भारतमा हुने निर्वाचनका कारण नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको मिति परिवर्तन
काठमाडौं । समिट इभेन्ट्स एण्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो नाइट २०२४ को मिति परिवर्तन गरिएको छ । भारतमा हुन लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय नेपाल भारत सीमा समेत बन्द रहने हुनाले भारत तथा भारत हुँदै नेपाल आउने विभिन्न देशका क्रेता तथा अन्य सहभागीहरुलाई नेपाल आउन कठिनाई हुने देखिएपछि आयोजकले मिति परिर्वतन गरेको हो । आगामी जुन १ मा भारतको कोलकाता, वाराणसी र बिहारमा निर्वाचन रहेको र मे २९ तारिखबाट सीमा नाका बन्द रहने भएकोले सबै सरोकारवालाहरूको सहभागिता र सुविधा सुनिश्चित गर्न कार्यक्रमको मिति परिर्वन गरिएको समिट इभेन्ट्स एण्ड मार्केट्सका संस्थापक विष्णु पाण्डेले जानकारी दिए । मे ३१ र जुन १ तारिखमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त कार्यक्रम अब जुन १४र १५ माआयोजना हुनेछ । नेपाल इन्टरनेशनल टुरिज्म एक्स्पोले नेपालको समृद्ध प्राकृतिक र सांस्कृतिक सम्पदालाई हाइलाइटगर्दै विश्वपर्यटन समुदायभित्र अर्थपूर्ण सम्बन्ध र सहकार्यलाई प्रवर्द्धन गर्दै एउटा प्रमुखकार्यक्रम हुने लक्ष्य लिएको छ । नाइट एस्कपोमा २५० भन्दाबढी होस्ट गरिएका खरीदकर्ताएहरू, एक हजार भन्दा बढि ट्रेड आगन्तुकहरू, र १३० भन्दाबढी प्रदर्शकहरू सहित नेपाल, भारत, चीन, हङकङ, श्रीलंका, भुटान, बंगलादेश, माल्दिप्स, भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, दुवई, टर्की, फिलिपिन्स र अजरबैजान गरि १६ भन्दाबढी देशहरूका प्रदर्शकहरूको सहभागिता रहने छ । एक्स्पोमा ट्राभल एजेन्सी, होटल, एयरलाइन्स, टुर अपरेटर लगायतका विभिन्न क्षेत्रका प्रदर्शकहरुको सहभागिता रहने पाण्डेले जानकारी दिए ।
पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको तथ्याङ्क नै छैन
गण्डकी । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन । पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘बर्सेनि पर्यटकको आवागमन वृद्धि हुँदै आएको छ तर हामी पहिलेकै अनुमानका भरमा छौँ’, उनले भने, ‘दैनिक, मासिक या वर्षमा कति विदेशी पर्यटक पोखरा प्रवेश गरे भन्ने आधिकारिक तथ्याङ्क अहिलेसम्म कसैले राख्न सकेको छैन ।’ पर्यटकको स्पष्ट तथ्याङ्क राख्न सकिएमा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रम निर्माणमा सहजता हुने उनको भनाइ छ । यस सम्बन्धमा नेपाल पर्यटन बोर्डलगायत राज्यका निकायसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको अध्यक्ष श्रेष्ठले बताए । ‘पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा अब पर्यटकको तथ्याङ्क सङ्कलनका लागि तुरुन्त आवश्यक व्यवस्था गर्नुपर्छ’, उनले भने, ‘विमानस्थल र सडक नाकामा सूचना केन्द्रसहितका पर्यटक डेस्क राख्नुपर्छ ।’ अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरा भित्रने नाकामा पर्यटक डेस्क स्थापनाका लागि चासो लिए पनि कार्यान्वयन हुन नसकेको बताए । हवाई यात्राबाट आउने पर्यटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भएर पोखरा भित्रन्छन् । स्थलमार्गबाट भित्रने पर्यटक पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र मध्यपहाडी लोकमार्ग हुँदै पोखरा आइपुग्छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले पर्यटकीय राजधानी आउने पर्यटकको यथार्थ विवरण राख्न नसक्नु कमजोरी रहेको बताए । बोर्डको पहलमा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकको तथ्याङ्क लिन आवश्यक तयारी गरिएको उनको भनाइ छ । ‘माइक्रोलगायत अन्य निजी सवारीसाधनबाट पर्यटक आइरहेका हुन्छन्, पोखरा जोडिने सडक नाका पनि धेरै छन्’, प्रमुख पोखरेलले भने, ‘पोखरामा रहेका पर्यटकस्तरीय होटलले सफ्टवेयर प्रणालीमार्फत पर्यटकको विवरण राख्न सकेमा मोटामोटी तथ्याङ्क आउँछ ।’ होटल व्यवसायीलाई दैनिक बास बसेका पर्यटकको विवरण दिन आग्रह गरिए पनि व्यवसायीले उपलब्ध नगराएको उनको भनाइ छ । तथ्याङ्क अन्दाज गर्ने विषय नभएको भन्दै उनले सम्बद्ध सबै पक्ष यसमा जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रबिन कडरियाले ‘एक्याप’ प्रवेश गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको बताए । पोखरा आएकामध्ये झन्डै आधा पर्यटक मात्र ‘एक्याप’ को भ्रमण गर्छन् । ‘यस क्षेत्रमा सबैभन्दा बढी भारतीय पर्यटकीय आउँछन्, अन्नपूर्ण क्षेत्र पदयात्राका लागि विश्वमै आकर्षक गन्तव्य मानिन्छ’, उनले भने, ‘एक्यापले ठाउँठाउँमा चेकपोष्ट र पर्यटक सूचना केन्द्रमार्फत विदेशी पर्यटकको विवरण सङ्कलन गर्छ ।’ पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको सङ्ख्यालाई तथ्याङ्क प्रणालीमा राख्न अब ढिलाइ गर्न नहुने डा कडरियाले बताए । पछिल्लो समय पोखरा आसपासका गन्तव्यमा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको उनको भनाइ छ । प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदिले यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको डा कडरियाले बताए । प्राचीन संस्कृति, कला र सभ्यताका दृष्टिले पनि पोखरा र सिङ्गो गण्डकी प्रदेश अगाडि छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्तरीय आतिथ्यता र सेवासुविधालाई आधार मानेर पोखरालाई हालै पर्यटकीय राजधानी घोषणा गरिएको थियो । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा अहिले विश्व पर्यटन बजारको ‘ब्रान्ड’ बनेको छ । रासस
म्याग्दीका वनपाखामा लालीगुराँस हेर्नेको भीड
गलेश्वर । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष पाखैभरी ढकमक्क गुराँस फुलेपछि गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक र स्कुल तथा कलेजका विद्यार्थी घोडेपानी, पुनहिल, टोड्के, बेलढुङ्गा जस्ता लालीगुराँसका जङ्गलमा उक्लिएका हुन् । राउण्ड अन्नपूर्ण पदमार्गको प्रमुख आकर्षण मानिएको घोडेपानीमा ढकमक्क फुलेका लालीगुराँस हेर्न आउनेको भीड नै लाग्ने गरेको छ । यस याममा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ । अहिले यहाँको जङ्गलमा लालीगुराँस फुलेर ढकमक्क भएकाले अझ बढी आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको स्थानीयवासीले बताएका छन् । आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय होटेल व्यवसायी खुसी भएका छन् । घोडेपानीका होटल व्यवसायी मीना गुरुङले पर्यटकले गर्दा प्रायः सबै होटल आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएको बताइन् । वसन्त ऋतुको आगमनसँगै प्रकृतिले पनि नयाँस्वरुप धारण गरेको छ । राताम्यै फुलेका लालीगुराँस र वन जङ्गलको हरियालीले प्रकृति मुस्कुराइरहेको जस्तो देखिन थालेको छ । उत्तरपट्टी चाँदी जस्तै सेता हिमाल हेर्दै गुराँससँग रमाउन आन्तरिक तथा बाह्य पर्यटक म्याग्दीका पर्यटकीयस्थल घोडेपानी, पुनहिल, मोहरेडाँडा, फुलबारी, खोप्रा, बयली, मालिका गाउँपालिकाको सोले, बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रम, धवलागिरि