काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकालले चन्द्रागिरि केबलकार विश्वको एक नम्बर कम्पनीबाट बनेका पार्टपुर्जाले निर्माण गरेको बताएका छन् ।
शुक्रबार चन्द्रागिरि केबलकारको प्राविधिक पक्षका बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले विश्वमा रहेका केबलकारहरू मध्येमा उत्कृष्ट भएको बताएका हुन् ।
‘विश्वभर २० हजार केबलकार छन्, चन्द्रागिरि केबलकार अस्ट्रेलियाको बेस्ट कम्पनी डुपल मेयरबाट निर्माण गरिएको हो, चन्द्रगिरि एक सय प्रतिशत सुरक्षित छ, यो विश्वमा भएका केबलकारहरूमा एक नम्बर कम्पनी हो,’ उनले भने ।
केबलकार विद्युतबाट सञ्चालन हुने भएकाले संसारमा रहेका अन्य केबलकारमा पनि लोडसेडिङ भएको बेला बन्द हुने समस्या हुने अध्यक्ष ढकालको भनाइ छ । तर, सञ्चालनमा रहेको केबलकारमा कहिलेकाहीँ मात्रै रोकिने समस्या आउने उनले बताए ।
‘केबलकार विद्युतबाट संचालन हुने भएकाले कहिलेकाहीँ समस्या आउँछ, विद्युत आपूर्तिमा समस्या भएको बेला हामीसँग एक मेगावाटको जेनेरेटर छ, त्यसैबाट विद्युत प्रवाह हुन्छ, कहिलेकाहीँ समस्या आउँदा तत्कालै समाधान हुन्छ,’ अध्यक्ष ढकालले भने । आपतकालिन अवस्थामा सुरक्षित अवतरण गराउने उद्दार टोली रहेको उनले बताए । उनले चट्याङ पर्दा वा हावा चलेको बेला भने केबलकार रोकिने बताए ।
त्यस्तै, इन्जिनियर सरोज चापागाईंले चन्द्रागिरि केबलकार सुरक्षाका दृष्टिले एक सय प्रतिशत सुरक्षित रहेको बताए । केबलकार सञ्चालन गर्नुपूर्व प्रत्येक दिन टेक्निकल टिमले परिक्षण गरेर मात्रै सञ्चालन गर्ने गरेको उनले बताए ।