पर्यटन बोर्डको स्वागत कार्यक्रममा मन्त्री पौडेलले दिए परिणाममुखी काम गर्न निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटन क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागतमा कार्यक्रममा उनले सरकार फेरिएसँगै कार्यशैली पनि रुपान्तरण हुनुपर्ने बताए । मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सबैको प्रतिबद्धता आवश्यक रहेको बताए । नेपालको विकासका लागि पर्यटन नै प्रमुख आधार भएकाले सोहीअनुसार योजना अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । मन्त्री पौडेलले पर्यटन प्रवर्द्धनका परम्परागत स्वरुप र अभ्यासबाट बाहिर निस्केर नवप्रवर्द्धनयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रमा परिणाम दिनेगरी काम गर्नुपर्ने र त्यसका लागि नीतिगत सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री पौडेलले प्रतिशोधको राजनीति नगर्ने र काम गर्नेलाई प्रोत्साहन गर्ने बताए । उनले भने, ‘म राम्रो काम गर्नेलाई सम्मान गर्छु, तर नराम्रो का गरेर , आवश्यक परे कठोर निर्णय लिन तयार छु ।’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको समग्र संरचना, कार्यक्रम र नीतिगत दिशाबारे जानकारी दिनएका थिए । उनले पर्यटन बोर्डले सार्वजनिक-निजी साझेदारी मोडेलमार्फत अन्तरराष्ट्रिय बजारमा नेपाललाई सशक्त रूपमा प्रवर्द्धन गर्ने रणनीति अघि सारेको बताए । ‘सरकार र निजी क्षेत्रबीचको समन्वयलाई थप मजबुत बनाउँदै पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने कार्यक्रम र योजनाअनुसार अघि बढिरहेका छौं’ , सीइओ जोशीले भने ।
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए
म्याग्दी । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि उनीहरुले अनुमति लिएका हुन् । धौलागिरि आरोहणका लागि दुई समुहका आठ महिलासहित १७ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । विभागले पछिल्लो पटक जारी गरेको विवरणअनुसार अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएका छन् । धौलागिरि आरोहण अनुमतिबापत रु ७५ लाख ६४ हजार ६५० र अन्नपूर्णको आरोहण अनुमतिबाट रु एक करोड २० लाख ४९ हजार १७५ रोयल्टी प्राप्त भएको विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले जानकारी दिए । उनका अनुसार वसन्तयाममा अन्नपूर्ण धौलागिरिसहित हालसम्म १२ हिमाल आरोहण गर्न २४ समूहका १७० जनाले अनुमति लिँदा १० करोड ८७ लाख ३० हजार रुपैयाँ रोयल्टी संकलन भएको छ । दैनिकजसो आरोहण अनुमति लिनेहरुको सङ्ख्या थपिँदै गएको छ । गत शरदयाममा धौलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए भने अन्नपूर्ण आरोहणको अनुमति कसैले पनि लिएका थिएनन् । गत वर्षको वसन्त याममा धौलागिरि आरोहण गर्न दुई समूहका १५ जना र अन्नपूर्ण चढ्न ६६ जनाले अनुमति लिएका थिए । अन्नपूर्ण र धौलागिरि हिमालको आधार शिविरमा आरोहीको टोली पुगेर आरोहणको तयारी थालेको छ ।
जापानमा नेपाल सुरक्षित र वर्षैभरि घुम्न मिल्ने गन्तव्यको रुपमा प्रवर्द्धन
काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षैभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ । अप्रिल २ देखि ५ मा टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रवर्द्धन र बिटुबी कार्यक्रमले नेपाली र जापानी पर्यटन व्यवसायीबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुर्याउने नेपाल पर्यटन बोर्डले जनाएको छ । यस कार्यक्रममार्फत नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै जापानी बजारमा नेपालको उपस्थिति मजबुत बनाउने लक्ष्य राखिएको थियो । टोकियोमा आयोजित सत्रलाई सम्बोधन गर्दै नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । सो अवसरमा नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रानु शाहले नेपालको सांस्कृतिक सम्पदा, चर्चित गन्तव्य, साहसिक पर्यटन र वेलनेस अनुभवबारे प्रस्तुति दिएकी थिइन् । प्रस्तुतिमा नेपाललाई सुरक्षित, फरक पहिचान भएको र वर्षैभरि घुम्न मिल्ने गन्तव्यका रूपमा उजागर गरिएको थियो । जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक छवि निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । साथै, जापानी पर्यटकलाई लक्षित विशेष पर्यटन प्याकेज विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ । नेपाल वायुसेवा निगमले जापान-नेपाल उडान सञ्जालबारे अद्यावधिक जानकारी प्रस्तुत गर्दै नेपालसँगको हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो । कार्यक्रममा जापानका टुर अपरेटर, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उनीहरूसँगको अन्तरक्रियाले नेपालका पर्यटन उत्पादन, सेवा र सम्भावनाबारे जानकारी आदान–प्रदान हुनुका साथै नयाँ साझेदारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरिएको छ । कार्यक्रममा हेरिटेज टुर्स एण्ड ट्राभल्स, अल्पाइन रेस्क्यु सर्भिसेज, क्लब हिमालय, हिमालयन होलिडेज ट्रेकिङ, हाई ग्राउन्ड एड्भेन्चर, आर्या होटल एण्ड स्पा, रियल एड्भेन्चर नेपाल, होटल जाम्पा, म्याजेस्टिक लेकफ्रन्ट, खुम्बिला होटल, अफ द वाल ट्रेकिङ र चो ओयू ट्रेकिङलगायत नेपाली पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । यस पहलले नेपालको पर्यटन बजार विस्तार, अन्तर्राष्ट्रिय साझेदारी सुदृढीकरण र जापानी पर्यटकका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुग्ने अपेक्षा गरिएको छ ।