गर्मी सुरु भएसँगै सुनकोसीमा बढे पर्यटक
कमलामाई । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा र्याफ्टिङ गर्ने पर्यटकको भीड लाग्ने गरेको छ । दिनकै एक–दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन् । पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवाले पर्यटक तान्न थप सहयोग पुगेको छ । राजधानी काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले पर्यटकलाई आवातजावतमा सहजता थपिदिएको छ । सन् २०१८ अक्टोबर १० मा व्यवसायीले सञ्चालन गरेको जलयात्रा अहिले पर्यटकको आकर्षण बनेको छ । जाडोयाममा पनि जलयात्रा गर्ने पर्यटकको घुइँचो थियो । गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने व्यवसायी तथा ताज रिभरसाइड रिसोर्टका प्रमुख श्रेष्ठ बताउँछन् । ‘जलयात्राको मुख्य सिजन गर्मीयाम हो । यस याममा विशेषगरी काठमाडौंबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक एक हजार जना बढीले जलयात्रा गर्दै आएका छन्’, उनले भने । प्राविधिक दृष्टिकोणले सुनकोसी नदीमा जलयात्रा गर्न सुरक्षित देखिएपछि पर्यटकलाई जुनसुकै समयमा पनि जलयात्रा सेवा दिन सकिएको उनले बताए । जलयात्राका लागि २० वटा बोट डुङ्गा छन् । प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिन्छ । हाल १० वटा बोटमात्रै नियमितरूपमा सञ्चालित छन् । उनका अनुसार सुनकोसी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरबाट मूलकोटसम्म १७ किलोमिटर वा यात्रुको चाहनाअनुसार मुलकोट–खुर्कोटसम्म जलयात्राको नियमित रुट हो । यहाँ जलयात्रा गरेवापत प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ शुल्क कायम गरिएको छ । पर्यटकले एक साताको प्याकेजमा मुलकोट–चतारासम्म जलयात्रा सेवा पनि लिन सक्छन् । यो सेवावापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उनले बताए । रामेछाप खाडाँदेवी गाउँपालिका–३ भिरपानीका चेतबहादुर जर्गामगर बिहीबार सिन्धुलीको मूलकोटमा आएर जलयात्रामा सहभागी भए । रामेछापको नमूना माझी बस्ती, डाँडापाखा, पहाड र नदीको र्याफ्टिङले स्वर्गीय आनन्द प्राप्त भएको उनले बताए । जलयात्राकै लागि उनी भिरपानीबाट मूलकोट आएका हुन् । एक दिनको पूरै समय मूलकोटमा बिताउने गरी आएको उनले सुनकोसीमा जलयात्रा गरी बिताएको बताएको सुनकोसी नदीमा जलयात्रा सुरु गरिएपछि यहाँका होटल र रिसोर्ट सधैँजसो भरिन थालेका छन् । व्यापार, व्यवसायमार्फत गाउँपालिकाको विकास गर्न होटल, होमस्टे निर्माण तथा र्याफ्टिङ गाइडरलाई तालिम दिनेजस्ता काम पनि बेला–बेलामा भइरहेका छन् । सुनकोसी गाउँपालिकामा पर्यटक भित्र्याउन सुनकोसी नदीमा सञ्चालन गरिएको जलयात्रा सेवाले सहयोग गरेको गाउँपालिका प्रमुख दीपा बोहोरा दाहालको बुझाइ छ । रासस
विदेशमा कार्यक्षेत्र पार्न निगमका कर्मचारीबीच हारालुछ, पैसादेखि पावरको चलखेल
काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीहरुबीच विदेशमा कार्यक्षत्र पार्न हारालुछ नै हुने गरेको छ । प्रतिस्पर्धा भन्दा पनि पावर र पैसाको मोलमोलाइ गरेर कर्मचारीहरुबीच विदेश कार्यक्षेत्र पार्न ठूलो चलखेल नै हुने गरेको हो । विदेशमा रहेका निगमको कार्यालयमा काम गर्न उनीहरुले लामो समयदेखि लविङ गरेर विदेश जाने गरेका छन् । योग्यता पुगेका योग्य कर्मचारीभन्दा पनि पैसा र पावरको चलखेल गर्न सक्ने कर्मचारीले विदेशमा सरुवाका लागि ठूलो लविङ गर्ने गरेको निगमकै कर्मचारीहरु बताउँछन् । विदेश जान मन्त्रीको पावर र पैसा बुझाएका आधारमा योग्यता नै नपुगेका कर्मचारीहरु विदेशस्थित कार्यालयमा जाँदा कामको प्रतिफल नदेखिएको निगमका कर्मचारीहरु बताउँछन् । ‘पछिल्लो समय निगमका कार्यकारी अधिकारी युवराज अधिकारीले विभिन्न देशमा कन्ट्री म्यानेजर (स्टेशन) र फाइनान्स म्यानेजरका रुपमा आफु निकटका कर्मचारीहरु पठाएका छन्’, निगम स्रोतले भन्यो, ‘राम्रोसँग अंग्रेजीसमेत बोल्न नसक्ने कर्मचारीलाई विदेशका कार्यालयमा पठाउँदा निगमको शाख नै खस्किएको छ ।’ कार्यकारी अध्यक्ष अधिकारीले योग्यता पुगेका कर्मचारीलाई छोडेर उनी निकटका एक दर्जनबढी कर्मचारीलाई विभिन्न देशका लागि सिफारिस गरेका थिए । सन् २०१९ देखि विदेशका कर्मचारीको सरुवा नभएकोमा निगमको कार्यकारी अधिकारीको रुपमा नियुक्त भएपछि आफू निकटका योग्यता नपुगेकाहरुलाई पठाएको निगममा कार्यरत कर्मचारीहरु बताउँछन् । विस २०७८ को कात्तिकमा सरकारले निगमका पूर्व कर्मचारी समेत रहेका अधिकारीलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्षका रुपमा नियुक्त गरेको थियो । निगमले हाल सबै कर्मचारीलाई आवास सुविधासहित तह अनुसार १ हजार अमेरिकी डलरदेखि १५ सय डलरसम्म सेवा सुविधा दिएको छ । विदेशमा काम गर्ने कर्मचारीहरुले तलबसहति अन्य सेवा सुविधा पनि पाउने र सुविधा सम्पन्न देशमा पनि बस्न पाउने भएकोले विदेशमा काम गर्न रुचाउँछन् । तलब पनि नेपालको तुलनामा चार गुणा बढी हुन्छ । निगमले हाल उडान गर्दै आएको विभिन्न देशका १० गन्तव्यमा हाल २४ जना कार्यरत रहेका छन् । ६ तहदेखि ८ तहसम्मका कर्मचारीलाई विदेशस्थित कार्यालयमा पठाइने गरिएको निगमका सहप्रवक्ता गणेशकुमार घिमिरे बताउँछन् । ‘भारतको नयाँ दिल्लीमा दैनिक २ उडान छ, दैनिक उडान हुँदा नयाँदिल्लीमा ४ जना कर्मचारीहरु हुनुहुन्छ, अन्य देशमा २ जना कर्मचारी निगमले पठाएकोे छ’, उनले भने । विदेशमा कार्यरत कर्मचारीलाई निगममा कार्यरत कर्मचारीको भन्दा बढी सेवा सुविधा दिइएको उनले बताए । ‘यहाँको भन्दा धेरै सेवासुविधा चाहिन्छ, त्यो पनि दिइएको छ, तर उहाँहरुले पर्याप्त नभएको गुनासो गर्दै आउनुभएको छ’, उनले भने । नेपाल वायु सेवा निगमका कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली २०५८ अनुसार बनेको नेपाल वायु सेवा निगमका कर्मचारीको विदेशस्थित कार्यालयमा सरुवा सम्बन्धी कार्यविधि २०७६ मा भएको व्यवस्था अनुसार विदेशका कार्यालयमा कर्मचारी सरुवा गरिएको उनले बताए । विदेशस्थित कार्यालयमा कर्मचारी पठाउँदा जेष्ठता, शैक्षिक योग्यता, कार्य सम्पादन मूल्यांकन लगायत अन्य गतिविधिलाई आधार बनाईने गरिएको उनको भनाइ छ । ‘हामीलाई कर्मचारी पठाउन धेरै दबाब आउने गर्छ, तर हामी नियममा बसेर पठाउँछौं,’ उनले भने । यद्यपि, लविङ गरेर विदेशमा काम गर्न गएका निगमका कर्मचारीहरु अझै पनि अहिलेको सेवा सुविधामा सन्तुष्ट छैनन् । उनस्हरुले अन्य वायु सेवा कम्पनीहरुको तुलनामा नेपाल वायु सेवा निगमका कर्मचारीहरुको तलब तथा अन्य सेवा सुविधा कम भएको गुनासो गरेका छन् । ‘नेपालमाभन्दा हामीलाई केही बढी सेवा सुविधा दिइएको छ, तर हामीलाई दिइएको सेवासुविधा पर्याप्त छैन’, विदेशस्थित स्टेशनमा कार्यरत एक कर्मचारीले भने, ‘निगमले हामीलाई दिएको सेवा सुविधा अनुसार खर्च गर्ने हो भने एक सातालाई पनि पुग्दैन ।’ उनीहरुलाई निगमले आवास सुविधा पनि दिइएको हुन्छ । अन्य देशका वायुसेवा कम्पनीका कर्मचारीलाई धेरै सेवासुविधा दिइएता पनि नेपाल वायुसेवा निगमले दिन नसकेको उनको भनाइ छ । ‘अन्य देशका वायुसेवा कम्पनीका कर्मचारीलाई हामीलाई दिइएकोभन्दा ६/७ गुण बढी सेवासुविधा दिइएको छ, उनीहरुको परिवार सबैको व्यवस्थापन कम्पनीले नै गर्ने गरेको छ, तर हाम्रोमा एउटा ज्यान पाल्न समेत कठिन छ’, ती कर्मचारीले भने ।
ठमेलमा पर्यटक छन्, व्यापार छैन
काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् । नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ । ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङ जान प्रयोग गरिने सामान बिक्री गर्दै आएका पून्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन् । ‘कोरोना महामारी अगाडिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ’, उनी भन्छन् । कोरोना महामारी अघि लागेजुले दैनिक ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँको व्यापार गर्थे । अहिले दैनिक आठ हजारदेखि दश हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनी बताउँछन् । बाइस वषर्को आफ्नो व्यापारको अनुभव सुनाउँदै लागेजुले भने– ‘अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।’ यस्तै, ठमेलमै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार/व्यवसाय घटेको बताउँछन् । ‘ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको उनी बताउँछन् । ‘कहिलेकाँही त बिक्री नै हुँदैन’, रेग्मी भन्छन् । खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनको भनाइ छ । रेग्मी सामान किन्ने र खर्च गर्ने पर्यटक नआएका कारण व्यापार व्यवसाय धरापमा परेको सुनाउँछन् । ठमेलमा विगत १४ वर्षदेखि ह्याण्डिक्राप्टको व्यापार/व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार एकदमै घटेको बताउँछन् । ‘पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्’, बाँस्तोला भन्छन् । उनले उलन, पश्मिना, फेल्टलगायतका सामान बिक्री वितरण गर्दै आएका छन् । ठमेलमा व्यापार व्यवसाय नहुँदा घरबेटीलाई भाडा तिर्नसमेत समस्या पर्दै गएको व्यवसायी बताउँछन् । ठमेल क्षेत्रका व्यापारीले व्यवसाय नभएको गुनासो गरिरहँदा ठमेलका होटलमा भने पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी बताउँछन् । ठमेलमा काठमाडौँ इको होटल सञ्चालन गर्दै आएका विमल सहदेव धमला पछिल्लो समय ठमेलमा पर्यटकको सङ्ख्या बढेको बताउँछन् । ‘मैले सञ्चालन गरेको होटलमा अहिले दैनिक ७० देखि ८० कोठा भरिएका छन्, यो तुलनात्मक रुपमा राम्रो हो’, उनी भन्छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको बताउँछन् । ठमेलमा एक/दुई रात आएर बस्ने पर्यटकका भरमा व्यापार व्यवसाय केन्द्रीत रहेको उनले सुनाए । ठमेलमा सञ्चालित चारतारे होटल ‘रमदा’का महाप्रबन्धक महेश फुयाँल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन् । अहिले पर्यटकीय समय भएको कारण पनि होटलमा पर्यटकको सङ्ख्या बढेको उनी बताउँछन् । नेपालमा पर्यटक आवागमनको सङ्ख्या बढेसँगै हवाई क्षेत्रमा पनि उत्साह थपिएको छ । पछिल्लो समय हवाई मार्ग हुँदै सगरमाथा आधारक्षेत्र सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्लालगायत क्षेत्रमा जाने पर्यटक बढेका छन् । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौला बताउँछन् । ‘तारा एयरलाइन्स र यती एयरलाइन्सको माउण्टेन फ्लाइटमार्फत घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ’, उनी भन्छन् । पछिल्लो समय तारा एयरलाइन्सले विभिन्न गन्तव्यस्थलमा दैनिक ५० वटासम्म उडान भर्ने गरेको छ । सो एयरलाइन्सले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लासम्म दैनिक आउने जाने ३२ उडानसम्म गरेको छ । यस्तै, सोही एयरलाइन्सले पोखराबाट मुस्ताङसम्म १० उडान र नेपालगञ्जबाट हिमाली क्षेत्रमा छ उडान गर्ने गरेको छ । अङ्ग्रेजी वर्षको मार्च, अप्रिल, मे महिनालाई नेपालमा पर्यटकीय यामका रुपमा लिने गरिन्छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा मात्र नेपालमा ९९ हजार चार सय २६ पर्यटक भित्रिएका छन् । मार्च महिनामा सार्क राष्ट्रबाट ३३ हजार चार सय ५४, अन्य एशियाली मुलुकबाट १५ हजार छ सय ४३, युरोपबाट २३ हजार दुई सय ६५ तथा अन्य राष्ट्रबाट तीन हजार नौ सय ५८ पर्यटक नेपाल आएका छन् । यस्तै, क्यानडाबाट एक हजार सात सय सात, अमेरिकाबाट नौ हजार पाँच सय ५७ का साथै मध्यपूर्वलगायतका देशबाट १० हजार तीन सय ७५ पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएको पर्यटन बोर्डका निर्देशक एवं सूचना अधिकारी मणिराज लामिछाने बताउँछन् । उनका अनुसार मार्च महिनामा मात्र भारतबाट २५ हजार नौ सय ११ पर्यटक नेपाल आएका छन् । गत वर्षको मार्च महिनामा भारतबाट १५ हजार १३ पर्यटक आएका थिए । अमेरिकाबाट गत वर्षको सोही अवधिमा चार हजार आठ सय ९६ पर्यटक आएकामा यसपटक नौ हजार पाँच सय ५७ पर्यटक आएका छन् । मार्चमा भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलङ्काबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन् । रासस