नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक

काठमाडौं । नयाँ वर्षको आगमनसँगै बाँकेका घरवास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथी भाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँ पालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्ती सोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । गाभर मिनी भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार चैत लागेपछि तीन हजारभन्दा बढी आन्तरिक पर्यटक होमस्टेमा आइसकेका छन् । गाभर होमस्टे प्राकतिक सौन्दर्य र वन्यजन्तु अध्ययन तथा अवलोकनको गन्तव्यसमेत बन्दै गएको छ । यहाँ आउने पाहुनालाई गाडी र हात्तीमार्फत बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि जङ्गल सफारीसमेत गराउने गरिएको छ ।  बाँके निकुञ्जसँगै जोडिएको कोहलपुर नगरपालिका–१३ स्थित खड्कवार होमस्टेमा पनि अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको होमस्टे व्यवस्थापन समिति अध्यक्ष लालबहादुर रानाले बताए ।  उनले अरु बेला सुनसान रहे पनि अहिले नयाँ वर्षका अवसरमा नेपालगन्जलगायत बाहिरी जिल्लाबाट घुम्न आउने पाहुनाको सङ्ख्या बढ्दै गएको उल्लेख गरे । उनले बास बस्न आउने पाहुनालाई निकुञ्जसँग समन्वय गरेर हात्ती सफारीमार्फत वन्यजन्तुको अवलोकन गराउने गरिएको बताए ।  दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ सांस्कृतिक नाच देखाउने गरिएको छ । संस्कृति संरक्षण र स्थानीयको दिगो जीविकोपार्जनका लागि सुरु गरिएको होमस्टेले अहिले व्यावसायिक सफलता पाउँदै गएको छ । पर्यटकका लागि सुविधा थपेपछि आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको रानाको भनाइ छ । बाँकेको राप्ती सोनारी-८ स्थित नयाँगाउँ होमस्टेमा अन्य बेलाभन्दा अहिले बाँके निकुञ्ज घुम्न आउने पर्यटकले चहलपहल बढ्दै गएको ७ नं होमस्टे सञ्चालक शोभी थारूले बताए । होटल व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले यतिबेला पर्यटकीय मौसम भएकाले बाँकेका होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको बताए ।  ‘अहिले विद्यार्थीको परीक्षा सकिएको, कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन्,’ उनले भने । 

निर्माण तथा उद्योगहरूले वायु प्रदूषण बढाउँछन्, पर्यटनले ग्रीन इकोनोमिकमा योगदान गर्छ: सीईओ जोशी

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले 'ग्रीन इकोनोमी'का लागि पर्यटन क्षेत्रको ठूलो योगदान रहेको बताएका छन् । नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको 'पर्यटन क्षेत्रमा वातावरण प्रदूषणको असर' शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै वातावरण प्रदूषणका कारण नेपालको सुन्दर छविलाई छोप्नसक्ने जोखिम रहेको बताएका हुन् ।   उनले भने, ‘पछिल्लो वर्षहरूमा नेपालमा जलवायु परिवर्तनका असरहरू बढ्न थालेका छन् । यसले वायु प्रदूषण हरेक वर्ष बढिरहेको छ । जसले पर्यटन क्षेत्रले नोक्सानी ब्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ । अन्य निर्माण तथा उद्योगहरूले वायु प्रदूषणका लागि योगदान गरिरहेका छन् । तर, पर्यटन उद्योग मात्र यस्तो हो, जसले ग्रीन इकोनोमिकका लागि योगदान गरिरहेको छ ।’  नेपालमा जलवायु परिवर्तनका लागि न्यून योगदान भए पनि बढी नोक्सानीको सामना गर्नुपरेको सीईओ जोशीले बताए । उनले थपे, ‘अहिले विश्वमा नेपाल प्राकृतिक सुन्दरताको मुलुकको छवि बनाएको छ । तर, पछिल्ला वर्षहरूमा नेपाल बढेको वायु प्रदूषणका कारण सुन्दर मुलुकको छवि छोपिदिएको छ ।’ सीईओ जोशीले सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, ‘नेपालको जीडीपीमा बढी योगदान गरिरहेको पर्यटन क्षेत्रले १० लाखभन्दा बढी मानिसलाई प्रत्यक्ष(अप्रत्यक्ष रोजगार दिएको छ । त्यसकारण सरकारले पर्यटन क्षेत्रबाट अझै लाभ लिनका लागि जलवायु परिवर्तनका जोखिम गराउने, वातावरण प्रदूषणलगायतका पर्यटनलाई असर गर्ने गतिविधि कम गर्दै लैजाने र नीतिगत सुधारतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।’

रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धि जरूरी

काठमाडौं । पुनस्थापनात्मक पर्यटन ‘रिजेनेरेटिभ टुरिजम’ प्रति युवा पुस्तामा सचेतना अभिवृद्धिसँगै ज्ञान र सीपसहित यसतर्फ आकर्षण गर्ने उद्देश्यले एक अन्तरक्रिया गरिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ब्याच्लर अफ ट्राभल एन्ड टुरिजम (बिटिटिएम) का पाँचौँ सत्रका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिए ।  नाथमका कार्यकारी निर्देशक सङ्गीता ओझाले कार्यक्रमले युवा पर्यटनकर्मीलाई आगामी दिनमा पर्यटन क्षेत्रमा व्यावहारिक रूपमा लागू गर्न तथा पर्यटनको अनुसन्धान र सरकारी नीति निर्माणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले कुनै पनि मुलुकले दिगो पर्यटनलाई प्राथमिकता दिए पनि रिजेनेरेटिभ पर्यटनबारे खासै ध्यान नदिइएको सन्दर्भमा नेपालमा आगामी दिनमा नीतिगत रूपमा सुधार गर्न सहयोग पुग्ने बताइन् ।  ‘सस्टेनेबल टुरिजम टू रिजेनरेटिभ टुरिजम’ शीर्षकमा विशेष वक्ता सोसियल टुर्सका संस्थापक राज ज्ञवालीले रिजेनेरेटिभ टुरिजमको अवधारणा र भविष्यको पर्यटनबारे प्रस्तुति दिए । छलफल सत्रमा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव युबिका भण्डारी, कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत सीईओ) विजय अमात्य र पर्यटन अनुसन्धानकर्ता राक्सित बहादुर खड्का सहभागी थिए ।  ज्ञवालीले पर्यटनलाई दिगो बनाउन गुणस्तरीयतामा ध्यान दिनुपर्ने खाँचो औंल्याए। पर्यटनलाई नयाँ ढङ्गले पुनःस्थापना गर्न युवापुस्तालाई यसप्रति प्रोत्साहन र दक्षता अभिवृद्धि गर्न रिजेनेरेटिभ टुरिजम अपरिहार्यता भएको बताए । पर्यटनमा स्थानीयको सहभागितालाई सुनिश्चित गरिएको खण्डमा मात्रै दिगो पर्यटन सार्थक हुने उनको धारणा छ । नाट्टाका महासचिव युबिका भण्डारीले समयक्रमसँगै रिजेनेरेटिभ टुरिजम ट्रेन आएको भन्दै पर्यटनलाई नयाँ तौर तरिकाले विकास र यसको पहुँच स्थानीयस्तरमा जोड्नका लागि महत्वपूर्ण रहेको बताइन् ।  उनले भनिन्, ‘नेपालले विगतमा पनि रिजेनेरेटिभ टुरिजममा काम गर्दै आएको छ । संरक्षण क्षेत्रलाई उदाहरणका रूपमा लिन सकिन्छ । हामीले दिगो पर्यटन मात्रै ध्यान दिएको भए अहिलेको अवस्थामा आउन कठिन हुने थियो । पर्यटनले प्रकृतिलाई कसरी अपडेट गर्छ अहिलेको पुस्ताले पर्यावरण मैत्री पर्यटनलाई सँगै लैजान पनि ध्यान खिच्छ ।’  कोरा टुर्सका सीईओ विजय अमात्यले रिजेनेरेटिभ पर्यटनको अवधारणामा विश्वमा विगत १० वर्षदेखि आएको र नेपालले पछिल्ला वर्षहरूमा यसको आवश्यकता र सान्दर्भिकता बारे बहस गरिरहेको भन्दै नेपालको सन्दर्भमा यो अपरिहार्य भएको बताए ।  पर्यटन प्रशिक्षक डम्बरराज भट्टले दिगो पर्यटनमा भएका कामलाई पुनः नयाँ सोच र अवधारणाका साथ लैजान उदाहरणका रूपमा लोप भइसकेका संस्कृतिलाई पुनर्जागृत गर्ने, वन वन्यजन्तु र वातावरण संरक्षणसँगै पर्यटन अगाडि बढाउने नयाँ अवधारणाका रूपमा रिजेनेरेटिभ टुरिजमको अवधारणा विकास भएको उल्लेख गरे ।  यस कार्यक्रमले नेपालको पर्यटन उद्योगको भविष्यका बारेमा सोच र अवधारणा तयार गर्नका साथै दिगोबाट पुनरूत्थानात्मक पर्यटनमा सरेर, नेपालले आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण मात्रै गर्दैन, वृद्धि गर्ने जिम्मेवार पर्यटन गन्तव्यका रूपमा आफ्नो स्थिति बलियो बनाउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने आयोजकको भनाइ छ । कार्यक्रममा नेपाली वास्तुकला, माटोको कला, बाँसका सामग्रीहरू प्रदर्शनी गरिएको थियो ।