पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गत हो : चिनियाँ राजदूत
पोखरा । नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताएका हुन् । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरुले डिजाइन गरेको बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा शुरुवात भएको हो । यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । चाइनिज इन्जिनियरिङहरुबाट यो निर्माण भएको हो । अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’ सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भएको थियो । सीएएमसीईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । चीनबाट उडेको एयरलाइन्सले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएको हो । विमानमा पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीहरु बोकेको थियो । अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा जेठ २७ गते चीन भ्रमणमा गएका थिए । अंग्रेजी नयाँ वर्षबाट उडान शुरु भएको उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुनभने सकेको थिएन । यो जहाज करिव दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किनेछ ।
नेपाल र भारतको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छ : पर्यटन मन्त्री
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताएका छन् । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताए । उनले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गरे । उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै उनले पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए । उनले पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए । मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको बताए ।