विदेशीका लागि १८ महिनापछि खुल्यो नेपाल, अब विमानस्थलबाटै अनअराइभल भिसा

काठमाडौं । सरकारले नेपालमा घुमफिर गर्न आउन चाहने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने व्यवस्था गरेको हो । मन्त्रिरिषद्को निर्णयका आधारमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ जारी गरेको छ । उक्त आदेश अनुसार अब नेपाल आउन चाहने विदेशी नागरिकले अध्यागमन प्रवेश विन्दुमा भिसाको लागि आवेदन दिन पाउने भएका छन् । नेपालमा कोरोना महामारी सुरु भएसगैँ सरकारले सम्बन्धीत देशमा रहेको दुतावासबाट भिसा लगाउदैँ आएका थिए । सरकारको निर्णय सगैँ अब विमानस्थलबाटै अनअराइभल भिसा पाउनेछन् । सरकारले नेपाल प्रवेशका लागि केही प्रावधान भने तोकेको छ । जसअनुसार नेपाल आउन विदेशीले कोभिड खोप लगाएको १४ दिन पूरा गरेको हुनुपर्नेछ भने हवाइ उडानको चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ । यस्तै, पर्वतारोहण तथा पदयात्राका लागि अनुमति लिएको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गरे अनअराइभल भिसा पाउँनेछन् भने नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दुमा एन्टीजेन परीक्षण गर्नु पर्नेहुन्छ । सरकारले ०७६ को फागुन अन्तिम सातादेखि नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई अनअराइभल भिसा दिन बन्द गरेको थियो । पर्यटन व्यवसायीको आग्रहपछि सरकारले १८ महिनापछि विदेशी पर्यटकलाई नेपाल प्रवेशको अनुमति दिएको हो । [pdf id=295982]

असोज १५ गतेदेखि अन्नपूर्णका पर्यटकीयस्थल भ्रमणका लागि खुलाइने

काठमाडौं । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना सङ्क्रमणको दर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको जानकारी दिए । “पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीयस्थल र तातोपानी कुण्ड औपचारिकरूपमा १८ महिनापछि खुलाउन लागिएको हो”, उनले भने, “गत माघ, फागुन र चैत महिनामा न्यून सङ्ख्यामा पाहुना आए पनि औपचारिक हिसाबले खुलाइएको थिएन ।” अन्नपूर्ण आधार शिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीयस्थलका बासिन्दा, होटल व्यवसायी र मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिइएको बताए । प्रमुख पर्यटकीयस्थल घोडेपानीका १८ वर्षमाथिका १४० जनालाई बुधबार कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । तातोपानी, रातोपानीलगायत पर्यटकीयस्थलका बासिन्दालाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । अन्नपूर्णका पर्यटकीयस्थल पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए । करोडौँ लगानी गरेर होटल तथा लज खोलेका व्यवसायी पर्यटक नआउँदा समस्यामा परेका थिए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल व्यवसायीहरुले जनाएका छन् । पर्यटकीयस्थल बन्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष एक करोडभन्दा बढी आम्दानी गुमेको छ । तातोपानी र पुनहिलमा प्रवेश शुल्क तथा चमेनागृह सञ्चालनका लागि गत वर्ष ठेक्का लगाइएको थिएन ।

यति एयरलाईन्सको पर्वतीय उडान असोज १० गतेबाट पुन: शुरु हुने

काठमाडौं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाईन्सको पर्वतीय उडान असोज १० गते देखि पुन: सुरु हुने भएको छ । मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर-मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुरु गर्न लागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । हालका लागि प्रत्येक आईतबार एक उडान गर्ने गरी बुकिङ खुल्ला गरिएको हो । ‘प्रत्येक आइतबारका लागि एटिआर-७२ विमान मार्फत एउटा पर्वतीय उडान हुने गरी तालिका तय गरिएको र यात्रुहरुको माग बमोजिम विस्तारै उडान संख्या थप गर्दै जाने नीति लिएकाे छौं,’ उनले भने । हालका लागि नेपाली तथा भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८ हजार ८४८ आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने उनले बताए । आवासीय विदेशी नागरिकका लागि भने १३ हजार दुई सय ७५ भाडादर कायम गरिएको बर्तौलाले जानकारी दिए । पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतिले यहि भाडा दरमा उडान भरेको थियो । नेपाली यात्रुहरू तथा आवासीय बिदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकटका लागि क्रमशः ९ हजार ८ सय ४८ र १४ हजार सात सय पचहत्तर भाडादर तोकेको छ । यो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्कोसँगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकट हरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाइन मार्फत खरिद गर्न सकिने कम्पनिले जानकारी दिएको छ ।