घोडेपानीमा गुराँस ‘पार्क’, रमाँउदै पर्यटक

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पार्क बनाइएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । ‘उद्यान बनाउन डिभिजन वन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको थियो’, उनले भने, ‘ठूलाठूला अक्षरको ब्लकबाट पोखरा-जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाइएको छ।’ घना गुराँसे जंगलबीचमा रहेको पार्क अवलोकन गर्न जाने पर्यटकका लागि शौचालय, चरा अवलोकन गर्नेहरूका लागि बेञ्च, पानी पर्दा, गर्मीमा ओत लाग्ने गोलघर बनाइएको कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष सुशील पुनले बताए। ‘पार्कभित्र ढुंगा बिछ्याएर पदमार्ग बनाइएको छ’, उनले भने, ‘पार्कबाट गुराँसको जंगलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ।’ पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ। अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइक्लिङ ट्रेल र वर्ड वाचिङ प्वाइन्ट बनाइएको थियो। घोडेपानी-पुनहिल भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि गुराँस पार्क सहयोगी बन्ने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए। घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घन्टा गुराँसे जंगलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ। घान्द्रुकबाट घोडेपानी-नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जंगल छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)को अभिलेखअनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ। त्यसमध्ये घोडेपानी क्षेत्रको जंगलमा आठ प्रजातिका पाइन्छन्। पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जंगलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ। फर्कँदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ। घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सक्छन्। प्यारीवराहबाट घोडेपानीसम्मको घोडाचढी (पोन्नी ट्रेल)मा जान सकिन्छ। प्रदेश सरकारले अघिल्लो वर्ष २५ लाख  रुपैयाँ खर्चेर घोडेपानीबाट कालीसार (गुराँस पार्क) हुँदै प्यारीवराह ताल पुगेर भल्खरा हुँदै घोडेपानी फर्कन करिब सात किमी साइकल लेन, हर्स राइडिङ ट्रेल र प्यारीवराह ताल फन्को लगाउने पैदलमार्ग बनाएको थियो। डिभिजन वन अधिकृत मनोज रानाभाटले पार्कले पर्यापर्यटनमा योगदान पुर्‍याउने र घोडेपानीमा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास गरे। डिभिजन वन कार्यालयले तीन वर्षअघि पनि अन्नपूर्ण-७ रिमागाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँस पार्क बनाएको थियो । फूलबारीमा १० लाख ७० हजार रुपैयाँ बजेटमा पार्क क्षेत्रलाई तारबार गरी छुट्याउने, गुराँस पार्क क्षेत्रमा एउटा गोलघर बनाइएको छ। रासस