गाउँपालिकाको जलजला, देउराली, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गाको रुइसेमा पुग्न थालेका छन् । यी ठाउँहरुमा गुराँसको ठूला जङ्गल छन् । नेपालमा पाइने ३२ प्रजातिकामध्ये घोडेपानी क्षेत्रको जङ्गलमा रातो, सेतो, गुलावी, चिमालीलगायत नौ प्रकारका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । पृष्ठभूमिका हिमाल र लालीगुराँसको जङ्गलको प्राकृतिक सौन्दर्यलाई नियाल्दै आन्तरिक तथा बाह्य पर्यटक मख्ख परेको स्थानीय युवा सञ्चारकर्मी सुरेन गुरुङले जानकारी दिए । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा ४५ घरधुरीको बसोबास छ । अधिकांश घर पर्यटकस्तरका होटल हुन् । पर्यटकहरु आउन थालेपछि होटल व्यवसायी पनि खुसी भएका छन् । घोडेपानीको लालीगुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि हिमालको साथै सूर्योदय अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय केन्द्र मानिने घोडेपानी क्षेत्रको गुराँसको जङ्गललाई समेटेर समुदायस्तरमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ । घोडेपानीका बासिन्दाले गुराँस बचाउन गुराँसका रूख नकाट्ने नियम बनाएका छन् । जथाभावी रूपमा काठ, दाउराका लागि रूख काट्दा गुराँसको जङ्गल मासिएपछि यस्तो नियम बनाएका हुन् । एक्यापको सहयोगमा तारबार लगाएर जङ्गलको घेराउ गरिएको घोडेपानीका बासिन्दा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष एवम् स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताए । त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको जङ्गलमा राताम्मे फुलेको लालीगुँरासँग रमाउन विद्यार्थी र पर्यटक पुगेका छन् । गाउँमा रहेको शिख मावि वरपर नै गुराँस फुलेपछि लोभलाग्दो देखिएको छ । घोडेपानी, पुनहिल जाने पदमार्गमा पर्ने शिख क्षेत्रमा पदमार्ग र सडक आसपासमै गुराँसले जङ्गल राताम्मे बनेका छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया फागुन, चैत र वैशाखमा फुल्ने गर्दछ । म्याग्दीका वनमा अहिले ढकमक्क गुराँस फूलेर जङ्गलनै हराभरा भएका छन् । बोटभरी ढकमक्क फुलेको गुराँस हेर्दै आकर्षित हुने भएकाले हरेकको मन तान्ने गरेको छ । वनैभरी ढकमक्क लालीगुराँस फुलेपछि गाउँबस्ती नै सुन्दर देखिएको छ । वनभरि फुलेका लालीगुराँसका फूल यहाँको प्राकृतिक वरदान मात्र होइन सुकाएर फूलको पत्र जडीबुटीका रूपमा व्यापार गरी आयआर्जन गर्न सकिने भए पनि यसतर्फ ध्यान जान नसकेको वन तथा वनपैदावर र वातावरणको क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणि सापकोटाले बताए । जण्डिस, आउँ, खोकी, कलेजो सुन्निएको, मुखको गन्ध हटाउनसमेत औषधि हुने लालीगुराँस वातावरणीय तथा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण मानिएको छ म्याग्दीका करिब ८० प्रतिशतभन्दा बढी वनमा यसरी लालीगुराँस फुलेको पाइन्छ,। लालीगुराँसको बोटदेखि फुलसम्म विभिन्न औषधि निर्माणको लागि प्रयोग हुँदै आएको छ । म्याग्दीमा प्रशस्त लालीगुराँसको जङ्गल रहेकोले आगामी दिनमा प्रशस्त आम्दानीको स्रोत जुट्ने देखिन्छ । जिल्लाका विभिन्न स्थानमा लालीगुराँको जुस बनाउने उद्योग स्थापना गर्ने क्रम पनि बढ्दै गएको छ । प्रचारप्रसारको कमीको कारण यहाँका सामुदायिक वनमा फुलेका गुराँसका फुल बिक्री हुन सकेको छैन । गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने जो कसैको पनि मन लोभ्याउने गरेको स्थानीयवासीले बताएका छन् । रासस