वायुसेवा निगम सुधारेर गौरव गर्न लायक ध्वजावाहक बनाउँछु : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन् । निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको उनले उल्लेख गरे । पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउन विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग अन्तक्र्रियाका क्रममा पर्यटनमन्त्री किरातीले निगमका साथै मुलुकको समग्र हवाई क्षेत्रको सुधार गरी सुरक्षित र भरोसायोग्य बनाउन नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे । ‘वायुसेवा निगम इतिहासकै चरम सङ्कटमा छ, अर्को भाषामा भन्नुपर्दा कृत्रिम श्वास लिइरहेको छ । राष्ट्रिय ध्वजावाहकको यो हालतलाई सुधार गरेर लैजानुर्छ,’ उनले भने । पर्यटनमन्त्री किरातीले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्न नसकिएको बताए । संस्कृति र सम्पदाको क्षेत्रमा पनि सन्तोषजनक काम हुन नसकेको उनको भनाइ छ । आफू मन्त्री भएर आएको दुई महिनाको अवधिमा मन्त्रालय र मातहत निकायमा धेरै समस्या पहिचान गरेको र समस्यालाई सम्भावनामा परिणत गर्न आवश्यक रणनीतिसमेत बनाएको उनले उल्लेख गरे । उनले मन्त्रालय मातहतका निकायको कामकारबाही चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम ल्याउने बताए । पर्यटनमन्त्री किरातीले पर्यटन मन्त्रालयअन्तर्गतका निकायको कामलाई परिणाममुखी बनाउन के–कसरी काम गर्न सकिन्छ भनेर सञ्चारकर्मीसँग आवश्यक राय–सुझाव पनि लिएका थिए । उनले लामो समय पर्यटन र नागरिक उड्डयनमा कमल चलाउने पत्रकारको सुझावलाई समेत आधार मानेर मन्त्रालयको कामलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे ।

अन्नपूर्ण पदमार्गमा तीन महिनामा भित्रिय साढे दुई हजार पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन् । सन् २०२३ को जनवरीदेखि हालसम्म सो सङ्ख्यामा विदेशी पर्यटक आएका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०÷५० जना पर्यटक आउने गरेका छन् । “यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिकमन्दीका कारण हुनसक्छ”, गुरुङले भने । कोरोना सङ्क्रमणपछि विगतमा आएकोझै पर्यटक हालसम्म आएका छैनन् । पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन् । जुर्मुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना सङ्क्रमणले लामो समय ठप्प भयो, सङ्क्रमण हटेयता विगतमा झै पर्यटक आउन नसकेको व्यवसायी पञ्चबहादुर गुरुङले बताए । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउछन् । मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ ।

निकुञ्जभित्रको सफारीका लागि नयाँ मार्ग

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरबाट बिहीबार नयाँ मार्गको सुरुआत गरिएको छ । निकुञ्जको पश्चिम सेक्टरमा रहेको गिद्धेनी पोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म निर्माण गरिएको करिब ३७ दशमलव एक किलोमिटर पर्यटन मार्गको बिहीबारदेखि औपचारिक सुरुआत गरिएको जङ्गल पर्यटन मार्ग निर्माण समितिका अध्यक्ष सन्तोष धितालले जानकारी दिए । सफारीका लागि विभिन्न घुमाउरो र मूल बाटोबाहेकको भित्री बाटोको यात्रा गरेर गिद्धेनीपोस्टदेखि पुरानो आइल्यान्ड क्याम्पसम्म पुगेर फर्किंदा करिब ५५ किलोमिटरको सफारी हुने अध्यक्ष धितालले बताए । गैँडाकोट नगरपालिका–१७ को पाँच लाख रुपैयाँ सहयोग र होटल व्यवसायीहरुको १६ लाखको लगानीमा पर्यटन मार्ग निर्माण गरिएको हो । निकुञ्जभित्र जङ्गल सफारीका लागि सुरु नयाँ पर्यटन मार्ग निकुञ्ज प्रवेश गर्दा विशेष गरेर दुर्लभ एकसिङ्गे गैँडा धेरै सङ्ख्यामा देख्न सकिने अध्यक्ष धितालले बताए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यसहित जनप्रतिनिधि, पत्रकार, होटल व्यवसायी तथा संरक्षणकर्मीसहितको सहभागितामा बिहीबार यही रुटबाट पहिलो पटक गरिएको जङ्गल सफारीका क्रममा १४ एकसिङ्गे गैँडा फेला परेका थिए । धेरै मात्रामा एक एकसिङ्गे गैँडा तथा अन्य दुर्लभ वन्यजन्तु र विभिन्न प्रजातिका चरा अवलोकन गर्न इच्छुक पर्यटकका लागि उद्घाटन गरिएको पर्यटन मार्ग उत्कृष्ट मार्ग भएको र यो मार्गले निकुञ्जभित्रका वन्यजन्तुको गतिविधि निगरानी गर्नसमेत उल्लेख्य सहयोग पु¥याउने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए । गत पुसमा नवलपुरकै देवचुलीमा रहेको दिव्य सामुदायिक वनबाट निकुञ्जभित्र सफारीका लागि पर्यटन मार्ग निर्माणको काम अगाडि बढाइएको छ भने पर्यटकीय क्षेत्र अमलटारीबाट गत माघबाट निकुञ्जभित्रको ‘कोर’ क्षेत्रमा जङ्गल सफारी गर्न निकुञ्जले अनुमति दिएको थियो । यसअघि दुई होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र नवलपुरबाट निकुञ्जभित्र सफारीको अनुमति पाएका थिए भने अन्य होटल तथा घरबासले निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्रका सामुदायिक वन क्षेत्रमा पर्यटकलाई जङ्गल सफारी गराउँदै आएका थिए । नवलपुरबाट निकुञ्जभित्र लामो दूरीको जङ्गल सफारी सुरु हुने भएपछि यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छ्न । बिहीबार सुरु गरिएको जङ्गल पर्यटन मार्ग देशकै दोस्रो लामो मार्ग भएको दाबी गरिएको छ । रासस