नेपाल चीन बिच सम्बन्ध अझै प्रगाठ भएको छ : राज्यमन्त्री सिर्पाली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पोखरामा गरिएको नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रमले नेपाल र चीन विच सांस्कृतिक तथा पर्यटनको क्षेत्रमा सम्बन्ध अझै विस्तार भएको बताएका छन् । सनिबार पोखरामा भएको दुई दिवसीय नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रमले आयोजना गरीएको थियो । सो कार्यक्रमको समापन सभामा बोल्दै राज्यमन्त्री सुशिला सिर्पालीले सो कुरा बताउनु भएको थियो । नेपाल सरकारको पर्यटन बोर्ड र चीनीया राजदुतावासको संयुक्त आयोजनामा पोखरामा नेपाल चीन मैत्रिपुर्ण ड्रागन ढुंगा प्रतिस्प्रधा पर्वको आयोजना गरीएको हो । यो कार्यक्रमको आयोजनाका लागि चीनबाट पोखरा अन्तराष्ट्रिय विमान स्थलमा असार ६ गते चीनबाट भिन्दै विमान अवतरण गरेको थियो । सनिवार भएको समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सिर्पाली, नेपालका लागि चीनका राजदुत चेन सोंग सहित १५० भन्दा बडि चीनीयाँ प्रतिष्प्रधि खेलाडी र अन्य कुटनितिज्ञहरुको समेत उपस्थिती रहेको थियो । यस प्रकारको कार्यक्रमले नेपाल चीन विचको मैत्री सम्बन्धमा थप विस्तार, सांस्कृतिक सम्बन्धको आदान प्रदान, एक अर्काको संस्कार र संस्कृति बुझन मदद मिलेको बताईएको छ ।

अनि जन्मियो जनकपुरमा साहको ‘मिथिला थाली’

जनकपुरधाम । करिब पाँच महिनाअघि ‘मास्टर सेफ’ उपमाले परिचित सन्तोष साह बेलायती साथीलाई लिएर जनकपुरधाम आएका थिए। आफ्नो जन्मथलो जनकपुरधामको परिवेशबारे बेलायती साथीलाई साक्षात्कार गराउनु साहको उद्देश्य थियो । ‘मिथिला थाली’बाटै बिबिसीको ‘मास्टर सेफ’ उपविजेता बनेका साहको उद्देश्य मिथिलाञ्चलको ऐतिहासिक राजधानीको सांस्कृतिक एवं ऐतिहासिक गौरवसँग जोडिएका विविध पक्षबारे साथीहरूलाई दिनुका साथै स्थानीय परिकारको स्वाद चखाएका थिए। तर त्यति धेरै प्रयास गर्दा पनि खोजे र रोजेजस्तो परिकार खुवाउन नपाएकोमा साहलाई अझै पनि पछुतो छ । त्यसको केही समयपछि जनकपुरका स्थानीय परिकारको प्रचार गर्ने उद्देश्यसहित अर्कोपटक जनकपुर आउने कार्यक्रम त बन्यो तर खोजे र रोजेजस्तो खाना खान नपाउने समस्या फेरि दोहोरिने भयो । त्यसैले उहाँले साथीकै रेस्टुराँमा खाना खाने निधो त गरे, तर दुई घण्टा कुर्दा पनि ताजा खाना खान पाएनन् । त्यसपछि मात्रै जनकपुरधाममा ‘मिथिला थाली’ रेष्टुराँ सञ्चालन गर्ने योजना जन्मिएको साहको भनाइ छ । ‘म यही माटोमा जन्मिएँ, हुर्किएँ र यहीँको परिवारले ख्याति पनि कमाएँ’, उनले भने, ‘यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच त थियो तर यति चाँडै गरौँला भन्ने तयारी थिएन ।’ ती दुई अनुभवबाट प्राप्त सिकाइले जनकपुरमा मिथिला थाली जन्मिएको उनको भनाइ छ । ‘मिथिला थाली व्यापार मात्रै होइन’ मिथिला थाली सञ्चालन गर्ने भएपछि त्यसको सम्भावना, मौलिक परिकारका लागि आवश्यक कच्चा पदार्थको उपलब्धता बुझ्न साहलाई गाउँ पस्नुपर्‍यो । जसमा साहलाई दाई दिलीपकुमारले सहयोग गरे। तर गाउँमा भने जस्तो सामान पाउन भने गाह्रो भयो । ‘युवाहरू वैदेशिक रोजगारीमा गएपछि पहिले जस्तो खेती नहु्ने रहेछ । उत्पादन कम हुन थालेपछि खोजेको जस्तो सामान भेट्न गाह्रो भयो’, उनले भने । साहले चार महिनामा गाउँबाट करिब चार सय केजी ‘बिर्या’ जम्मा गरे । बेथेको सागबाट बन्ने एक केजी बिर्याका लागि करिब १० केजी साग आवश्यक पर्छ । अग्रिम भुक्तानी गरेर सङ्कलन गरेको चार सय केजी बिर्याले मुस्किलले एक महिनामात्रै पुग्ने साहले बताए । त्यसैगरी पाँच सय केजी आँपको अचार, तिलौरी ९चामलको कनिकाबाट बन्ने० र एउटा मिथिला थालीमा राखिने १५ देखि १७ प्रकारका परिकारका लागि आवश्यक सामग्री स्थानीय बजार र गाउँघरबाट ल्याइएको उनको भनाइ छ । साहले नेपाली खानाको मौलिकता र विविधतालाई संरक्षण गर्ने, गृहिणीलाई उत्पादनसँग जोडेर एक रुपैयाँमात्रै भए पनि घर–घरसम्म पुर्‍याउने सपनासहित मिथिला थालीमार्फत परिकारको प्रवर्द्र्धनमा जुटेको बताए। सन् १९९९ मा भारत प्रवेश गरेदेखि बेलायतमा रहँदासम्म विभिन्न जातजातिका मौलिक नेपाली परिकार बनाउन सिक्नुभएका साहले मिथिला परिकार सिक्न थालेको भने पाँच वर्षमात्रै भएको राससलाई सुनाए । ‘चौध वर्ष इन्डियामा काम गरेँ। त्यसपछिका १३ वर्ष लन्डनमा बिताए । म भारतीय खानको सेफ भए पनि यसबीच थकाली, नेवारी, थारूदेखि धेरै नेपाली खानाका परिकारबारे पढेँ र जान्ने मौका पाएँ’, उनले भने । जीविका चलाउनका लागि अनेकन परिवार बनाए पनि बिबिसीबाट प्रसारित ‘मास्टर सेफ प्रोफेसनल्स् २०२०’ मा उपविजेता भने ‘मिथिला थाली’ले नै बनाएको उनको भनाइ छ । ‘त्यसैले यो संस्कृति जोगाउने दायित्व मेरो पनि हो भन्ने म ठान्छु, सोही आधारमा म अगाडि बढेको हुँ ।’ उनी उपविजेता बनेपछि विश्वमा मैथिली परिकारबारे चर्चा भए पनि नेपालमा भने मिथिला क्षेत्रका मौलिक परिकार लोपोन्मुख अवस्थामा भएको उनको अनुभव छ । नयाँ पुस्ताले मिथिलाका परिकारको स्वाद लिन नपाउनेमात्रै होइन, तिनको अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न उद्वेलित गरेको साहको भनाइ छ । लक्ष्यः पाँच वर्षमा एक सय ‘मिथिला थाली’ भारतमा नौ सय भारु तलबबाट जागिरे जीवन सुरु गरेका साहसँग यतिबेला नाम र दाम दुवै छ । उहाँलाई नामले मात्रै लाखौँ कमाउने अवसर छ । तर, उनी त्यतिमै मात्र सीमित हुन चाहन्नन् । ‘जागिरबाट कर्जन्हाबाट वैदेशिक रोजगारीमा जाने युवाले के पाउँछन् रु, पाँच वर्षको उमेरमा बुवा गुमाएर सात सन्तान हुर्काउन एकल आमाले के पाउँछन् रु’ उनले भने, ‘मलाई यी प्रश्नले घोच्यो र उत्तरका रुपमा मिथिला थाली जन्मियो ।’ साहसँग पाँच वर्षभित्र नेपाल र विश्वका विभिन्न एक सय स्थानमा मिथिला थाली पुर्‍याउने लक्ष्य छ । उहाँको यो लक्ष्यमा हिमालयन ग्लोबल इन्भेस्टमेन्ट कम्पनी जोडिएको छ । ‘यो व्यापारमात्रै होइन, अभियान पनि हो । यसको सफलतासँगै प्रत्यक्षरूपमा तीनदेखि चार सयले रोजगारी पाउँछन्’, उनले भने, ‘ती रेस्टुराँमा एकल महिलाले काम गर्नेछन् । उत्पादनसँग जोडिने भएपछि सयाँै गृहिणी तथा किसान पनि लाभान्वित हुनेछन् ।’ प्रत्येक मिथिला थालीमा रु एकदेखि तीनसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरूमा खर्च गरिने उनको भनाइ छ । गत असार ६ गते आमाको हातबाट उद्घाटन गरिएको मिथिला थालीमा करिब दुई करोड लगानी भएको छ । त्यसयता थालीप्रतिको मानिसहरुको आकर्षणले साहलाई थप हौसला मिलेको छ । साथै उहाँको पञ्चवर्षीय योजना सफल हुनेमा विश्वास बढेको छ । ‘कोसिस गर्नेहरुको हार हुँदैन’ सिरहाको कर्जन्हा नगरपालिका–९ सूर्यानी टोलमा जन्मिएका साहले पाँच वर्षको उमेरमा बुवा गुमाए । त्यसपछि आमा एक्लैले आफूसहित सात सन्तान हुर्काउँदाको सङ्घर्ष साहले नजिकबाट बुझेका छन् । एकल महिलाका रुपमा आमाले खानेकुराको जोहो र चुल्होमा खाना पकाउन गरेको मेहनत साहले अनुभव गरेका छन् । त्यही सङ्घर्षले खारिएकै कारणले आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ । ‘सानैदेखि स्थानीय अन्नका परिकारसँग निकट हुन पुगेँ । जीविका चलाउन आमासँगै हटियामा पाउरोटी बेच्ने सङ्घर्षसँगै आज खाए भोलि पुग्ला कि नपुग्ला भन्ने अवस्थाले नि धेरै कुरा सिकायो’, उनले भने, ‘पारिवारिक अवस्था, स्थानीय परिवेश, कला, संस्कृतिको प्रभाव ममाथि पर्‍यो ।’ अभावै अभावका बीच कक्षा १० सम्म पुगेपनि साहले फलामे ढोका एसएलसी भनेपास गर्न सकेनन्। त्यसपछि अध्ययन छाडी १५ वर्षको उमेरमा नै उनी कर्जन्हाबाट भारत गएका थिए । ‘एसएलसीमा अनुत्तीर्ण भएँ । अर्को परीक्षा कुर्नुभन्दा पैसा कमाउनुपर्छ भन्ने लागेपछि गाउँकै केही साथीहरुसँग भारत गएँ’, उनले भने, ‘अरु सीप नभएपछि रेष्टुराँमा भाँडा माझ्न सुरु गरेँ ।’ ‘एसएलसी पास गर्न नसके पनि कामबाटै धेरै कुरा सिक्ने मौका पाएँ । होटलमा काम गर्दै गर्दा होटल म्यानेजमेन्ट कोर्ष पनि पढेँ’, साहले भने, ‘त्यही कोर्षले जागिरे जीवनको कोर्ष नै बदल्न सहयोग गर्यो । पछि कुक हुँदै सात वर्षमा पाचँतारे होटलको ‘एक्ज्युकेटिभ सेफ’ पनि भएँ ।’ साह एसएलसीमा अङ्ग्रेजी विषयमा फेल भएका थिए। त्यतिबेला त्यसो नभएको भए सायद साहको जीवनको बाटो नै अर्को हुन्थ्यो होला । भनिन्छ, कोसिस गर्नेहरूको हार कहिल्यै हुँदैन । साहले पनि त्यही गरे जसले आजको ठाउँमा पुर्‍यायो । ‘सङ्घर्ष नै सफलताको आधार हो । मेरो सङ्घर्षले आज सफलताको नजिक पुर्‍याएको छ । अब मबाट अरु कति खुसी हुन्छन् भन्ने कुराले सफलताको मापन हुनेछ । म जुन विषयमा अनुत्तीर्ण भएर गाउँ छाड्न बाध्य भएको थिएँ, संयोग नै मान्नुपर्छ आज त्यही कक्षा, त्यही विषयको पाठ्यक्रममा मेरो बारेमा पढाइ हुन थालेको छ’, उनले भने । आम युवालाई उनको सुझाव छ, एउटा बाटो छेकिँदैमा जीवनको गति रोक्नु हुँदैन । अर्को बाटो निर्माण गर्न लाग्नुपर्छ, एक दिन अवश्य सफल भइन्छ । रासस ।