क्यानमा खुला प्रतिस्पर्धाबाट महानिर्देशक छनोट गरिने, ७ दिनभित्र निवेदन दिनुपर्ने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पहिलो पटक महानिर्देशक (डीजी) खुला प्रतिस्पर्धाबाट छनोट गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यान महानिर्देशक पदका लागि आवेदन आह्वान गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९(१) अनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि कार्यकारी प्रमुखका रूपमा महानिर्देशक नियुक्त गरिने व्यवस्था छ । योग्यता पुगेका नेपाल सरकार वा प्राधिकरणकै सेवामा कार्यरत इच्छुक उम्मेदवारले ७ दिनभित्र मन्त्रालयमा आवेदन दिनुपर्नेछ । मन्त्रालयका अनुसार आवेदन फाराम, आवश्यक योग्यता, अनुभव, पेश गर्नुपर्ने कागजात, छनोट प्रक्रिया तथा सेवा–सुविधासम्बन्धी विस्तृत विवरण आधिकारिक वेबसाइटमार्फत उपलब्ध गराइएको छ । प्राधिकरण विगत ५ महिनादेखि महानिर्देशक विहीन छ । पर्यटनमन्त्री खडकराज पौडेलले मातहतका निकायमा नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने प्रतिबद्धता जनाएका थिए । यस व्यवस्थासँगै अब मन्त्रालयका कर्मचारीहरूले पनि महानिर्देशक पदका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् । यसअघि भने प्राधिकरणकै ११ र १२ तहका कर्मचारीहरूबाट मात्र महानिर्देशक चयन गरिँदै आएको थियो ।
बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो । म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क निर्माणका लागि रु १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोतको व्यवस्था भए पनि योजना कार्यान्वयन नहुँदा बजारवासी निराश भएका छन् । पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०–२० लाख बजेट विनियोजन गरेका थिए । यस वर्ष नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको योजना स्थानको टुङ्गो नलाग्दा हालसम्म कार्यान्वयन हुन नसकेको बेनी नगरकार्यपालिकाको प्रवक्तासमेत रहनुभएका वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताए । 'नगरपालिकाले वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजनको नर्सरी, आवासभन्दा पछाडिको १० रोपनी जग्गामा पार्क बनाउन प्रस्ताव गरेको थियो', उनले भने, 'बराहपाखो सामुदायिक वनमा पर्ने उक्त क्षेत्रमा पार्क बनाउने कार्ययोजनामा समेटेर योजना कार्यान्वयनको पहल भए पनि वन क्षेत्रमा काम गर्न जोखिम लिन नचाहेकाले समस्या भएको हो ।' हाल प्रस्तावित ठाउँमा पार्क बनाउन नमिल्ने अवस्था भएमा महारानी थानस्थित बराहपाखोको सार्वजनिक जग्गामा निर्माण भएका पूर्वाधारलाई व्यवस्थित गरेर पार्क सञ्चालन गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महारानी थानमा पार्कका लागि पोखरी, चौतारी निर्माण, जग्गा व्यवस्थापनलगायतका काम सकिएको छ । बालबच्चा, ज्येष्ठ नागरिकलाई टहलिन तथा घुम्न आउने पाहुनाहरूलाई भुलाउने उद्देश्यले २०६० साल चैत ७ गते बेनी भिडन्तसँग सम्बन्धित सामग्री राखेर शान्ति पार्क बनाउने योजना प्रस्ताव गरिएको थियो । शान्तिपार्कलाई नगरपालिकाले पछिल्लो तीन वर्षयता गौरव र प्राथमिकताप्राप्त योजनाको सूचीमा राख्दै आएको छ । बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले नगरपालिका र वन डिभिजन कार्यालयले समन्वय गरेर पार्क निर्माणस्थल छनोट गरेमा योजना कार्यान्वयनमा समस्या नरहेको बताए । वन समूहको कार्ययोजनामा समेटिएकाले आफूहरूको तर्फबाट कुनै समस्या नभए पनि नगरपालिकाकै इच्छाशक्ति र सक्रियता आवश्यक रहेको उनले बताए । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पार्क निर्माणस्थलको टुङ्गो लगाएर योजना कार्यान्वयनका लागि पहल गरिरहेको बताए । उनका अनुसार शान्ति पार्क निर्माणस्थल टुङ्गो लगाउन बेनी बजार रहेको वडा नं ७ र ८ को आमभेला बेलाएर परामर्श र सल्लाह सुझाव लिने तयारी भएको छ । रासस
वैशाख १५ देखि काठमाडौंबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकल यात्रा’ हुने
काठमाडौं । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनीस्पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंदेखि लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो । यस शान्तिका लागि साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्याउने लक्ष्यसहित आयोजना हुँदै आएको यो अभियान सन् २०१२ देखि निरन्तर सञ्चालनमा छ । सामाजिक उद्यमी तथा अशोका फेलो मेघ आलेको अवधारणामा सुरु भएको यस अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको संस्थापक आलेले जानकारी दिए । यस अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको जनाइएको छ । यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यस अभियानलाई विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ । यात्राका विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहने जनाइएको छ। पत्रकार सम्मलेनमा बोल्दै संस्थापक आलेले भने, “विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताको सन्दर्भमा यस किसिमका शान्ति अभियानहरूको महत्त्व अझ बढेको छ ।” अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागीहरुको संख्या बढाउन सकिएको अवस्थामा यो अभियानले थप बलियो हुने र पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्ने उनले बताएका छन् ।