मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

म्याग्दी । मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो । प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले तीर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको जानकारी दिए । ‘चैते दसैंको सोह्र श्राद्ध तिथि पारेर कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शनका लागि तीर्थयात्रीका साथै अनुकूल मौसमसँगै विद्यालय र विभिन्न संघसंस्थाबाट मुस्ताङ घुम्न आउनेको चाप बढेको छ,’ उनले भने, ‘लेक लाग्ने (अक्सिजन कमी हुने), बिरामी हुने, ढल्ने जस्ता समस्या सृजना भई मानवीय क्षति हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।’ जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा दुई नेपाली र ६ विदेशी नागरिकको मुस्ताङमा लेक लागेर मृत्यु भएको छ । पछिल्लो तीन वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तीर्थयात्री हुन् । एक हप्तासम्म सञ्चालन हुने शिविरमा अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगीको स्वास्थ्य परीक्षण गरी परामर्श तथा प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी अस्पताल गण्डकीका स्वास्थ्य अधिकृत डा. मृदुषा श्रेष्ठको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटिएको सो शिविर सञ्चालन गर्न मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमीले स्याँ स्याँ हुने, टाउको दुख्ने, वाकवाकी हुने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाह्रो हुन्छ । प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तीर्थयात्रीलाई अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक कार्यक्रम गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीको स्वास्थ्य शिविर र सचेतनामूलक कार्यक्रमले अक्सिजनको कमीका कारण मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । मुस्ताङमा आइतबार एक हजार दुई सय सात सवारीसाधनमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ बाह्य पर्यटक भित्रिएको प्रहरीको तथ्यांक छ । शनिबार चार सय ३७ सवारीसाधनमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए ।

सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रका श्रमिकको आबद्धता न्यून

काठमाडौं । सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आइतबार यहाँ आयोजना गरेको ‘पर्वतीय पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा श्रमिकका लागि योगदानमा आधारित सुरक्षा प्रणालीमा आबद्धतासम्बन्धी अभिमुखीकरण कार्यक्रम’ का वक्ताले सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको न्यून उपस्थिति रहेको बताएका हुन् । कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक नरेशराज खरेलले काम गर्न नसक्ने अवस्थामा सामाजिक सुरक्षा कोषले सहयोग गर्ने भएकाले सबै व्यवसायी तथा श्रमिक उक्त कोषमा आबद्ध हुनुपर्ने बताए । ‘योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले व्यवसायी र श्रमिकबीचको सम्बन्धलाई समेत बलियो बनाउन सहयोग पुग्नेछ,’ उनले भने । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले विसं २०७६ साउनदेखि लागू भएको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा हालसम्म पाँच लाखभन्दा बढी श्रमिक आबद्ध भइसकेको र तीन लाख श्रमिकले निरन्तर कोषमा योगदान गरिरहेको उल्लेख गरे । श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध हुने हक संविधानले नै प्रदान गरेकाले सरकारले उक्त योजना अगाडि सारेको उनको भनाइ छ । कोषका उपनिर्देशक दिनेशकुमार कोइरालाले अन्य क्षेत्रको भन्दा पर्यटन क्षेत्रको आबद्धता सामाजिक सुरक्षा कोषमा कमी भएको बताए । ‘सामाजिक सुरक्षा कोषमा पर्यटन क्षेत्रको एक सय ६५ कम्पनीका झन्डै ६ सय श्रमिकमात्र आबद्ध रहेका छन्, यो पर्यटन क्षेत्रका लागि न्यून हो,’ उनले भने । टानका अध्यक्ष नीलहरि बाँस्तोलाले श्रमिकका लागि जोखिमपूर्ण मानिएको साहसिक पर्यटन यामअनुसार चल्ने भएकाले सामाजिक सुरक्षा कोषमा यस क्षेत्रको आबद्धता कमी भएको बताए । उनले टानमा आबद्ध सबै व्यवसायीलाई र त्यहाँ कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन लागिएको उल्लेख गरे । टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीले जोखिमपूर्ण अवस्थामा रहेका नेपालका पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । सोही कार्यक्रममा सामाजिक सुरक्षा कोषमा आबद्ध टानका कार्यसमितिको पदाधिकारी तथा सदस्यलाई आबद्धता प्रमाणपत्र वितरण गरिएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, पर्यटन क्षेत्रमा क्रियाशील नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल (नाट्टा), टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) लगायतका अध्यक्ष एवम् पदाधिकारीको सहभागिता रहेको थियो ।

नेपाली सेनाले हिमालबाट १० टन फोहर संकलन गर्ने

काठमाडौं । नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने छ । नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर संकलन गर्ने योजना रहेको जानकारी दिएको छ । सफा हिमाल अभियानका निर्देशक सहायक रथी सञ्जय देउजाले सफाइ अभियानमा सेनाका १२ दक्ष जनशक्ति परिचालन गरिने जानकारी दिए । उनीहरूमध्ये १० जनाले सगरमाथा आधार शिविरमाथि र दुई जनाले नाम्चेमा रहेर संयोजन गर्नेछन् । फोहर संकलन सहजीकरणका लागि १८ शेर्पा सहयोगी परिचालन गरिने सेनाले जनाएको छ । सगरमाथाको आठ हजार मिटर उचाइसम्म पुगेर फोहर सङ्कलन गरिने सफाइ अभियानका नेतृत्वकर्ता सेनानी अदित्य कार्कीले बताए । यही चैत २९ गतेदेखि सुरु हुने फोहर संकलन अभियान ५० दिनसम्म सञ्चालन हुने छ । सो अभियान २०८१ जेठ २३ गते विश्व वातावरण दिवसको दिन समापन हुने छ । खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समितिको समन्वयमा संकलित कुहिने फोहर नाम्चेमै र नकुहिने फोहर काठमाडौं ल्याएर सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ । यस्तै मानव शव सगरमाथाको दोस्रो शिविरबाट हेलिकप्टरमा आधार शिविर ल्याइने र त्यहाँबाट लुक्ला लगेर शव पहिचान गरेर सम्बन्धितको जिम्मा लगाइने छ । विदेशीको शव भए गृह मन्त्रालयमार्फत प्रक्रिया पुर्‍याएर पठाउने व्यवस्था मिलाइने सेनाले जनाएको छ । सन् २०२३ मा सफाइ हिमाल अभियानअन्तर्गत सेनाको टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमालको सफाइ गरेको थियो । ती हिमालबाट ३५ टन फोहर संकलन गरिएको थियो । सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व नेपाली सेनाले गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायत स्थानीय निकाय तथा सरोकारवाला संस्थाको सहकार्यमा सञ्चालित सफाइ अभियानको पहिलो वर्ष सन् २०१९ मा नेपाली सेनाले विभिन्न हिमालबाट झण्डै ११ टन फोहर संकलन गरेको थियो । कोभिड–१९ का कारण सन् २०२० को सफाइ अभियान भने रोकिएको थियो । सन् २०२१ मा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि र अमा दब्लम हिमालबाट २७ दशमलव ६ टन फोहर संकलन गरिएको थियो । त्यस्तै, सन् २०२२ मा सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालबाट करिब ३५ टन फोहर संकलन गरेको थियो ।