होटल/रेस्टुरेन्टले लिने सेवा शुल्क र भ्याट कानुन विपरित, अदालतले गर्यो यस्तो फैसला
काठमाडौं । मानिसलाई होटल तथा रेष्टुरेन्टले मा खानपिन गरेर बिल तिर्नु सामान्य नै लाग्छ । अर्थात् धेरैले खाना खाजा खाइसकेपछि अलिकति छुटको सुविधा बाहेक अन्यमाा वास्तै गर्दैनन् । बिलमा रेष्टुरेन्ट अर्थात् होटलले सेवा शुल्क र मूल्य अभिवृद्धि कर भनेर छुट्टै जोडेको हुन्छ । त्यसमा पनि तपार्ईं हामी जानकार नै छौं । होटलको टेबलमा राखेको मूल्य र बिलमा आउने मूल्य फरक–फरक भएको सबैले अनुभव गरेकै हुनु पर्छ । तर, होटल/रेष्टुरेन्टले त्यस्तो गर्न पाउँदैनन् । एउटा उदाहरणबाट सुरु गरौं, गत वर्षको पुस महिनामा धादिङका मदन ढुङ्गाना काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ डाँडागाउँमा अवस्थित ग्रिल भ्याली रिसोर्टमा केही खाजाहरु खाए । उनको कुल ३ हजार ७८ रुपैयाँ बिल आएको थियो । उनले यति धेरै कसरी आयो भनेर रिसोर्टलाई प्रश्न गरे । रिसोर्टले सेवा शुल्क र भ्याट पनि थपेको जवाफ दियो । तर, उनले मेनुमा कम देखेपछि सो रिसोर्टलाई त्यति धेरै पैसा लिन नपाउने बताए । त्यसपछि रिसोर्ट र उनको केही विवाद पनि भयो । विवाद साम्य नभएपछि ढुङ्गाना अदालत गए । काठमाडौं जिल्ला अदालतले पनि केही दिन अगाडि उपभोक्ता ठगीमा परेको भन्दै मेनुभन्दा बाहेक अतिरिक्त रकम लिने कार्य गैरकानुनी ठहर गर्दै फैसला सुनाएको छ । उपभोक्ता मदन ढुंगाना वादी भएर काठमाडौं जिल्ला अदालतमा क्षतिपूर्ति माग्दै दायर भएको रिटमा अदालतले मेनु प्राइसमा उल्लेख भएको रकमभन्दा बढी १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट लिनु गैरकानुनी भएको ठहर गरेको छ । साथै रिसोर्टले ग्राहकलाई १० हजार रुपैयाँ क्षतिपूर्ति गर्नुपर्ने गरी फैसला गरेको छ । मुद्दामा न्यायाधीश पौडेलको इजलासले रिसोर्टले गैरकानुनी रूपमा रकम असुलेको भन्दै उपभोक्ताबाट बढी लिएको ३ हजार ७८ रुपैयाँ फिर्ता गरी १० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने फैसला गरेको हो । रिटमा ढुंगानाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम क्षतिपूर्ति दाबी गरेका थिए । कानुनमा वस्तु वा सेवाको अन्तिम मूल्य कायम हुनुपर्ने, मूल्य अभिवृद्धिकर नियमावली, २०५३ को नियम १४ ख बमोजिम मेनु प्राइसमा नै सम्पूर्ण कर समावेश गरी हुन आउने अन्तिम मूल्य राख्नुपर्ने व्यवस्था भए पनि ग्रीन भ्याली रिसोर्टले मेनु प्राइसमा उल्लेख भएको रकममा १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट जोडेर लिएको थियो । रिसोर्टले मेनुको अन्तिम भागमा सानो अक्षरमा १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेको थियो । उपभोक्ता संरक्षण ऐन, २०७५, मूल्य अभिवृद्धि कर ऐन २०५२ र मूल्य अभिवृद्धिकर नियमावली २०५३ अनुसार मेनु प्राइसमा नै सबै शुल्क जोडी मूल्य कायम गर्नुपर्ने र अन्तिम मूल्य राख्नुपर्ने उल्लेख छ । ढुंगानाको रिटमा अधिवक्ताहरू मनिषकुमार श्रेष्ठ, किशोर पौडेल र अनुपम भट्टराईले वादीको तर्फबाट बहस गरेका थिए । अदालतको यो फैसलासँगै अब होटल तथा रेष्टुराँहरुले सर्भिस चार्ज र मूल्य अभिवृद्धिकर (भ्याट) मेनुमा अतिरिक्त जोडेर लिन नपाउने भएका छन् । यदि त्यसो गरेमा उनीहरु कानुनी कारवाहीमा पर्छन् ।
सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु हुँदैन : निलहरि बास्तोला
काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्नु नहुने बताएका छन् । सोमबार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले यस्तो बताएका हुन् । उनले पछिल्लो समय स्थानीय सरकारले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यलाई अस्थित्व मेटाउने काम भएको बताए । अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउण्डलाई अहिले सडक बनाउने नाममा भत्काएर अहिले ५ दिनको बनाइएको भन्दै आपत्ति जनाए । उनले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरुको अस्थित्व मेटाउन नमिल्ने बताए । अध्यक्ष बास्तोलाले पछिल्लो समय धेरै पर्वतीय ट्रेकिङ गन्तव्यहरु हराउने क्रममा रहेको गुनासो गरे । उनले विश्वमा प्रचार भएर हजारौं नागरिकलाई रोजगारी दिने पर्वतीय ट्रेकिङ गन्तव्यलाई कायम राखेर वैकल्पिक मार्गबाट सडक बनाउन सल्लाह गर्न आग्रह गरे । उनले स्थानीय सरकारहरुले पर्वतीय ट्रेकिङ गन्तव्य भएको स्थानमा सडक बनाउँदा वा पर्यटन क्षेत्रको विकासको लागि बजेट विनियोजन गर्दा टानसँग सल्लाह गर्नु उचित हुने बताए । उनले रोजगारीको सिर्जना लगायत अन्य प्रचुर सम्भवना रहेको सिन्धुपाल्चोको जुगल हिमालको प्रचारप्रसार गर्न आवश्यक रहेको र त्यसमा प्रचारप्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए । त्यस्तै, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको रुपमा मान्यता दिए अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्ने बताए । उनले पर्वतीय उद्योग जनशक्ति,व्यवस्थापनदेखि आवश्यक पूर्वाधार स्वदेशी भएको र लगानी गर्न अन्य मुलुकसँग सहयोग माग गर्नु नपर्ने उद्योग हुने बताए ।
विश्व पर्यटन दिवसमा रेवान पोखराले एक दिने सडक महोत्सव गर्ने
पोखरा । विश्व पर्यटन दिवस सेप्टेम्बर २७ मा पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन रेवानले यही असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो । ‘पर्यटनमा पुनविचार गराँै’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । हरेक वर्ष गर्दै आएको एक दिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि वाराहीचोकसम्मको क्षेत्रमा बेलुका पाँच बजेदेखि राती १० बजेसम्म गर्न लागिएको रेवानका महासचिव एवम् कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिए । उनका अनुसार नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका परिकार प्रस्तुत गरिनेछ भने जातीय भेषभुषासहितका सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाँच, पञ्चे बाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी गरिनेछ । आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटनलाई विभिन्न पक्षसँग जोडेर पर्यटकीय गतिविधिमा जोड दिन आवश्यक रहेको जनाउँदै अब पर्यटनलाई परम्परागत भन्दा नविनतम् सोचबाट पुनविचार गरेर अगाडि बढाउनु पर्ने रेवानका कार्यबहाक अध्यक्ष विश्व पौडेले बताए । उनले देशमा रहेका सम्पूर्ण मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन र विकास गर्दै आर्थिक उपार्जनमा जोडेर जानुपर्ने र यसमा सञ्चारकर्मीको प्रवद्र्धनात्मक भूमिका महत्वपूर्ण रहेको धारणा राखे । सोही अवसरमा पोखरा पर्यटन परिषद्ले पनि ‘पोखरा अन्तराष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । उनले पोखराको पर्यटनलाई विश्व बजारमा पु¥याउनका लागि छिमेकी मुलक भारतका विभिन्न शहरबाट १० जना पत्रकारलाई पोखरामा पर्यटकीय गन्तब्यको स्थलगत भ्रमण गराउने र अन्तराष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्रि म्यानेजर’सँग अन्तरक्रिया गर्ने कार्यतालिका रहेको बताए । उनका अनुसार अहिले करिब २४ एयरलाइन्सले अन्तराष्ट्रिय उडान गर्दै आएका छन् । तीमध्ये १० एयरलाइन्सका प्रतिनिधि कार्यक्रममा सहभागी जनाउने छन् । नेपालको आर्थिक विकासका लागि पर्यटनको महत्वपूर्ण योगदान रहेको जनाउँदै पर्यटन दिवसमा पोखराका पर्यटन सम्बद्ध सङ्घ–सङ्स्थाले पनि क्षेत्रगत रुपमा विभिन्न कार्यक्रम तय गरेका छन् । रासस