खराब मौसमले उपत्यकाको हवाई उडान प्रभावित
काठमाडाैं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौंको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ । मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए । उहाँका अनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ । अन्तरराष्ट्रियमा पनि बिहान कतिपय उडान प्रभावित भए पनि अहिले सामान्य अवस्था रहेको छ । बिहान दिल्लीबाट आएको इथोपियन एयरलाइन्सको जहाज डाइभर्ड भएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी तीन हजार मिटर छ । मौसम खराबीले आन्तरिक उडान हुने देशका कतिपय विमानस्थलमा पनि उडान हुननसकेको जनाइएको छ । बाक्लो कुहिरो र हुस्सुका कारण आइएफआर उडान हुँदा आन्तरिक उडान डिले हुने गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । उनले उडान डिले भए पनि गन्तव्यमा यात्रु पु¥याउन एयरलाइन्सले हरसम्भव लागिपर्ने बताए । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवालो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु÷कुहिरो लागेको छ । आज काठमाडौंको न्यूनतम ३ दशमलब ६ र अधिकतम तापक्रम १७ डिग्रि सेल्सियस रहेको छ । रासस
‘टान’को ४३ औँ अधिवेशन आगामी माघ २८ मा
काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)को ४३ औँ वार्षिक साधारणसभा एवं अधिवेशन आगामी माघ २८ गते हुने भएको छ । सस्थाका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण रोकिएको ४२ तथा ४३औँ साधारणसभा तथा अधिवेशन माघ २८ गते गर्न लागिएको जानकारी दिए । विसं २०३५ मा स्थापना भएको सस्थामा हाल देशभर दुई हजारका हाराहारीमा पर्यटन व्यवसायी आवद्ध छन् । पदयात्रा तथा पर्वतारोहणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको टानले कोरोनाका समयमा सरकार र निजी क्षेत्रबीच सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । कोरोनाका बीच विभिन्न पर्यटन ऐनलगायत विदेशी पर्यटकलाई सहजीकरणको भूमिका प्रदान, टान फुड बैंक स्थापना, पर्यटन श्रमिकलाई पर्यटन वोर्डमार्फत रोजगारी सिर्जाना, व्यवसायी तथा ट्रेकिङ गाइडलाई क्रेडिट कार्डको सुविधालगायतका कार्य गरेको थियो ।
त्रिशुली रिभरसाइड रिसोर्टले ल्यायो अङ्ग्रेजी नयाँ वर्षको अफर
काठमाडौं । नजिकिदै गरेको नयाँ वर्षको अवसरमा काठमाडौं नजिकैको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशुली रिभरसाइड रिसोर्टले विभिन्न प्याकेज तथा छुटहरूको अफर ल्याएको छ । काठमाडौबाट ६५ किलोमिटर दुरिमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट एड्भेन्चर पारखीका लागि प्रसिद्ध छ । न्यु इयर इभ र न्यु इयरको दिनमा लाइभ ब्याण्ड एवम् डिजे पार्टी समेत गरिने बताइएको छ । डे पिकनिकको लागि तीनपटकको खाना सहित प्रति व्यक्तिको एक हजार पाँच सय रुपैयाँको अफर छ भने ¥याफटिङको लागि निशुल्क फोटो सहित प्रति व्यक्ति आठ सय रुपैयाँको अफर रहेको छ । जिपलाइन राइडको ओपनिङ अफरको रुपमा तीस प्रतिशत छुट सहित एक हजार पचास रुपैयाँको अफर रिसोर्टले ल्याएको रिसोर्टका सन्चालक उद्वब कँडेलले बताए । गतिविधि मात्र नभएर रिसोर्टले नयाँ वर्षको अवसर अकोमोडेशनमा पनि छुटको व्यवस्था गरेको छ । बालकनी र कौसी सहितको एसी डिलक्स रुमको तीन हजार पाँच सय रुपैयाँ तोकिएको छ । त्यस्तै ग्रुप रुमको भने प्रति व्यक्ति दुई हजार दुई सय रुपैयाँ तोकिएको छ । त्यस्तै टेन्टको भने एक हजार छ सय रुपैयाँ प्रतिव्यक्ति तोकिएको छ । यी सबै आवसिय प्याकेजमा तिन पटकको खाना, डिजे पार्टी र फोटो समावेश हुनेछन् । यो सँगै रिसोर्टले गाडीको पनि व्यवस्था गरेको छ । काठमाडौं देखि रिसोर्ट र रिसोर्ट देखि काठमाडौंको लागि बसमा प्रति व्यक्ति आठ सय रुपैयाँ र सोही रुटमा निजी कार रिजर्भ गर्न चाहेमा छ हजार पाँच सय रुपैयाँ, जीपको लागि दस हजार रुपैयाँ, हायस माइक्रोको लागि बाह्र हजार पाँच सय, मिनी बसको चौध हजार र टुरिस्ट बसको बीस हजार रुपैयाँ तोकिएको छ ।