नवलपुरमा चौधरी ग्रुपले खोल्यो नयाँ गल्फ रिसोर्ट मिराया
काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीहरूका लागि झनै आकर्षक गन्तब्य बन्ने विश्वास गरिएको हस्पटालिटीले जनाएको छ । अध्यात्म, शान्ति र आनन्ददायी वातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्कभित्र गल्फ मैदानसँगै सञ्चालनमा आएको यस मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउनेछन् । साथै, शाश्वतधाम दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुने विश्वास कम्पनीको छ । ‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमा मिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुत गर्न पाउँदा म हर्षित छु’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिनेगरि तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’ यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्तिसहित साहसिक कार्यको लागि नेपालको विशेष रिसोर्टका रुपमा लिइएको हस्पिटालिटीले जनाएको छ । मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुहरुका लागि पनि उत्कृष्ट गन्तब्य बन्ने विश्वास लिइएको छ । मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्न गतिविधिहरू र अन्य सुविधाहरू प्राप्तगर्न सक्ने छन् । रिसोर्टमा स्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथै वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ताखास सुविधाहरु प्नि रिसोर्टमा छन् । यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुचिभएका मानिसहरुका लागि पनि मिराया उत्कृष्ट गन्तब्य बन्ने विश्वास ग्रुपले जनाएको छ। मिरायागल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमा प्रख्यात छ । आरामदायी रुपमा बस्न मन पराउँने अतिथी वा उनीहरुको अनुभवलाई प्रयोग गर्न चाहनेहरुका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू यस कार्यका लागि समर्पित रहेको कम्पनीले जनाएको छ। रिसोर्टले विभिन्न प्रकारका डाइनिङ विकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता विकल्प यहाँ उपलब्ध छन् । काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ । यो भगवान बुद्धको जन्म स्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरूबाट नजिकको दूरीमा छ । मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन् । यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिन्छ । रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्य गतिविधि र निजी योग रिट्रीटहरूसहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि सुसज्जित बनेको छ । आध्यात्मिक अनुभव खोज्नेहरूकालागि मिरायाले शाश्वतधामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरु पनि उपलब्ध गराउँछ ।
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन
गण्डकी। शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ । गाउँका सबै घरमा मौरीका घार छन् । यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ । पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छे«लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिनु यहाँको विशिष्टता हो । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्व चुलिएको छ । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन् । मह गाउँकै रुपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृङ्खला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिए । ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौँ’, उनले भने । प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एक दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उनले बताए । दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उनले सुनाए । दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्यका रुपमा आफूहरूले पाएको बताउँदै रानाभाटले हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताए । दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भवःको मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ । तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्न सकिन्छ । मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्दबहादुर थापाले बताए । स्वदेश तथा विदेशमा यहाँको मह पुग्ने गरेको बताउँदै उनले गाउँबाटै प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री भइरहेको जानकारी दिए । मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उनको भनाइ छ । पछिल्ला समयमा विशेषतः बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताए । दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उनको भनाइ छ । प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका स्थानीयवासी विसं २०६५ मा नेपालकै पहिलो घरवास (होमस्टे) सुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए । त्यहाँको अवलोकन पछि दगाममा घरबास सुरु गरिएको उनले जानकारी दिए । घरवास चलाउन २०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन् । घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ । आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिए । घरवासमा आउने पर्यटकका लागि रु एक हजार चार सयको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ । प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ । मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो । कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन् । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताए । दगामको राम्रोसँग प्रवर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटले बताए । ‘दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छन्’, उनले भने । पृथ्वी राजमार्गको कोत्रेबाट चार/पाँच घण्टाको हाइकिङबाट यहाँ पुग्न सकिन्छ । रासस
गर्मी बढेपछि भोजपुरको महभिर झरनामा पर्यटकको घुइँचो
भोजपुर । देशभर तापक्रम बढेसँगै जनजिवन प्रभावित बनेको छ । तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभिर झरनामा पर्यटकको घुइँचो लागेको छ । उनीहरु गर्मी छल्न यहाँ आउने गरेका छन् । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउँछ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ रमाइलो गर्न पुग्ने गरेका छन् । टेम्केमैयुङ–४ नागीमा रहेको यो झरना ६० मिटर लामो छ । भिरमौरी बस्ने भएकाले यो झरनाको नाम महभिर झर्ना रहेको स्थानीयको भनाइ छ । बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी पर्यटक पुग्ने गरेका छन् । गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झर्ना वरिपरि पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले बताए । विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरेको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गरेको स्थानीयवासी शिवकुमार राईले बताए । भोजपुर र खोटाङ सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । झरना सडकबाट साढे दुई किलोमिटरभित्र रहेको छ । महभिर झरनालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउने उद्देश्यका साथ काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । ‘गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने लक्ष्य छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ’, उनले भने । अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं– ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हुँदै चखेवाभञ्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । झरना आसपासमा स–साना दह निर्माण गरेर माछापालन, उद्यान निर्माण गर्नेलगायत गाउँपालिकाको योजना छ । महभिर झर्नाका साथै चखेवाभञ्याङ, टेम्के डाँडा र मैयुङडाँडा एकै पटकमा घुम्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ । मुन्दुम पदमार्गले पनि यहाँका धेरै पर्यटकीय क्षेत्रलाई समेटेको छ । चखेवाडाँडा, टेम्केडाँडा र मैयुङडाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ । रासस