साहसिक ‘खेल–पर्यटन हव’ बन्दै पनौतीको कुशादेवी क्षेत्र
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दूरीमा व्यवस्थित गरिएको उक्त रक क्लाइम्बिङको सुरुआतले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ । रक क्लाइम्बिङको नगरप्रमुख रामशरण भण्डारीले मङ्गलबार शुभारम्भ गरेका हुन् । उनले पनौती सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा कुशादेवी क्षेत्रमा थपिएका साहसिक खेल गन्तव्यले खुसीयाली पनि थपिएको बताए । एकपटकमा आठ जना ‘क्लाइम्बर’ चढ्न सकिने गरी रातोपहरामा रकक्लाइम्बिङ निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका प्रशिक्षक पेम्बा ओङ्छु शेर्पाले बताए । उनका अनुसार साहसिक खेलमा रुचि राख्नेले उक्त क्षेत्रमा पुगी रकक्लाइम्बिङ गर्न सक्नेछन् । जर्मनबाट ल्याइएको एक हजार ‘बोल्ड’ किला रकक्लाइम्बिङका लागि पहराका भित्तामा गाडिएका छन् । जसको सहारामा डोरीको माध्यमबाट ५० मिटरभन्दा धेरै रकक्लाइमिङ गर्न सकिन्छ । वडाध्यक्ष पुरुषोत्तम अधिकारीले नगरबाट विनियोजित १० रुपैयाँ लाखबाट हाल रकक्लाइम्बिङ पुग्ने स्थानसम्मको पदमार्ग तथा पूर्वाधार तयार गरिएको बताए । उनका अनुसार यसमा ‘बेस वाल’ निर्माणलगायतका पूर्वाधार निर्माण गर्न बाँकी छ । साथै वडा कार्यालयले रकक्लाइम्बिङ, प्याराग्लाइडिङ, डाउनहिल साइक्लिङका साथै चरा संरक्षण गरी चराका आवाज सुन्ने र त्यसबाट प्राकृतिक मनोरञ्जन लिन सकिने गरी थप नयाँ गन्तव्यको प्रक्रिया सुरु गरेको छ । फुल्चोकी क्षेत्रलाई साहसिक खेल–पर्यटनका रूपमा विकास गर्न आफूहरू नगरको योजनामा समावेश गरी लागेको अधिकारीले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई कुशादेवी–फुल्चोकी क्षेत्रमा प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) सञ्चालनको अनुमति दिएपछि गत फागुनमा परीक्षण गरी उडान थालिएको छ । दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा झर्नेछ । गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने झर्ने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ । पनौती नगरले पनि चालु आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । यस वर्ष ‘हाइकिङ ट्रेल’को विकास, विस्तार तथा प्रचार गर्न नगरले आफ्नो नीति तथा कार्यक्रममासमेत उल्लेख गरेको छ । नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइक्लिङ’ को सुरुआत गरेको थियो । उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकी डाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइकल मार्ग तय गरिएको छ । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय जनाले साइकल चलाएका थिए । गत भदौ पहिलो साता शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता रहेको थियो । यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दूम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग ‘रिट्रिट’, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने छ । रासस
आन्तरिक पर्यटक तान्दै दाङको चरिङ्गे दह
दाङ । घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ । कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । यस दहले पर्यटकलालाई आकर्षण गर्न सफल भएको स्थानीयको भनाई छ । वरिपरि घनाजङ्गलले घेरिएको यो दहले पर्यटकहरुको मन जित्दै गएको छ । दहमा विशेषगरी शनिबार र बिदाका दिन पिकनिक खान तथा घुमफिर गर्न जानेहरुको चहलपहल हुन्छ । केही वर्षपहिले यस दहको बारेमा सुइँको पनि सुनिँदैन थियो, न त दह हेर्न लायक नै थियो । सानो पोखरीमा मात्रै सीमित ‘चरिङ्गे’ अहिले ठूलो दह बनेको छ, स्थानीयवासी कमला पोख्रेलले भनिन् । उनले थपिन्, ‘चरिङ्गे दहलाई पर्यटकीय क्षेत्रका रुपमा विकास र संरक्षण गर्नुपर्छ भन्ने स्थानीयवासीको सोच र प्रयासकै कारण यो पोखरी अहिले दहमा परिणत भएको हो ।’ दह संरक्षण र पर्यटकीय क्षेत्र बनाउन भन्दै स्थानीयवासीले सुरुमा संरक्षण समिति गठन गरे । सोही समितिले दह संरक्षणका लागि विभिन्न निकायसँग आर्थिक सहयोग जुटाउनाका साथै जनश्रमदानका लागि स्थानीयवासीमा उत्प्रेरणा जगाउने काम गरे पनि पछिल्ला वर्षमा स्थानीय सरकारले त्यति चासो नदिँदा पूर्वाधार निर्माणले गति लिन नसकेको स्थानीयवासी थानेश्वर पुनले भने । ‘पर्यटकीय क्षेत्रका रुपमा परिचित यो दह स्थानीयवासीको अथक परिश्रम र मेहनतले यहाँसम्म आएको हो तर स्थानीय सरकारले भने यसलाई त्यति चासो दिएको छैन’, उनले भने । दह अहिले आन्तरिक पर्यटकका लागि आकर्षक र सुन्दर ठाउँ बन्न पुगेको छ । ‘दह अवलोकन गर्न पुगेका तुलसीपुर निवासी लिला सापकोटाले चारैतिर वनजङ्गल तथा शान्त ठाउँमा रहेको दहको मनोरहम दृश्यले सबैलाई लोभ्याउने उल्लेख गरे ।’ उनले भने, ‘अष्ट्रेलियामा अध्ययनरत आफ्नी छोरी पाँच वर्षपछि घरमा आएको मौका छोपी सपरिवार यहाँ घुम्न आएका हौँ । दह रमणीय ठाउँमा रहेछ तर पूर्वाधार विकास भने भएको रहेनछ ।’ दहसम्म पुग्ने बाटो पक्की र त्यहाँ नजिकमा चमेना गृह, खानेपानीको उचित प्रबन्ध, दहको वरिपरि पर्खाल र त्यहाँ केही उत्खनन गरेमा पर्यटकलाई सहज हुने र बाह्य पर्यटक पनि तान्न सकिने सापकोटाको भनाइ थियो । दह संरक्षण र विकासकै लागि शुल्क लिने गरिएको स्थानीयवासीले बताए । उनीहरुका अनुसार बीच जङ्गलमा गुप्प परेको चरिङ्गे दह अहिले फराकिलो भएको छ । दह वरिपरिको झाडी फालिएको छ । त्यसैगरी पिकनिक स्पट निर्माण गर्नाका साथै दहको उत्तरतर्फ एउटा मन्दिरसमेत बनाइएको छ । दहको उत्तरीतर्फ रहेको डाँडोबाट दहमा झरेको माटो फालेर चौडा पारिएको छ । उक्त डाँडोबाट खसेको माटोले दहको क्षेत्रफल साँघुरो बनाएकामा स्थानीयवासीले नै श्रमदान गरी केही वर्षपहिले माटो फालेपछि अहिले तीन हेक्टर क्षेत्रफलमा दह फैलिएको छ । दह संरक्षण समितिका संयोजक कमल पोख्रेलले दह संरक्षणका लागि यहाँका बासिन्दाको धेरै श्रमदान र विभिन्न सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त भएको जानकारी दिए । पछिल्ला वर्षमा भने स्थानीय सरकारले दहको संरक्षणका लागि खासै चासो नदिएको उनको गुनासो थियो । गत वर्ष जिल्ला वन कार्यालयले उपलब्ध गराएको २० लाख रुपयाँले दहको चारैतिरको भागमा पर्खाल लगाइएको थियो तर यस वर्ष घोराही उपमहानगरपालिकाले दहसम्म पुग्ने बाटो पक्की गर्नका लागि बजेट विनियोजन गरेको भन्ने सुन्नमा आए पनि कति बजेट र कहिलेबाट काम सुरु गर्छ भन्नेबारेमा कुनै जानकारी नभएको संयोजक पोख्रेलले बताए । दहलाई जिल्लाकै पर्यटकीयस्थलका रुपमा विकास गर्न सबैको सहयोग अति आवश्यक रहे पनि बजेट अभावका कारण अति आवश्यक पूर्वाधार निर्माण गर्न पनि नसकिएको उनले बताए । यसअघि दह संरक्षणका लागि साबिक जिल्ला विकास समिति, नेपाल पर्यटन विकास बोर्ड, चरिङ्गे दह सामुदायिक वन समूह र त्यहाँ रहेका पाँचवटा महिला समूहले पनि दह संरक्षणका लागि सहयोग जुटाएका थिए । दह संरक्षणका लागि जुटेका रामपुर–६ र ७ का जनताले दहलाई नै आयस्रोतको गतिलो माध्यम बनाउन केही समयअघि व्यावसायिकरुपमा माछा पालन पनि गरेका थिए । तीन वर्षअघि एक याममा दहमा गरिएको माछापालनबाट एक लाख रुपैयाँ आम्दानी भएको उनीहरुले बताए । उक्त दह सदरमुकाम घोराहीदेखि करिब १५ किलोमिटर पूर्व उत्तरमा पर्छ । रासस
नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ । निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए । निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यान समक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ । ‘निगमसमक्ष काठमाडौं–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ’, उनले भने, ‘तर निगमले हेलचेक्रयाई गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन ।’ निगमसँग सातामा सात वटा नियमित उडान गर्नसक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नु परेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ । निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरण समक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताए । तर प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको उनको भनाइ छ । नेपाल र मलेसियाबीच सन् २०१५ अप्रिल ३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सोहीअनुसार नेपाली वायुसेवा कम्पनीले मलेसियामा सातामा २८ वटा उडान गर्न सक्छन् । रासस