पर्यटन बोर्डमा खुल्यो सीईओ आवेदन

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि निवेदन आह्वान गरिएको छ । लामो समयदेखि रिक्त रहेको सीईओ पदपूर्तिका लागि पर्यटन बोर्डको सीईओ छनोट उपसमितिले शनिबार सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो । यसअघिका सीईओ धनन्जय रेग्मीको कार्यकाल सकिएसँगै बोड नेतृत्वविहीन थियो । सीईओको कार्यकाल चार वर्षको हुन्छ । यस पदका लागि स्नातकोत्तर उत्तीर्ण भई पर्यटन क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान छ भने ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिहरूले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । इच्छुक प्रतिस्पर्धीले १२ दिनभित्र आवेदन दिन सक्नेछन् ।

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइन्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग  लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी गराए ।  उनले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरु पुनः सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट गरे । उनले नदी र नदी जोड्ने खालका परियोजना अघि बढाइ सिँचाइ सुविधामार्फत उत्पादन बढाउने र भूमि सुधारलाई लालपूर्जा वितरणको कामका रुपमा नलिइ जमिनको चक्लाबन्दी र उत्पादनमा जोड दिइ समाजवादको आधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको बताउँदै सत्य तथा मेलमिलाप आयोग विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गरे । समितिका सभापति मायाप्रसाद शर्माले संसदमा उठेका प्रश्नको सम्बोधन र आफ्ना प्रतिबद्धतालाई कार्यान्वयनमा संकल्प लिएकाेमा प्रधानमन्त्री दाहाललाई धन्यवाद दिए ।

ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा तीव्र गतिमा सवारीसाधन हाँक्न नपाइने भएको  छ । ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलले काठमाडौंको प्रमुख पर्यटकीयस्थल ठमेलभित्र तीव्र गतिमा सवारीसाधन हाँक्न र हर्न बजाउन नपाइने निर्णय गरेको हो । ठमेलभित्रका चोकचोकमा सीमित गतिका बोर्ड राख्ने र सिसी क्यामराद्वारा यसलाई निगरानी गर्ने निर्णय गरिएको ट्राफिक प्रहरी प्रभाग ठमेलका प्रमुख कमल गुरुङले जानकारी दिए । ‘ठमेलका गल्लीभित्र प्रतिघण्टा २० किलोमिटरको  गतिमा मात्र सवारीसाधन गुडाउन पाइनेछ’, उनले भने । ठमेल क्षेत्रभित्र जथाभावी हर्न बनाउने सवारीसाधनलाई पनि कारबाही गर्ने निर्णय भएको उनले जानकारी दिए । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिसकेको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई कडाइ गर्न लागिएको बताए । ‘ठमेल भित्रिने र बाहिरिने नौवटै नाकामा सवारीको चाप हेरेर व्यवस्थापन गर्न लागेका छौँ’, उनले भने । अध्यक्ष शर्माले ठमेलभित्र सञ्चालनमा रहेका रिक्सालाई समेत बाटोअनुसार एकतर्फी गर्दै लैजान लागिएको बताए । ठमेलभित्र पानीका ट्याङ्करहरु बिहान ४ देखि ६ बजेसम्म सञ्चालन गरिदिन सम्पूर्ण व्यवसायी र घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको ठमेल पर्यटन विकास परिषद् र महानगरीय ट्राफिक प्रहरी प्रभाग ठमेलको आज बिहानको बैठकले गरेको गरेको छ । ठमेल क्षेत्रको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले ठमेलभित्रका गल्लीमा एक सय २० थान सिसी क्यामरा जडान गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने निर्णयसमेत हालै गरेको थियो ।