५ वर्षपछि सगरमाथा चढ्ने अनुमति पाएपछि दुवै खुट्टा नभएकाे बुढामगर लागे आधारशिविरतर्फ
काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । बुधबार उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । शारीरिक रुपमा अशक्त रहेका उनका दुवै खुट्टा छैनन्। उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने उनी पहिलो व्यक्तिसमेत हुन् । सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानुभन्दाअघि उनले ५ वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुशी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशी दिने विश्वास व्यक्त गरे । उनले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केही पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने जानकारी दिए । सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए भने र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उनी सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन् ।
मनकामना केबुलकार आज बन्द
काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो । केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नत्ति गरेको छ ।
मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक
मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ । सडक सञ्जालले छोएपछि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउँछन् । बहुचर्चित बेनी– जोमसोम– कोरोला सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग प्रन्ध्र मिनेट लाग्छ । एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो । पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो । तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ । ताल समुद्री सतहदेखि दुई हजार सात सय २५ मिटर उचाइमा अवस्थित छ । तालसम्म पुग्न व्यवस्थित सडक निर्माण सँगसँगै ताल वरपर रिङरोड, पार्किङ, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिएको वडा नं– २ का अध्यक्ष गौतम शेरचनले बताए । मुस्ताङ जिल्लामा मात्रै करिब आधा दर्जनभन्दा बढी तालतलैया छन् । जसमा अत्यन्तै चर्चित ताल ढुम्बा हो । यो घरपझोङ गाउँपालिका– ५ मा पर्छ । तर अहिले सेकुङ ताल पनि आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको वडाध्यक्ष शेरचनको ठम्याइ छ । थासाङ गाउँपालिकाभित्रका प्रमुख आकर्षणको रुपमा रहेको टिटी ताल र भुछर ताललाई समेत विभिन्न निकायले संरक्षण र व्यवस्थापनमा आवश्यक पहलकदमी चालिरहेको अध्यक्ष शेरचनले बताए । गत साल मात्रै तीन वटा तालको संरक्षण र प्रवद्र्धन गर्नको लागि सङ्घीय सरकारले गुरुयोजना नै बनाएर एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको थियो । पर्यटकलाई त्यहाँसम्म जाने वातावरण निर्माणका लागि विशेषतः प्रचारप्रसारको खाँचो देखिएको वडाध्यक्ष शेरचनको भनाइ छ । रासस