकै मुहार फेरिने धारणा राखेका थिए । विसं २०७७ फागुन मसान्तसम्म एक वर्षमा सक्नेगरी काम सुरु भएको विमानस्थल कालोपत्रको काम कोरोना महामारीका कारण प्रभावित हुँदा दुई वर्षमा सकिँदै छ । आउँदो चैतसम्म विमानस्थल कालोपत्रको काम सकेर हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार आवश्यक पूर्वाधारको काम सकिएकाले कालोपत्रको काम मात्रै २० दिनमा सकिन्छ । तापक्रमले साथ दिएमा पुस मसान्तभित्रै विमानस्थल कालोपत्र हुने निर्माण कम्पनी काष्टमण्डप एन्ड उमा जेभीले जनाएको छ । रासस

धावनमार्ग ममर्तका लागि सुर्खेत विमानस्थल बन्द

काठमाडौं । सुर्खेत विमानस्थल केही समयका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मर्मत सम्भारका लागि केही समय विमानस्थल बन्द गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि आगामी साताबाट सुर्खेत विमानस्थलमा भइरहेको उडान–अवतरण बन्द हुने नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरुले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् । बुधबार बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुनेभएपछि नेपालगन्जमा १ उडान थप गरिएको जनाएको छ । बुद्धले हाल नेपालगन्जमा दैनिक ६ वटा उडान गर्ने भएको छ । यात्रुलाई सुर्खेत विमानस्थलको नजिकको विकल्प रोज्न सहज होस भनी नेपालगन्जमा उडान थपेको कम्पनीको भनाई छ । सुर्खेत संघीय राजधानी काठमाडौंलाई कर्णालीसँग हवाईमार्गले जोड्ने एक मात्र विमानस्थल हो ।