थाक्रेको नयाँ चिनारी बन्दै ‘नौबिसे ट्रयाम्प जिपलाइन’, पर्यटक रमाउँदै
नौबिसे । काठमाडौंबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले यसको मनोरञ्जन लिइसकेका छन् । एक हजार दुई सय मिटर लामो सो जिपलाइन पछिल्लो समयमा नेपालमा सञ्चालनमा आएको सम्भवतः सबैभन्दा भिरालो (स्टेपेष्ट) जिपलाइन हो भने नेपालको दोस्रो लामो जिपलाइन हो । धादिङको नौबिसेबाट दामन जाने सडकमा पर्ने यो रिसोर्ट र जिपलाइनको विसं २०७९ वैशाख ७ गते बागमती प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले शुभारम्भ गरेको थियो । हाल पृथ्वी राजमार्गअन्तर्गत थानकोट सुरुङमार्गको निर्माणका कारण हुने जाम र सडकको खाल्डाखुल्डी तथा आर्थिक मन्दीका कारण रिसोर्ट र जिपलाइनमा अपेक्षित ग्राहक आउन नसकेको यसका सञ्चालक बताउँछन् । रिसोर्टमा हाल नौवटा कोठा रहेकामा यसलाई विस्तार गर्ने र स्मिमिङ पुलसमेत निर्माण गर्ने योजना रहेको छ । छोटो समयमा सबैभन्दा आकर्षक मानिने यस साहसिक पर्यटन उत्पादनले आन्तरिक पर्यटकलाई आकर्षित गराउँदै आएको छ । प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ शुल्क राखिएको यो जिपलाइनले २५ प्रतिशत छुटसहित विभिन्न प्याकेज दिँदै आएको छ । जिपलाइनका प्राविधिक विकास भण्डारी यो जिपलाइन नेपालकै सबैभन्दा भिरालो (ठाडो) भएको जनाउँदै यसमा व्यक्तिको तौलअनुसार चुम्बकीय ट्रली प्रयोग हुने बताए । यसमा १० वर्षभन्दा कम उमेर र ३५ केजीभन्दा कम तौल भएका तथा बढीमा एक सय १५ केजीका व्यक्तिलाई मात्रै चढाइन्छ । कुनै गम्भीर रोगका बिरामी, उच्च रक्तचाप वा तर्सने स्वभावका व्यक्तिलाई पनि यसमा नचढ्न सुझाव दिइन्छ । यसमा प्रायः मानिसहरू बिदाको दिन र शनिबार बढी आउने गरेका छन् । कुल एक सय २७ रोपनी क्षेत्रफलमा रहेको सो रिसोर्ट र जिपलाइनमा गरी हालसम्म करिब २७ करोड रुपैयाँ लगानी भइसकेको र जिपलाइनका लागि मात्रै दुई करोड रुपैयाँ लगानी भएको रिसोर्टका व्यवस्थापक प्रत्युश लामाले जानकारी दिए । यसमा १२ लगानीकर्ता छन् भने कार्यरत कर्मचारी अधिकांश स्थानीय छन् । जिपलाइनका प्राविधिकलाई त्यही तीन महिना तालिम दिइएको थियो । यसमा अष्ट्रेलिया र क्यानडाका प्रविधि लिइएको छ । थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडा काठमाडौंबाट नजिकको दूरीमा रहेको यस नयाँ रिसोर्ट र जिपलाइनले आन्तरिक पर्यटक बढाउन सक्ने बताउँदै गाउँपालिकाका तर्फबाट आवश्यक पूर्वाधार र पर्यटन पूर्वाधारका काममा प्राथमिकता दिइने जनाए । उनले उक्त जिपलाइनलाई गाउँपालिकाका एक चिनारीका रूपमा पनि विकास गर्न सकिने बताए। हालसम्म विश्वकै लामो जिपलाइनका रूपमा पोखराको जिपफ्यायर नेपालको एक हजार आठ सय मिटरको जिपलाइन रहेको छ । नेपालमा पहिलोपटक पोखराको साराङकोटडाँडाबाट जिपलाइनको थालनी भएको हो । हाल करिब एक दर्जन जिपलाइन सेवा नियमित सञ्चालनमा आइसकेका छन् । रासस
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक छ : नवीन श्रीवास्तव
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । लुम्बिनीमा आज आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिबद्धता जनाए । उनले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको बताए । उनले पछिल्लो समय योगा नेपाल र भारतमा मात्रै नभई विश्वभर नै फैलिनु खुसीको विषय भएको बताए । उनले भने, ‘योगले नेपाल र भारतलाई जोडेको छ, साथै यसले विश्वभर जोडिँदै गएको छ । योग भारत र नेपालमा मात्रै होइन, विश्वभर प्रचलित छ । हामी चाहन्छौँ की हरेक वर्ष २० जुन वा ३१ जुनमा लुम्बिनीमा योग दिवस मनाइयोस् । यो पहिलो पटक हो, अर्को वर्षमा पनि मनाउनेछौँ । सांस्कृतिक सम्बन्धलाई नेपालसँग कसरी अघि बढाउने भन्ने बारेमा पनि हामीले छलफल गरिरहेका छौँ । हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौँ । यो छलफलबाट सकारात्मक वातावरण बन्नेछ ।’ राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन भारतले चाहेको उल्लेख गरे ।
नेपाल राम बिना र भारत सीता बिना अधुरो छ : मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन् । मंगलबार लुम्बिनीमा आयेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग मानव कल्याणको साझा ज्ञान भएको बताए । उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने गरिएपनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको बताए । मन्त्री किराँतीले भने, ‘योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरिन्छ । तर योग धर्मसँग पनि जोडेर हेरिन्छ । योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान हो । आजभन्दा २३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रुपमा थियो । कौटिल्य शास्त्रमा आधारित कुरा गर्ने हो भनेपनि नेपालको उन, नेपालको छाला भारत निर्यात हुने गर्दथ्यो ।’ उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए । उनले भने, ‘पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको छ ।’ यस्तै मन्त्री किराँतीले नेपाल राम बिना र भरत सीता बिना अधुरो रहेको बताए । उनले भने, ‘यो सम्बन्धलाई अझै प्रगाढ बनाउन हामी एक आपसमा सम्बन्धित, सम्मान छौँ । हामी राम बेगर अपूर्ण छौँ । भारत सीता बेगर अपूर्ण छ ।’ उनले सरकार नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए । उनले महेन्द्र नगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।